ad ad

समाज


नेपालका ठेकापट्टाबाट सिंगापुर र अमेरिकामा घूस खाने विकल पौडेलको यो तरिका

नेपालका ठेकापट्टाबाट सिंगापुर र अमेरिकामा घूस खाने विकल पौडेलको यो तरिका

नेपालखबर
जेठ ९, २०८१ बुधबार १८:७, काठमाडौँ

सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेलसँग ६२ करोड रूपैयाँ अवैध सम्पत्ति रहेको निष्कर्षसहित अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

अख्तियारले पौडेलविरूद्ध दायर गरेको यो तेस्रो मुद्दा हो। यसअघि सुरक्षण मुद्रण केन्द्रका उपकरण खरिदमा भ्रष्टाचार र विदेशी स्थायी आवासीय अनुमति (पीआर) लिएर नेपालको सार्वजनिक पदमा बसेको अभियोग गरी २ वटा मुद्दा दायर गरिसकेको थियो। तीमध्ये उपकरण खरिद प्रकरणमा उनी दोषी ठहर भइसकेका छन्।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य मुरारीबाबु श्रेष्ठको इजलासले विकल पौडेललाई मंगलबार मात्र २ वर्ष कैद सजाय सुनाएको थियो। २५ करोड जरिवाना र बिगो असुल गर्नुपर्ने ठहर पनि विशेष अदालतले गरेको छ। यस प्रकरणमा अख्तियारले भने ९ जना मिलेर ६९ करोड ८ लाख ८१ हजार रुपैयाँ भ्रष्टाचार गरेको दाबीसहित मुद्दा चलाएको थियो।

अख्तियारले बुधबार विशेष अदालतमा दायर गरेको अकुत सम्पत्तिसम्बन्धी मुद्दामा पौडेलसँग कुल ६४ करोड रूपैयाँबराबरको सम्पत्ति रहेको र त्यसमध्ये ६२ करोड अवैध भएको दाबी गरेको छ। २ करोड रूपैयाँबराबरको सम्पत्ति मात्र वैध आर्जन रहेको अख्तियारले जनाएको छ।

उनको घरकोठाबाट बरामद भएका विद्युतीय उपकरण र स्वदेश तथा विदेशका विभिन्न निकायबाट प्राप्त प्रमाणहरूलाई विश्लेषण गरी अख्तियारले यो हिसाब निकालेको हो।

पौडेलले आफू कार्यकारी पदमा रहेको निकायमा आपूर्ति हुने सामग्री खरिदवापत स्वदेशी तथा विदेशी आपूर्तिकर्ता कम्पनीहरूबाट कमिसन रकम प्राप्त गरेको तथ्य पनि अभियोगपत्रमा प्रस्तुत गरिएको छ।

उनले कमिसन तथा घुसवापत पाएको रकम सिंगापुरस्थित युनाइटेड ओभरसिज बैंक र संयुक्त राज्य अमेरिकास्थित बैंक अफ अमेरिकामा रकम जम्मा गर्ने गरेको भेटिएको छ।

नेपालका सरकारी ठेकापट्टासँग जोडिएका कम्पनीबाट विकलले विदेशमा बुझेको घूस तथा कमिसन रकमको विवरण। स्रोतः अख्तियारको अनुसन्धान प्रतिवेदन

विकल पौडेलको घूस खाने तरिका
पौडेल २०७४/०७५ देखि २०७९/०८० को अवधिमा सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक भएका थिए। उनले बोलपत्रहरूको कोटेसन आफै बनाई योजनाबद्ध ढङ्गले चाहेको स्वदेशी आपूर्तिकर्ता डब्लूडीएन, ओबीसीआई, म्याक्स, नेक्स्टजे सोलुसनलगायतका कम्पनीहरूसँग ठेक्का सम्झौता गरे। उक्त स्वदेशी आपूर्तिकर्ताहरूले सोही अवधिमा विदेशी आपूर्तिकर्ता इन्स्टासेफ इंक र ब्यांकोटेक पीटीई लिमिटेडजस्ता कम्पनीहरूसँग साझेदारी गरी सूचना प्रविधिसँग सम्बन्धित सामानहरू आपूर्ति गर्ने गरेको फेला परेको छ।

सो साझेदारीवापत विदेशी कम्पनीहरूले कमिसन र घुसवापत पौडेलको सिंगापुरस्थित युनाइटेड ओभरसिज बैंक  र अमेरिकास्थित बैंक अफ अमेरिकामा २८ करोड ९५ लाख ७५ हजार रूपैयाँबराबरको रकम जम्मा गरेको देखिएको छ।

सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक भएकै बखत नेपाल सरकारको कुनै स्वीकृति सहमति नलिई सिंगापुरको ब्यांकोटेक र इन्स्टासेफनामक कम्पनीमा आफू नेपाल सरकारको कर्मचारी भएको व्यहोरा लुकाई अन्तर्राष्ट्रिय परामर्शदाताका रूपमा नियुक्ति लिई बिक्री एजेन्टको रूपमा काम गरेको भेटिएको छ।

सन् २०१९ देखि सन् २०२२ सम्ममा उनले ब्यांकोटेकबाट मात्र बिक्री कमिसनबापत अमिरिकी डलर ९ लाख ९ हजार ४ सय ४१ लिएको र इन्स्टासेफबाट अमरिकी डलर १ लाख ३९ हजार ९ सय ६४ लिएको कुरा ती कम्पनीहरूले अख्तियारलाई लेखेर नै दिएका छन्।

पौडेलले पटकपटक गरी ३ करोड ७७ लाख ९१ हजार रुपैयाँ सायद ताहिर साह, अकबर हुसेन, मनोज कार्की, ऋचा खनाल नाम गरेका व्यक्तिलाई ट्रान्सफर गरेको, विभिन्न मितिमा सिंगापुरस्थित प्रुडियन्सल एसुरेन्स कम्पनीमा २ करोड ४४ लाख ६३ हजार ८२२ रूपैयाँबराबरको प्रिमियम भुक्तानी गरी जीवन बीमासमेत गरेको देखिएको छ।

यसका अलाबा सिंगापुरस्थित युनाइटेड ओभरसिज बैंकको वेल्थ एक्युमुलेसन प्लानअन्तर्गतको एउटा स्किम स्ट्रक्चर नोटमा अमेरिकी डलर २ लाख लगानी गरेको प्रमाण उनको इमेलमा भेटिएको छ।

सुरक्षण मुद्रण केन्द्रमा कार्यरत भएको समयमा पौडेलले प्रसान्थजी भन्ने विदेशी व्यक्तिसँग गरेको सञ्चार संवादमा पटकपटक गरी २ लाख १४ हजार ३ सय अमेरिकी डलर कमिसन रकम बैंक अफ अमेरिकाको खातामा जम्मा गरेको खुल्न आएको छ।

पौडेलले कमिसनवापत बुझेको रकमबाट अमेरिकास्थित रोबिनहुड सेक्युरिटिजमा ८ करोड ४७ लाख ६० हजार र रोबिनहुड मार्केट्सको विभिन्न सेयरहरूमा ४ करोड ६२ लाख ३६ हजार ८ सय २९ गरी जम्मा १३ करोड ९ लाख ९७ हजार रूपैयाँबराबरको लगानी गरेको नेपाल राष्ट्र बैंक तथा उनको साथबाट बरामद भएको विद्युतीय उपकरणहरूबाट खुलेको अख्तियारले जनाएको छ।

प्राप्त सम्पत्ति लुकाउन छिपाउनका लागि नाटकीय रूपमा परिवारसँग विसं २०७५ मंसिर १३ गते अंश बुझेको लिखत भरपाई गरेको देखिए तापनि हालसम्म उनी आफ्ना आमा, बुबा र भाउजूसँग नै बस्दै आएको, आमाले दुई छोरामध्ये विकललाई मात्र बकस दिएको र विकलको गैरकानुनी सम्पत्तिको अनुसन्धान गरिरहेको बखतमा आमाले बकसपत्र रद्द गरेको पाइएको छ।

विकल पौडेलले कमिसन र घुसबापत बुझेको रकमबाट अंशबण्डापश्चात पनि घरजग्गा, सेयर तथा सवारी साधन खरिद गरेको, काठमाडौंमा ९ आना र भक्तपुरमा ५ रोपनी ७ आना जग्गा खरिद गरेको भेटिएको छ।

अख्तियारका अनुसार, विकल पौडेलले भ्रष्टाचार गरी आर्जेको रकमले २४ सेप्टेम्बर २०२१ मा अमेरिकामा रहेकी श्रीमती एलिना बस्नेतको नाममा न्युयोर्कमा ५ लाख १५ हजार डलर लगानी गरी घर खरिद गरेको पाइएको छ। यो सूचना अमेरिकी सरकारले नै पारस्पारिक कानुनी सहायतामार्फत अख्तियारलाई दिएको हो।

विकल पौडेल सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक भएको ५ वर्षको अवधिलाई जाँच अवधि कायम गरी आयव्ययको विश्लेषण गर्दा उनको आयतर्फ पारिश्रमिक बचत, सेयर बिक्री, बैंक खातामा रहेको रकम, अंश, विप्रेषण आय, ऋण सापटी, बैंकबाट प्राप्त ब्याज गरी कुल २ करोड १ लाख ४३ हजार रहेको छ।

व्ययतर्फ विदेशी बैंकमा मौज्दात, विदेशका सेयरबजारमा गरेको लगानी, लगानीको लागि विभिन्न व्यक्तिहरूलाई दिएको रकम, स्वदेशी तथा विदेशका बैंक खातामार्फत विद्युतीय माध्यममार्फत गरेको खर्च, युनाइटेड ओभरसिज बैंकको स्ट्रक्चर्ड नोटमा गरेको लगानी, विदेश भ्रमण खर्च, बुवा तथा आमाको नाममा गरेको लगानी, श्रीमतीको नाममा अमेरिकामा गरेको लगानी, स्वदेशमा सेयर खरिद, श्रीमतीको युनाइटेड ओभरसिज बैंकको खातामा ट्रान्सफर गरेको रकम, अध्ययन खर्च, स्वदेशी बिमा भुक्तानी तथा स्वदेशी बैंक मौज्दात र ऋण तिरेको रकम गरी ६४ करोड २० लाख ६२ हजार रहेको हिसाब छ।

उनको वैधानिक आयस्रोत खुलेको रकम भने २ करोड १ लाख ४३ हजार मात्र देखिएको छ। बाँकी ६२ करोड १९ लाख १८ हजार रुपैयाँबराबरको रकम खर्च तथा सम्पत्तिमा लगानीको वैधानिक स्रोत खुलाउन सकेनन्। यो रकम भ्रष्टाचार एवं घुस तथा अन्य गैरकानुनी क्रियाकलापबाट कमाएको मानी अख्तियारले भ्रष्टाचार मुद्दा चलाएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .