ट्राफिक नियम, सडक अनुशासन र सडक चेतना जगाउन महानगरीय ट्राफिक प्रहरी महाशाखाले सारङ्गी बजाएर सचेतनात्मक कार्यक्रमबाट हालसम्म ७ हजार ७०० व्यक्तिलाई सचेतना प्रदान गरिएको छ।
‘मान्छेहरुलाई सारङ्गीको मधुर धुनमार्फत् चेतना जगाएमा बढी प्रभावकारी होला भनेर अभियान थालिएको हो र मान्छेलाई गीत संगीतमार्फत सम्झाएमा त्यो लामो समयसम्म सम्झना हुने भएकोले यो अभियान सञ्चालन गरिएको हो’, महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिम प्रसाद ढकालले भने।
उनका अनुसार नयाँ बानेश्वर, बागबजार, रत्नपार्क, वीर अस्पताल, क्यान ईन्फोटेक, न्यूरोड, रत्नपार्क वरिपरि, कालीमाटी, त्रिपुरेश्वर, नयाँ बसपार्क, स्वयम्भू, कंलकी, कोटेश्वर, एयरपोर्ट, जावलाखेल, गौशाला, चावहिल लगायतका ठाँउमा सचेतना कार्यक्रम गरिएको छ।
यो अभियानबाट विशेष गरी जथाभावी बाटो काट्ने कार्यलाई निरूत्साही गर्ने, ट्राफिक लाईट संचालन भएका चोकहरूमा ट्राफिक लाईट पालना गरी बाटो काट्न थप सहयोग पुगेको महाशाखा प्रमुख ढकालले बताए।
सांगीतिक कार्यक्रममा ट्राफिक प्रहरीलगायत हेमराज गन्धर्व, बालाराम गन्धर्व र दिल बहादुर गन्धर्वले प्रस्तुति दिएका छन् ।
माघ २९ गतेदेखि काठमाडौं उपत्यकाको मुख्य चार वटा फरक फरक चोकहरूमा सारङ्गी बजाउँदै दैनिक ट्राफिक नियमको सचेतना जगाउने काम भइरहेको छ।
Shares

प्रतिक्रिया