समाज


स्थानीयको त्रास हटाउन सरकारले खरिपाटीमा सुरु गर्‍यो घरदैलो अभियान

स्थानीयको त्रास हटाउन सरकारले खरिपाटीमा सुरु गर्‍यो घरदैलो अभियान

रमेश गिरी
फागुन ६, २०७६ मंगलबार ५:०,

कोरोना भाइरसविरुद्ध जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले भक्तपुरको खरिपाटी क्षेत्रमा घरदैलो अभियान शुरु भएको छ।

जिल्ला प्रशासन कार्यालय भक्तपुरको नेतृत्वमा मंगलबार बिहानैदेखि सुरक्षाकर्मीसहितको टोलीले कोरोना भाइरसको त्रास हटाउने उद्देश्यले खरिपाटी क्षेत्रमा घरदैलो अभियान सुरु गरिएको हो।

भक्तपुरकी प्रमुख जिल्ला अधिकारी होमकला पाण्डेको नेतृत्वमा अभियान सुरु भएको हो। अभियानमा सहायक प्रमुख जिल्ला अधिकारी दिलीप लामिछाने, महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधान, नेपाली सेना वीरदल गणका गणपति महासेनानी शिव पौडेल, सशस्त्र प्रहरी गुहेश्वरी गण दुवाकोटका सशस्त्र प्रहरी उपरीक्षक विश्वराज भट्टराईलगायत सहभागी छन्।

टोलीले खरिपाटी बाँसघारी क्षेत्रका बासिन्दाको घरघरमा पुगेर कोरोना भाइरसको जोखिम न्यूनीकरण, बच्ने उपाय र क्वारेन्टाइनमा रहेका नेपालीको सुरक्षित अवस्थामा रहेको बारेमा जानकारी गराइरहेको छ।

प्रजिअ पाण्डेले स्थानीयवासीका लागि छुट्टै हेल्थ डेस्क राखिएको र त्यहाँ दैनिक निःशुल्क स्वास्थ्य जाँच एवं औषधि वितरण भइरहेको बताए। ‘स्वास्थ्यमा कुनै पनि समस्या देखिए हेल्थ डेक्समा गएर जाँच गराउन सकिन्छ,’ पाण्डेले भने।

चीनको उहानबाट फर्काइएर विद्यार्थीलाई खरिपाटीस्थित क्वारेन्टाइनमा राख्दा संक्रमणको त्रास बढेको भन्दै स्थानीयवासीले घर छाड्न थालेको चर्चा चलेपछि स्थानीयलाई त्रासबाट मुक्त बनाउन र दैनिक जीवनयापनमा सहज बनाउन घरदैलो अभियान शुरु गरिएको महासेनानी शिव पौडेलले बताए।

999

टोलीले घरघरमा पुगेर क्वारेन्टाइनमा रहेका नेपाली सुरक्षित रहेको रउनीहरुमा कोरोनाको सङ्क्रमण नपाइएका कारण आत्तिनुपर्ने अवस्था नरहेको भन्दै स्थानीयलाई आश्वस्थ पार्ने प्रयास गरेको छ।

मास्क कसरी लगाउने, दैनिक हात कसरी धुनेलगायतका बारेमा जानकारी गराइएको पौडेलले बताए। रुघाखोकी नसरोस् भनेर नियमित हात धुनुपर्ने, फोहर हातले आँखा छुन नहुने, मुखमा मास्क लगाएर काम गर्नुपर्नेजस्ता सावधानी अपनाउन सिकाइएको छ।

घरदैलो कार्यक्रममा स्थानीय शर्मिला खड्काले कसैले पनि घर छाडेर नगएको भन्दै कोठामा बस्नेहरु केही दिनका लागि आफन्तकोमा गएका रदुई÷चार परिवार गाउँ फर्किसकेका बताइन्।

बारीमा काम गर्न हातमा सामान बोकेर गएकाको फोटो खिचेर, काममा गएकाहरुको घरमा लगाएको ताल्चाको फोटो खिचेर गाउँ नै खाली भयो भनेर केही मिडियाले समाचार बनाएर गलत हल्ला चलाएको क्वारेन्टाइन नजिकै घर रहेकी खड्काले बताइन्।

स्थानीय वासुदेव लामिछाने क्वारेन्टाइनमा बस्नेहरुलाई घृणा गर्नुपर्ने कुनै कारण नभएको र बस्ती छाड्नुपर्ने अवस्था नभएको बताए। ‘यहाँका वास्तविक बासिन्दाले बस्ती छाडेका छैनन्,’ लामिछानेले भने, ‘भाडामा बस्नेहरु केही परिवार गाउँ फर्किएका र आफन्तकोमा गएका हुन्। यसैलाई आधार बनाएर बस्ती खाली भो भन्न मिल्दैन।’

स्थानीयवासी राजाराम भण्डारीले भने, ‘सरकार आफैँले यहाँका बासिन्दालाई आतङ्कित बनायो, लुकेर क्वारेन्टाइन बनाउँदा यो समस्या आएको हो,’ उनले भने, ‘शुरुमै यहाँका जनतालाई तथ्य कुरा जानकारी गराएको भए, चेतना अभिवृद्धि गरेको भए र स्थानीयवासीसँग बेलाबेलामा अन्तरक्रिया गरेको भए कुनै पनि विरोध आउँदैनथ्यो, यसबारेमा जानकारी लिन जाने स्थानीयवासीलाई प्रहरीले लाठी तेस्र्याएपछि विरोधको आवाज आएको हो।’

उनले मुस्कानसहितको सेवा भनेर प्रहरीले जतिसुकै नारा घन्काए पनि प्रहरीको जनताप्रति गर्ने व्यवहार र शैलीमा कुनै परिवर्तन नआएको बताए।

जनतासँग प्रत्यक्ष जोडिने प्रहरीले नै जनतालाई अझै पनि डण्डा देखाएर तर्साउन खोज्छ भने जुनसुकै ठाउँमा पनि गलत सन्देश जाने उनको भनाई छ।

सरकारले चीनको उहानबाट उद्धार गरेर ल्याएका १७५ जनालाई खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणमा बनाइएको क्वारेन्टाइनमा राखेर स्वास्थ्य परीक्षण गरिरहेको छ। उनीहरुमा कोरोना भाइरसको संक्रमण पाइएको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad