निर्माणकार्य पूरा भएर पनि सञ्चालन हुन नसकेको कटहरी सबस्टेसन साेमबारदेखि सञ्चालनमा आएको छ। लामो समयसम्म दुहबी कटहरी ३३ केभी प्रसारणलाइन विवादका कारण सञ्चालनमा अवराेध पुगेकाे थियाे।
सबस्टेसन विराटनगर क्षेत्रको पूर्वी भागमा रहेकाे छ। यसबाट समग्र विराटनगरको विद्युत् लाइनमा सुधार गर्ने लक्ष्य लिइएकाे छ। विद्युतको भोल्टेजस्तर सुधार एवम् मागअनुसारको विद्युत वितरण गर्नको लागि नेपाल विद्युत प्राधिकरणले एसियाली विकास बैंकको सहयोगमा देशैभर विभिन्न प्रकारका सबस्टेसन निर्माण र लाइन निर्माणको क्रम जारी राखेको छ।
मोरङ्गको कटहरीमा निर्माण गरिएको सबस्टेसन तयार भए पनि विविध कारणले सञ्चालन हुनसकेको थिएन। उक्त लाइन सञ्चालन गर्ने प्रमुख स्रोत भनेको दुहबी १३२ के.भी. ग्रिड सबस्टेसन बाट कटहरी सम्म ३३ के.भी. लाइन पुर्याउने काम थियो।
उक्त लाइन निर्माणको क्रममा मोरङ्गको ग्राम थान गिदनियाका स्थानिय बासिन्दाबाट लाइन निर्माणको क्रममा विवाद उत्पन्न भई काम रोकिएको थियो। मोरङ्गबाट प्रतिनिधित्व गर्ने संघीय सांसद अमनलाल मोदी, १ नम्बर प्रदेश सरकारका मुख्यमन्त्री शेरधन राई र ने.वि.प्रा.का कार्यकारी निर्देशक कुलमान घिसिङ्गको प्रयासमा विवाद समाधान भएकाे प्राधिकरणले जनाएकाे छ। साे क्रममा नेविप्रा प्रादेशिक कार्यालय, स्थानीय बासिन्दा, प्रशासन, जनप्रतिनिधि, स्थानीय निकाय, प्रदेश सरकार, उद्याेग वाणिज्य संघ, समाजसेवी र ने.वि.प्रा.बाट विभिन्न चरणमा छलफल भएकाे थियाे। साे क्रममा स्थानीय बासिन्दाको मागबमोजिम प्राविधिक कार ले उपर्युक्त स्थानमा ३३ के.भी. लाइनलाई भूमिगत गराई लाइन निर्माणकार्य पूर्णता दिइएको छ।
नेपाल विद्युत प्राधिकरण, आयोजना व्यवस्थापन निर्देशनालय, वितरण प्रणाली सुदृढीकरण तथा विस्तार आयोजनाअन्तर्गत रहेको सो सबस्टेसन र लाइन निर्माणको कार्य भारतीय निर्माण कम्पनी एटुजेड इन्फ्रा लिमिटेडको नेपाली सहायक निर्माण कंपनी जयदुर्गे इन्जिनियरिङ्ग/त्रिपुरेस्वर कण्डक्टर कम्पनीले पूरा गरेको हो।
दुहबी ग्रिड सबस्टेसनदेखि कटहरीसम्म १७.२ कि.मी. ओभरहेड लाइन र ५.५ कि.मि. ३३ के.भी. भूमिगत लाइन निर्माण गरी जम्मा २२.७ किमि लाइन नो लोडमा सञ्चालन गरिएको नेपाली निर्माण व्यवसायी जयदुर्गे ईन्जिनियरिङ्ग/त्रिपुरेस्वर कण्डक्टर कम्पनीका डाईरेक्टर सागर लुइँटेलले बताए। लुइँटेलका अनुसार अब कटहरी सबस्टेसन सञ्चालमा आएपछि उक्त क्षेत्रको भोल्टेजको गुणस्तरमा उल्लेखनीय सुधार हुनेछ।
उक्त कार्यमा प्रारम्भदेखि नै खटिएका वितरण प्रणाली सुदृढीकरण तथा विस्तार आयोजना विराटनगर डिभिजन प्रमुख शैलेश सापकोटाका अनुसार दुहबी ग्रिड सबस्टेसन बाट कटहरी सबस्टेसन हातासम्म ३३ केभी प्रसारणलाइनको परीक्षण प्रसारण सफल भएको छ। उनले अब कटहरी सबस्टेसन पूर्णरुपमा सञ्चालन गरी त्यहाँबाट ११ के.भी. फिडर वितरण गर्ने कामको लागि विराटनगर वितरण केन्द्रसँग समन्वय गरी फिडरको वितरण प्रणाली सञ्चालनको कार्य द्रुतगतिमा अघि बढाउने बताए।

प्रतिक्रिया