समाज


कार्यविधिविपरीत व्यक्तिगत सुरक्षामा खटाइएका प्रहरी फिर्ता बोलाउन गृहमन्त्रीको निर्देशन

कार्यविधिविपरीत व्यक्तिगत सुरक्षामा खटाइएका प्रहरी फिर्ता बोलाउन गृहमन्त्रीको निर्देशन

नेपालखबर
बैशाख १३, २०८१ बिहिबार २०:३७, काठमाडौँ

गृह मन्त्रालयले विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थापन कार्यविधि, २०७७ र अन्य प्रचलित कानुन बमोजिम विशिष्ट व्यक्तिलाई उपलब्ध गराइएका सुरक्षाकर्मीबाहेक अन्य सबै व्यक्तिगत सुरक्षाकर्मी पदाधिकार रहेको कार्यालयमा २४ घण्टाभित्र फिर्ता बोलाउन निर्देशन दिएको छ।

मन्त्रालयले निर्देशन कार्यान्वयनको प्रगति विवरण पनि उपलब्ध गराउन नेपाल प्रहरी र सशस्त्र प्रहरी बल प्रधान कार्यालयलाई निर्देशन दिएको छ।

त्यस्तै, गृहले विशिष्ट व्यक्तिहरूको जिल्ला भ्रमण लगायतका कार्यक्रममा सुरक्षा उपलब्ध गराउँदा कार्यविधिको व्यवस्था पूर्ण पालना गर्न र सुरक्षा चुनौती विश्लेषण गरी मन्त्रालयबाट थप निर्देशन भएको अवस्थामा बाहेक अगुवापछुवा उपलब्ध नगराउन पनि दुवै प्रहरी संगठनलाई भनेको छ।

मन्त्रालयले यसरी खटिएका सुरक्षाकर्मी फिर्ता नभए खटिने सुरक्षाकर्मीको तलब रोक्का गर्न र फिर्ता नगर्ने पदाधिकारीको नाम सार्वजनिक गर्ने प्रयोजनका लागि मन्त्रालयमा विवरण उपलब्ध गराउनसमेत परिपत्र गरेको छ।

उपप्रधान एवं गृहमन्त्रीस्तरीय निर्णयपछि मन्त्रालयले यस्तो निर्देशन गरेको हो।

‘एकातिर शान्ति सुरक्षा कायम गर्ने तथा सीमा सुरक्षा पोस्टमा खटिने सुरक्षाकर्मी कमी हुने, अर्कातिर विशिष्ट पदाधिकारीले व्यक्तिगत कामका लागि राष्ट्रसेवक प्रयोग गर्ने प्रचलनको अन्त्य आवश्यक छ। त्यसैको सुरुआतका लागि यो निर्णय गरिएको हो,’ मन्त्री लामिछानेको भनाइ छ।

मन्त्री लामिछानेले विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थापन कार्यविधि, २०७७ लाई समयानुकूल परिमार्जनको गृहकार्य भइरहेको पनि जानकारी दिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .