समाज


कोरोना त्रास: आज वुहान उड्दै वाइडबडी, यसरी ल्याइँदैछ १८५ नेपाली

कोरोना त्रास: आज वुहान उड्दै वाइडबडी, यसरी ल्याइँदैछ १८५ नेपाली

नेपालखबर
फागुन ३, २०७६ शनिबार ५:२५,

कोरोना भाइरसको त्रासमा रहेका चीनका नेपालीलाई स्वदेश ल्याउन आज (शनिबार) नेपाल वायु सेवा निगमको वाइडबडी जहाज त्यसतर्फ उड्दै छ।

कोरोनाको उदगमस्थल चीनेका हुबाई प्रान्तको वुहानबाट १८५ नेपालीलाई स्वदेश ल्याउन वाइडबडीको एयरबस ३३० जहाज शनिबार दिउँसो पौने ३ अर्थात् २ः४५ बजे त्यसतर्फ उड्ने भएको हो।

काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाड उड्ने विमान राति ९ बजे (चिनियाँ समय) वुहान तियाङहे अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ।

वुहानबाट स्थानीय समयअनुसार राति ११ बजे नेपाली लिएर नेपाल एयरलाइन्सको विमान काठमाडौं फर्कनेछ।

आइतबार बिहान सवा २ बजेतिर २७७ सिटे यो जहाज नेपाली लिएर काठमाडैं आइपुग्ने नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक एवं प्रवक्ता राजकुमार क्षेत्रीले शनिबार बिहान नेपालखबरलाई जानकारी दिए।

नेपाल आउन अहिले चीनका चार/पाँच सहरमा रहेका नेपाली वुहानमा जम्मा भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिए।

‘नेपाल आउन जम्मा १८० नेपालीले चीनस्थित नेपाली दूतावासमा निवेदन दिएका छन्,’ शनिबार बिहान नेपालखबरसँग प्रवक्ता श्रेष्ठले भने, ‘उनीहरूका बच्चाबच्चीसमेत गरेर १८५ जना हुनेछन्, तिनलाई यहाँ ल्याएर क्वोरन्टाइनस्थल भक्तपुरका नगरकोट र खरीपाटीमा राखिनेछ।’

उनका अनुसार काठमाडौं आइसकेपछि चीनबाट फर्किएका ती नेपालीलाई कम्तीमा १४ दिन क्वारेन्टाइनमा राखिनेछ।

नेपाल एयरलाइन्सको अपरेसन डिपार्टमेन्टका क्याप्टेन दीपु ज्वारचनका अनुसार चीन जाने विमानमा एक विदेशी र एक नेपाली गरी दुई जना पाइलट, ६ जना क्याबिन क्रु, १ जना इन्जिनियर, १ जना फ्लाइट डिस्प्याचर, १ जना लोड मास्टर र ४ जना नेपाली सेनाका चिकित्सक रहनेछन्।

यसरी ल्याइनेछ
वुहानबाट ल्याइने नेपालीमध्ये शंकास्पदई विमानको तोकिएको अन्तिम सिट (आइसोलेसनमा)मा राखिनेछ। काठमाडौं अवतरणपछि उनीहरूलाई अन्तिम ढोकाबाट निकालिनेछ।

स्वास्थ्य मन्त्रालयका अनुसार जहाजबाट ओराल्दा एक-अर्कालाई एक मिटरको दूरीमा राखिनेछ भने काठमाडौं ओर्लनेबित्तिकै विमानस्थलमा स्वास्थ्य परीक्षण गरिनेछ।

कोही शंकास्पद भए तोकिएको अस्पताल लगिनेछ। सामान्य अवस्थाका सबैलाई बसमा राखेर सीधै क्वारेन्टाइनमा पुर्याइनेछ।

नेपाल ल्याइने १ सय ८५ जनाका नेपालीका लागि ६० कोठा व्यवस्था गरिएको छ। उचित दूरीको फरकमा १ देखि ३ जनासम्म राख्ने गरी व्यवस्था मिलाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। ६ जनाले एउटा शौचालय प्रयोग गर्नुपर्नेछ।

क्वारेन्टाइनमा रहँदा खाना, पानी, स्वास्थ्य उपचार सबै व्यवस्था छ । स्वास्थ्य टोली आवश्यकताअनुसार चौबिसै घन्टा सेवामा रहनेछन्।

सबैको दिनमा दुईपटकसम्म तामक्रम जाँचिनेछ। क्वारेन्टाइनमा पुगेको २४ घन्टाभित्र सबैको प्रारम्भिक स्वास्थ्य परीक्षण गरिनेछ भने र  १४ दिनमा अर्को जाँच गरिनेछ।

क्वारेन्टाइनमा बसेका बेला उनीहरूले अभिभावकसँग भेटघाट गर्न पाउने छैनन्। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad