हिउँद याम अर्थात् ‘विन्टर’ अवधि सकिएर नेपालमा अब प्रि-मनसुन सुरु हुन लागेको मौसमविद्ले बताएका छन्।
यो अंग्रेजी महिना फेब्रुअरी सकिएर मार्च सुरु भएपछि विन्टर बिदा भएर प्रि-मनसुन सुरु हुने मौसम पूर्वानुमान महाशाखाका मौसमविद्ले जानकारी दिएका हुन्।
तर मार्च लाग्नुभन्दा केही दिनअघि नै प्रि-मनसुनका लक्षण देखिने महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन्।
‘मार्चबाट प्रिमनसुन सुरु हुने भए पनि ठ्याक्क मार्च १ बाटै सुरु नभएर त्यसको केही दिनअगाडिदेखि नै त्यसका लक्षण सुरु हुन्छन्,’ आइतबार बिहान नेपालखबरसँग कुरा गर्दै मौसमविद् मानन्धरले भनिन्, ‘अब बिस्तारै देशमा प्रिमनसुनका गतिविधि सुरु हुन थाल्छन्।’
उनका अनुसार प्रिमनसुनमा हावाहुरी आउने, गड्याङगुडुङ हुने, चट्याङ पर्ने तथा एकैछिन वर्षा हुनेजस्ता गतिविधि हुन्छन्।
‘यस अवधिमा कुनै बाहिरी वायुको प्रभाव हुँदैन, हाम्रै लोकल (स्थानीय)वायुबाट विकास हुने प्रणालीका कारण मौसम बदली तथा वर्षा हुने हो,’ उनले भनिन्, ‘यस अवधिमा खासगरी हावाहुरी र चट्याङबाट सतर्कता अपनाउनुपर्ने हुन्छ।’
आजको मौसम
आज (आइतबार) देशभर मौसम आंशिक बदली हुनेछ भने पहाडी भेगका एक/दुई स्थानमा वर्षा हुने अनुमान मौसमविद्ले गरेका छन्।
‘अपराह्नपछि पहाडी भेगका एक/दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ,’ मौसमविद् प्रतिभा मानन्धरले भनिन्, ‘आज हिमाली र तराई क्षेत्रमा भने मौसम सामान्य रहने देखिन्छ।’
पहाडी भेगमा पर्ने काठमाडौं उपत्यकामा आज वर्षाको सम्भावना छैन। तर दिनभर मौसम आंशिक बदली हुने देखिएको मौसमविद् मानन्धरले बताइन्।
आंशिक बदली भनेको कहिले घाम, कहिले बादल हुने अवस्था हो।
आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ७.४ डिग्री सेल्सियस रहेको उनले जानकारी दिइन्।
अहिलेको मौसम बदली पश्चिमी वायुबाट विकसित पश्चिमी न्यून चापीय प्रणालीका कारण भइरहेको हो।
‘अस्ति र हिजो यसको प्रभाव बलियो थियो, आजदेखि कमजोर भएको छ,’ मौसमविद् मानन्धरले भनिन्, ‘यसको धेरथोर प्रभाव अरू एक हप्ता रहने देखिन्छ।’

प्रतिक्रिया