ad ad

समाज


नेपालमा समातिएका आफ्ना सांसद हत्याका अभियुक्त भारतले लगेपछि रित्तै फर्कियो बंगलादेशी टोली

योजनाकार नेपालबाटै भागे अमेरिका
नेपालमा समातिएका आफ्ना सांसद हत्याका अभियुक्त भारतले लगेपछि रित्तै फर्कियो बंगलादेशी टोली

उजिर कार्की
जेठ २३, २०८१ बुधबार २२:१, काठमाडौँ

बंगलादेशका सांसद अनवरुल अजिम अनारको अत्याका अभियुक्त भारतीय प्रहरीले लगेको छ।

गत बिहीबार काठमाडौंबाट पक्राउ परेका बंगलादेशी नागरिक ३१ वर्षका मोहम्मद सियाम हुसेनलाई लैजान बंगलादेश र भारतीय प्रहरीले चर्को लविइङ गरिरहेका थिए।

तर नेपाल प्रहरीले मंगलबार बिहान भारतीय प्रहरीको जिम्मा लगाइदिएको हो। भारतीय प्रहरीले स्थलमार्गबाट उनलाई लगिसकेको छ। नेपाल आउँदा भने उनी विमानमार्फत आएका थिए।

आफ्ना सांसद अनारका हत्या अभियुक्त लैजान बंगलादेश प्रहरीका गुप्तचर विभागका प्रमुख डीआईजी मोहम्मद हारुनोर रसिद नेतृत्वको चार सदस्यीय टोली नेपाल आएको थियो।

यस्तै, भारतबाट पनि गुप्तचरको उच्च तहको टोली नै नेपाल आएर लैजान लविइङ गरिरहेको थियो। नेपाल प्रहरीको नेतृत्वबाट निर्णय नआएपछि गृहमन्त्री रवि लामिछाने हुँदै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसम्म पुगेपछि नेपालले भारतीय प्रहरीको जिम्मा लगाइदिएको गृहमन्त्रालयको उच्च स्रोतले जानकारी दिएको छ।

आफ्ना सांसदका हत्या आरोपी लैजान बंगलादेशको कुटनीतिक नियोगका अधिकारीहरूले परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग पनि पहल गरेका थिए। दुवै देशबाट चर्को दबाब आएपछि नेपाल प्रहरी अलमलमा परेको थियो।

कानुनतः यसरी पक्राउ परेका अभियुक्त बुझाउन मिल्ने व्यवस्था छैन। तर दुई देशका आपसी समझदारीमा यस्ता लेनदेन हुँदै आएका छन्। नेपाल प्रहरीले पनि भारतीय प्रहरीले गरेको सहयोगका आधारमा यो निर्णय लिनु परेको उच्च स्रोतको दाबी छ।

भारतमा बंगलादेशी सांसदको हत्या गरेर नेपाल आएका उनलाई पक्राउ गरे पनि कसको जिम्मा लगाउने भन्ने नेपाल प्रहरीदेखि प्रधानमन्त्रीसम्म दबाब परेको थियो।

पक्राउ परेको सूचना पाउनासाथ दुवै देशका उच्च सुरक्षा अधिकारीहरू नेपाल आएर उनलाई लैजान चर्को लविइङ गरिरहेका थिए।

सुरुमा प्रहरी नेतृत्वसँग अभियुक्त आफूलाई बुझाउन भनेका दुवै देशका टोलीले प्रहरी नेतृत्वले बुझाउन आनाकानी गरेपछि गृहमन्त्री रवि लामिछानेलाई भनेका थिए। लामिछानेले पनि दुवै देशबाट आएका कुरा प्रधानमन्त्री प्रचण्डलाई सुनाएको स्रोतको दाबी छ।  

प्रधानमन्त्रीसम्म कुरा पुगेपछि हुसेनलाई भारतीय प्रहरीको जिम्मा लगाइएको हो।

बंगलादेशका सांसदको हत्यामा संलग्न भनिएका हुसेन पनि बंगलादेशी नागरिक हुन्। तर उनी भारतमा सांसदको हत्या गरेपछि नेपाल आएका थिए। घटनास्थल भारत भएको र हुसेन पनि भारतबाटै नेपाल आएकाले भारतीय प्रहरीले आफूलाई बुझाइदिन भनेको थियो।

