समाज


कर्मचारीलाई गृहमन्त्रीको निर्देशन : नेताको दबाबमा नपर्नू, गुण्डागर्दी र अपराधमा संलग्नलाई नछोड्नू

कर्मचारीलाई गृहमन्त्रीको निर्देशन : नेताको दबाबमा नपर्नू, गुण्डागर्दी र अपराधमा संलग्नलाई नछोड्नू

तस्बिर : गृहमन्त्रीको सचिवालय


नेपालखबर
चैत ७, २०८० बुधबार १६:२६, काठमाडौँ

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले विभिन्न निकायमा सरुवा भएर अधिकारीहरूलाई बुधबार निर्देशन दिएका छन्। 

अध्यागमन विभागका नयाँ महानिर्देशक, निर्देशक, अध्यागमन कार्यालय त्रिभुवन विमानस्थल, अध्यागमन कार्यलय  गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, गृह मन्त्रालय र केही जिल्ला प्रशासन कार्यालयमा गरी उपसचिव र सहसचिवसहित सरुवा भएका २२ जनालाई गृहमन्त्रीले निर्देशन दिएका हुन्।

जिम्मेवारी सम्हाल्न दिनुअघि उनीहरुलाई निर्देशन दिँदै गृहमन्त्रीले कसैसँग सम्झौता नगर्न भनेका छन्। 

लामिछानेले नागरिकमा सरकारको व्यवहारिक अनुभूत गराउने गरी कानूनले प्रत्यायोजन गरेको अधिकारअनुसार काम गर्न उनीहरूलाई भनेका छन्।

‘सरकारले जनतामा तत्काल आशा जगाउन सक्नुपर्छ। आफ्नो जिम्मेवारीको क्षेत्रमा गलत तत्वको सञ्जाल तोड्नुस्, तिनका सहयोगी बन्ने होइन’, उनले भने, ‘सेवा प्रवाहमा तत्काल सुधार, गुण्डागर्दी, तस्करी, राजस्व चुवावट र प्राकृतिक स्रोतको दोहन नियन्त्रण, सामाजिक सद्भाव अभिवृद्धि, विपद् व्यवस्थापन, सवारी दुर्घटना न्यूनीकरणलगायत क्षेत्रमा तत्कालै सुधारका योजना बनाएर लागू गर्नुस्।’ 

उनले कर्मचारीहरूलाई राजनीतिक नेतृत्वको गलत दबाब र प्रभावमा नपर्न पनि भनेका छन्। 

‘राजनीतिक नेतृत्वको गलत दबाब र प्रभावमा नपर्नुस्। आज्ञापालक होइन, सिर्जनशिल प्रशासक बन्नुस्। नागरिकबाट मानसम्मान खोज्ने होइन, उनीहरुलाई गर्नुस्’, उनले भने, ‘औपचारिक कार्यक्रममा धेरै समय बर्बाद नगर्नुस्। जिम्मेवारी दिँदा नै ‘सक्दिन’ भन्नुस्, लिएपछि नभाग्नुस्।’ 

गृहमन्त्री लामिछानेले अध्यागमनका समस्या समाधानका योजना ल्याउन निर्देशन दिएका छन्। उनले मन्त्रालयबाट हरसम्भव सहयोग हुने बताउँदै सेवाग्राहीले कुनै सास्ती भोग्न नहुने पनि उल्लेख गरे।

‘सुरक्षा र सेवा प्रवाहमा तत्कालै सुधार हुनुपर्छ। स्थानीय सरकारसँग समन्वय गर्नुस्। समयमै निर्णय र रिपोर्टिङ गर्नुस्’, उनले नयाँ प्रजिअसहितलाई भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .