ad ad

जीवनशैली


प्रचण्ड गर्मी बन्न सक्छ हृदयाघातको कारण, यी हुन् सावधानीका उपाय

प्रचण्ड गर्मी बन्न सक्छ हृदयाघातको कारण, यी हुन् सावधानीका उपाय

डा. अवधेश शर्मा
जेठ ३, २०८१ बिहिबार १४:४७, काठमाडौँ

गर्मीको मौसमले सम्पूर्ण शरीरलाई थकित र समस्यामा पार्छ। यही मौसममा मुटुको स्वास्थ्य पनि जोखिममा रहन्छ।  अमेरिकी वातावरण संरक्षण एजेन्सीका अनुसार चरम गर्मीको मौसममा १३ सय अमेरिकीले हृदयघातका कारण मृत्युवरण गर्छन्।

चीनमा गरिएको यस्तै अध्ययनले सन् २०१५ देखि २०२० सम्म हृदयाघातका कारण दुई लाखभन्दा बढीको मृत्यु भएको देखाएको छ।

हृदयघातका कारण मृत्यु हुनेको संख्या गर्मी मौसममा धेरै देखिएको छ। यसरी मृत्यु हुनेमा पनि पुरुषको तुलनामा महिलाको संख्या बढी देखिएको छ।

गर्मीमा हृदयाघातको जोखिम किन बढी हुन्छ, यसबाट सबैभन्दा बढी प्रभावित को हुन् र हृदयघातबाट बच्न केके सावधानी अपनाउनुपर्ला त?

आउनुहोस्, यी प्रश्नमा छलफल गरौँ–

गर्मीमा हृदयाघातको सम्भावना किन बढ्छ?
हाम्रो शरीरले शरीरको अतिरिक्त तापलाई दुई तरिकाले निकाल्छ र शरीरलाई शीतल राख्ने प्रयास गर्छ। यी दुवै प्रक्रियाले मुटुमा तनाव दिन्छ। जब हावाको तापक्रम शरीरको तापक्रमभन्दा नजिक वा बढी हुन्छ, मुटुले छिटो धड्कन र शरीरलाई गर्मीबाट बचाउन बढी रगत पम्प गर्नुपर्छ। गर्मी र आर्द्र दिनहरूमा हाम्रो मुटुले चिसो दिनको तुलनामा प्रतिमिनेट दुईदेखि चार गुणा बढी रगत प्रवाह गर्दछ।

कस्ता मानिसहरूलाई हृदयघातको जोखिम उच्च हुन्छ?
६० वर्षमाथि उमेर भएका महिला, पहिले नै हृदयाघात भइसकेका, सुगर, प्रेसरका बिरामी गर्मीका कारण हुने हृदयघातको जोखिमा हुन्छन्। 
यदि तपाईंको उमेर ७० वर्षभन्दा बढी छ वा तपाईं पहिले नै कुनै स्वास्थ्य अवस्था वा जीवनशैलीसम्बन्धी रोगबाट ग्रसित हुनुहुन्छ भने यी लक्षणहरूप्रति सचेत हुनुपर्छ।

गर्मीमा हृदयाघातबाट बच्न केके सावधानी अपनाउनुपर्छ?
पहिलेदेखि नै मुटुसम्बन्धी कुनै समस्या नभएका तर उमेर पुगेका वा स्वस्थ जीवनशैलीसम्बन्धी विशेष सतर्कता नअपनाउने व्यक्तिहरूले गर्मी मौसममा बढी चनाखो हुनुपर्छ। उनीहरूले तापक्रम बढ्दा घरलाई चिसो राख्ने उपाय अपनाउनुपर्छ। कडा घाम र गर्मीमा घरबाट बाहिर निस्कनुहुँदैन। हल्का, सुती र नरम बनावटको लुगा लगाउनुपर्छ।

गर्मीमा खानपानमा विशेष ध्यान दिनुपर्छ। धेरै मसलासहित भुटेको खानाले पनि शरीरको तापक्रम बढाउँछ र पाचन प्रणालीलगायत सम्पूर्ण शरीरमा अतिरिक्त कामको दबाब दिन्छ। पखाला, गर्मी स्ट्रोक, पेट दुख्ने र बान्ता आदिको औषधि घरमा सधैं राख्नुपर्छ।

गर्मी मौसममा धुम्रपान र मद्यपान गर्नुहुँदैन। 

शरीरलाई चिसो राख्न कोल्ड ड्रिंक्स, इनर्जी ड्रिंक्स वा चिनीयुक्त पेयपदार्थ पिउनुहुँदैन।

मुटुरोगको औषधि खाइरहेकाले के सावधानी अपनाउनुपर्छ?
औषधी खाइरहनुभएको छ भने चिकित्सकको सल्लाहबिना आफैले कुनै निर्णय लिनुहुँदैन। मुटुको स्वास्थ्य अवस्थाका लागि दिइने केही औषधिहरूले हृदयको ताप प्रतिक्रियालाई असर गर्न सक्छ। तर यी औषधिहरू लिने वा बन्द गर्ने भन्ने निर्णय आफैले गर्नुहुँदैन। मौसम विभागको चेतावनीलाई ध्यान दिनुपर्छ। गर्मीको लहरको चेतावनीअघि चिकित्सकसँग परामर्श लिने बानी बसाल्नुपर्छ। 

(दैनिक भाष्करबाट)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .