समाज


४५ दिनदेखि बन्द कान्ति लोकपथ अब दैनिक ३ घण्टा खुल्ने

४५ दिनदेखि बन्द कान्ति लोकपथ अब दैनिक ३ घण्टा खुल्ने

फाइल तस्बिर


नेपालखबर
बैशाख १५, २०८१ शनिबार ११:८, काठमाडौँ

काठमाडौँबाट हेटौँडा निस्कने छोटो दुरीको कान्तिलोकपथ दैनिक तीन घण्टा मात्र खुल्ने भएको छ। 

मर्मतका लागि ४५ दिनदेखि बन्द रहेको यो सडक काम पूरा नभएकाले तीन घण्टा मात्र खोलिएको हो। 

‘मर्मतसम्भारका लागि काल्चेदेखि बगुवाखण्डसम्म चैत १ गतेदेखि बन्द गरिएको सडक अहिलेलाई बिहान ९ बजेदेखि १२ बजेसम्म ३ घण्टा सवारी साधनका लागि खुला गरिएको छ। मर्मतको काम जारी छ। अब दुई ‘सिफ्ट’मा काम गरेर शीघ्र सम्पन्न गर्ने लक्ष्य छ’, कान्तिलोकपथ आयोजनका इन्जिनियर रवीन्द्र महर्जनले भने। 

उनले आगामी जेठ १५ गतेसम्म बाटो तीन घण्टासम्म खुल्ने जानकारी दिए।

ललितपुरका प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठको अध्यक्षतामा बिहीबार बसेको बैठकले बिहान ६ बजेदेखि ९ बजेसम्म र मध्याह्न १२ बजेदेखि अपराह्न ६ बजेसम्म दुई सिफ्टमा काम गर्ने निर्णय गरेको हो। 

बैठकले उक्त सडकमा छ चक्के र त्यसभन्दा बढी पाङ्ग्रा भएका मालवाहक सवारी सञ्चालनमा पूर्णरूपमा रोक लगाउने निर्णय गरेको छ।

‘यो सडक खण्ड एक दशमलव पाँच किलोमिटर चौडा गर्न लागिएको छ। सडकमाथिका चट्टान काट्न बाँकी रहकोले यस्तो निर्णय भएको हो’, इन्जिनियर महर्जनले भने। 

यो सडक ६७ वर्षदेखि निर्माणाधीन अवस्थामा छ। हेटौँडाको बुद्धचोकदेखि ललितपुरको सात दोबाटोसम्म ९२ किलोमिटर लामो यो सडक विस्तारको जिम्मा बुद्धचोकदेखि टीका भैरवसम्मको  ७९ किलोमिटर खण्ड आयोजना कार्यालयले लिएको छ भने बाँकी भाग सडक डिभिजन कार्यालयले बनाउँदै छन्।  

टीकाभैरवदेखि चापागाउँ बसपार्कसम्म डिभिजन कार्यालयले चौडा पारेको भए पनि स्थानीयले निर्माण गरेका संरचनाका कारण ठेचो(सुनाकोठी खण्ड चौडा हुन सकेको छैन। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .