समाज


गलेश्वरमा नौ महिनामा ४२ लाख भेटी

गलेश्वरमा नौ महिनामा ४२ लाख भेटी

फाइल तस्बिर


नेपालखबर
चैत २९, २०८० बिहिबार २०:४२, म्याग्दी

बेनी नगरपालिका–९ मा रहेको म्याग्दीको प्रमुख धार्मिकस्थल गलेश्वर मन्दिरमा नौ महिनाको अवधिमा ४२ लाख रूपैयाँ भेटी संकलन भएको छ।

गत साउनदेखि चैत महिनासम्मका मेलापर्वमा १९ लाख ७८ हजार ८ सय १८ र मण्डपमा २२ लाख ७९ हजार ७ सय ९२ भेटी संकलन भएको गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ।

कोषाध्यक्ष कुमारी रोकाले चैत महिनाको बुधबार गणना गरिएको चार लाख ५९ हजार एक सय ३५ सहित चालु आवको नौ महिनामा ४२ लाख ५८ हजार ६ सय १० रूपैयाँ भेटी संकलन भएको जानकारी दिए।

साउन सोमबारमा नौ लाख २७ हजार, बाला चर्तुदशीमा ६ लाख २१ हजार, र शिवरात्रिमा ४ लाख २९ हजार भेटी संकलन भएको थियो।

कोषको आम्दानी भेटी र बैंकको ब्याजसहित तीन करोड ७० लाखभन्दा बढी पुगेको छ।

मन्दिरको आम्दानी कर्मचारीको तलब, कार्यालय, मन्दिरका पुजारी, ज्येष्ठ नागरिक आश्रमका भान्सेको तलबका साथै संस्कृत विद्यालय सञ्चालनमा परिचालन गरिएको छ।

भेटी, महायज्ञबाट संकलन तथा तीर्थयात्रीले दिएको दानबाट पछिल्लो १२ वर्षको अवधिमा करिब ११ करोडको लागतमा विभिन्न भौतिक संरचना पनि यस क्षेत्रमा निर्माण गरिएका छन्।

गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीका अनुसार धर्मशाला, सभाहल, वाटिका, यज्ञशाला, पाठशाला, पुजारी निवास, भोजनालय, कालीगण्डकीसम्म पुग्ने मार्ग, एक सय आठ शिवलिंग, जडभरत, नटराज र लक्ष्मीनारायणको मूर्ति स्थापनालगायत भौतिक संरचना निर्माण भएका छन्।

कालीगण्डकी नदी किनारको नौ रोपनी क्षेत्रफलमा फैलिएको चट्टानमाथि अवस्थित गलेश्वर शिवालय क्षेत्र हिन्दू तथा बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल मुक्तिनाथको प्रवेशद्वार मानिन्छ।

हिन्दूधर्म ग्रन्थमा सतीदेवीको गला पतन भएर गलेश्वर नाम रहन गएको उल्लेख गरिएको छ। यस मन्दिरमा साउन महिनाको सोमबार, बालाचतुर्दशी र शिवरात्रि पर्वमा विशेष मेला लाग्छ। 

यहाँ दैनिक नित्य पूजाआजा पनि हुने गर्छ। गलेश्वर दर्शन र पूजाआजा गरेमा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad