ad ad

समाज


विमानस्थलमा अर्को वितण्डा, निगमका कर्मचारी नेताले गरे हाकिममाथि हातपात

विमानस्थलमा अर्को वितण्डा, निगमका कर्मचारी नेताले गरे हाकिममाथि हातपात

नेपालखबर
जेठ २४, २०८१ बिहिबार २०:३२, काठमाडौँ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गृह मन्त्रालयकै दुई निकाय अध्यागम र प्रहरीबीच भिडन्त भएको धेरै भएको छैन। त्यस घटनाको सीसीटीभी दृश्य नै बाहिर आएकाले कुनै निकायले ढाकछोप गर्न सकेनन्।

सरकारी स्वामित्वकै अर्को संस्था नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को एउटा बन्द कोठामा तर दर्जनौँ कर्मचारीका बीचमा हालै त्यस्तै एउटा घटना भएको छ। तर, यो घटना गुपचुप राख्न खोजिँदै छ।

घटना गत शनिबार ११ बजेर ४५ मिनेटको हो।

विमानस्थलको आन्तरिक टर्मिनलको भीभीआईपी कक्षअगाडिको निगमको कार्यालयमा सफाइ शाखाका प्रमुख श्यामकृष्ण पालिखेकहाँ एकजना कर्मचारी नेता पुग्छन्। ती नेता हुन्, मानबहादुर कुँवर। उनी नेपाली कांग्रेसनिकट नेपाल वायुसेवा निगम कर्मचारी संघ केन्द्रीय कार्य समितिका अध्यक्ष हुन्।

कुँवरले पालिखेलाई एक सफाइ कर्मचारीलाई रात्रि सत्रमा काम गर्न ड्युटी मिलाइदिन र त्यसवापत ओभरटाइम (अतिरिक्त समय)को भत्ता पनि व्यवस्था गरिदिन सिफारिस गरे। खासमा उनले करिब ४ महिनादेखि त्यही एउटै विषयमा दबाब दिँदै आएका थिए। त्यस दिन पनि उनी त्यही माग लिएर पुगे।

कांग्रेसनिकट नेपाल वायुसेवा निगम कर्मचारी संघ केन्द्रीय कार्य समितिका अध्यक्ष मानबहादुर कुँवर

पालिखेले ‘महिलालाई रात्रि सत्रमा सकेसम्म नराखौँ’ भनेर अडान लिइरहे। तर, महिला काम गर्न तयार छन् भने ‘ड्ुटी नमिलाउने तपाईं को?’ भन्दै कुँवर झोँक्किए।

पालिखे कसैगरी गलेनन्। अनि ‘देखाइदिन्छु’ भन्दै कुँवर कुटपिटमै उत्रिए। 

यसै पनि पालिखे मुटुका बिरामी थिए। मुटुमा पेसमेकर राखिएको छ। मेरुदण्डसम्बन्धी अर्को समस्या छ। जागिरे जीवन सकिनै लागेकाले अवकाशको मुखमा छन्। युवा उमेरका कुँवर जाइलागेपछि पालिखे हल न चल भइहाले।

केहीबेरमा त्यहाँ ठूलै जमघट भयो। प्रहरीका ड्युटी अफिसर पनि पुगे।

प्रहरी पुगेपछि कुँवर भागे। पालिखे सुन्निएको अनुहार लिएर कता जानु? त्यहीँका कर्मचारीले उद्धार गरी मलमपट्टी गरे। 

कार्यालयभित्रै आफूमाथि कुटपिट भएको निवेदन लिएर पालिखे गौशालास्थित प्रहरी वृत्तमा पुग्दा उनलाई अर्को चोट लाग्यो। कारण, जसले आफूमाथि मरणासन्न हुने गरी कुटपिट गरेका थिए, तिनै व्यक्ति पहिला नै उजुरी लिएर पुगिसकेका रहेछन्। प्रहरीले पहिला अर्को पक्षको निवेदन आइसकेको भन्दै उनको उजुरी दर्ता नै नगरी फर्काइदियो।

हुँदाहुँदा उनले उपल्ला निकायमा ‘रिपोर्ट’ पनि न्याय पाउने छाँट देखेका छैनन्। किनभने, शनिबारको घटना ढाकछोप गर्न व्यवस्थापन नै लागिपरेको हो कि भन्ने त्यहाँका कर्मचारीहरूको बुझाइ छ।

कुटपिटबाट घाइते कर्मचारी श्यामकृष्ण पालिखे

हुन त व्यवस्थापनले कुँवरलाई निलम्बन गरी छानबिन गर्ने पनि भनेको छ। छानबिन नसकिएसम्म वा बढीमा ३ महिनासम्मको लागि निलम्बन गर्ने विभागीय निर्णय भएको पत्र जेठ २० गते नै मानव संशाधन विभागका कामु निर्देशक अशोक सिग्देलले दिएका छन्। तर, छानबिन समितिमा कोको छन् र ३ महिनाभित्र छानबिन सकिन्छ कि सकिँदैन भन्ने स्पष्ट छैन। 

यसबारे जानकारी लिन खोज्दा निगमका प्रवक्ता रमेश पौडेलले यत्ति भने, ‘कार्यालयभित्र कुटपिटको घटना गत शनिबार करिब ११स्४५ मा भएको भन्ने जानकारी भएको र सो घटनामा संलग्न कर्मचारीलाई नियमानुसार तत्काल निलम्बन गरी छानबिन भइरहेको छ।’
कसरी छानबिन हुन्छ र कहिलेसम्म सकिन्छ भन्नेबारे उनले स्पष्ट बताउन चाहेनन्।

कुँवर देशकै ठूलो राजनीतिक दलनिकट कर्मचारी संगठनका अध्यक्ष भएकाले कारबाहीमा पर्छन् कि पर्दैनन् र व्यवस्थापनले त्यो आँट गर्छ गर्छ कि गर्दैन? धेरै कर्मचारीले नेपालखबरसँगको कुराकानीमा शंका व्यक्त गरेका छन्। 

कुँवरलाई निलम्बन गरिएको पत्र

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .