राष्ट्रिय प्रजातन्त्र पार्टीले चैत २७ गते आह्वान गरेको काठमाडौं केन्द्रित आन्दोलनका क्रममा घाइते भएका ठाकुरप्रसाद डाँगीको मृत्यु भएको छ।
अश्रुग्यासबाट घाइते डाँगीको छाउनी अस्पतालमा उपचारका क्रममा सोमबार निधन भएको राप्रपाले जनाएको छ।
डाँगी राप्रपा बर्दियाको मधुवन नगर कार्यसमितिका संस्थापक अध्यक्ष थिए।
राप्रपाले सोमबार विज्ञप्ति प्रकाशित गरी डाँगीलाई सहिद घोषणा गर्न र परिवारलाई क्षतिपूर्ति प्रदान गर्न सरकारसँग माग गरेको छ।
साथै, उनको निधनमा शोक प्रकट गर्न पार्टीको ७७ वटै जिल्ला कार्यालयमा ३ दिन पार्टीको झन्डा आधा झुकाउने र १३ औं दिनको पुण्यतिथिमा केन्द्रमा र सम्पूर्ण जिल्लामा शोकसभा गर्ने निर्णय गरिएको छ।
प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन कुमार श्रेष्ठले एक विज्ञप्ति प्रकाशित गरी ‘प्रदर्शनमा प्रहरीको अन्धाधुन्ध लाठीचार्ज, पानीको फोहरा र अश्रुग्यास प्रहारबाट चार दर्जन बढी घाइते भएका, ति मध्ये कैयौं घाइते उपचारपछि घर फर्किसकेको र जटिल शल्यक्रिया गर्नुपर्ने छ जना अझै उपचारको क्रममा विभिन्न अस्पतालमा रहेका’ जनाएका छन्।
Shares

प्रतिक्रिया