बंगलादेशले पनि आफ्ना सांसद मारिएको र हत्यामा संलग्न पनि आफ्नै नागरिक रहेको आधार देखाउँदै लैजान खोजेको थियो।

तर भारतीय प्रहरीले आफूहरूलाई यो खालको सहयोग गर्दै आएकाले भारतलाई नै बुझाइदिएको प्रहरी उच्च स्रोतले नेपालखबरलाई भन्यो।

सांसद अनारको शव गत मे २२ मा भारतको कोलकातामा फेला परेको थियो। उनको हत्या भने त्यसको केही दिन अघि नै भएको भारतीय प्रहरीको अनुमान छ।

सांसद अनार उपचारका लागि भन्दै मे १२ मा कोलकाता पुगेका थिए। मे १३ मा आफू दिल्ली जाँदै गरेको जानकारी परिवारलाई गराएपछि सम्पर्कविहीन भएका थिए।

सांसद अनार बेपत्ता भएको सूचनापछि भारतीय प्रहरीले खोजी गर्न सुरु गरेको थियो।

९ दिनपछि उनको शव टुक्राटुक्रा पारेर सुटकेसभित्र प्लास्टिकमा बेरिएको अवस्थामा फेला परेको थियो।

मुख्य अभियुक्त पनि नेपाल हुँदै पुगे अमेरिका
भारतमा पक्राउ परेका अभियुक्तहरूले भने हत्याको मुख्य योजनाकार बंगलादेशी मुलका अमेरिकी नागरिक व्यवसायी मोहम्मद अख्तरज्जमान रहेको बयान दिएका छन्। उनीहरू मुख्य अभियुक्त भनेका अख्तरज्जमान भने नेपालकै विमानस्थल प्रयोग गरेर अमेरिका पुगिसकेको खुलेको छ।

अध्यागमन विभाग स्रोतका अनुसार उनी सांसदको शव फेला परेको अघिल्लो दिन मे २१ मै नेपालबाट अमेरिका पुगिसकेको तथ्य फेला परेको हो। उनी अध्यागमनको कालो सूचीमा नरहेकाले पनि नेपालमा रोक्ने सम्भावना नरहेको अध्यागमनका अधिकारीले बताए।

सांसद अनार, नेपालमा पक्राउ परेका हुसेन र अमेरिका फरार भएका अख्तरज्जमान सुन तस्करीमा संलग्न रहेको खुलेको छ।

उनीहरू दुबईबाट बंगलादेशमा सुन तस्करीमा संलग्न रहेको र यही विषयमा बिबाद हुँदा हत्या भएको भारतीय प्रहरीको प्रारम्भिक निस्कर्ष रहेको त्यहाँका सञ्चार माध्यमले जनाएका छन्।

सांसद अनारसँग सुन तस्करीको हिस्सा बाँडफाँडमा विवाद आएपछि सुपारी दिएर हत्या गराएको आरोपीको बयान छ।

यसअघि हत्या आरोपमा भारतीय प्रहरीले तीन बंगलादेशी र एक भारतीयलाई पक्राउ गरिसकेको छ। केही व्यक्ति नेपाल भागेको भारतीय गुप्तचर संस्थाको सूचनापछि नेपालमा पनि निगरानी बढाइएको थियो।

पक्राउ पर्ने भारतीय नागरिक जिहाद हवलदारले सांसदको हत्यापछि शव टुक्राटुक्रा पारेर फालेको बयान दिएका थिए। आफ्ना देशका सांसदको हत्याका आरोपीसँग सोधपुछ गर्न बंगलादेशी प्रहरीका केही अधिकारीहरू पनि कोलकाता पुगेका थिए। भारतीय प्रहरीको हिरासतमा रहेका अभियुक्तहरूसँग सोधपुछ गरेर उनीहरूले सूचना लिएका छन्।

उनले हाल नेपालको विमानस्थलबाट अमेरिका पुगिसकेका अख्तरजमानकै योजना र निर्देशन अनुसार हत्या गरिएको बयान प्रहरीलाई दिएका छन्। उनले हत्याका लागि सुपारी दिएको पनि खुलाएका छन्।

सांसद अनारलाई पहिले बेहोस बनाउने औषधि प्रयोग गरेर उनीहरूले हत्या गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .