ad ad

समाज


२ वर्ष मलेसिया बसेर नेपाल फर्किएको ६ दिनमै प्रेमिकाको हत्या गरे, आफू पनि बाँचेनन्

२ वर्ष मलेसिया बसेर नेपाल फर्किएको ६ दिनमै प्रेमिकाको हत्या गरे, आफू पनि बाँचेनन्

नेपालखबर
चैत ५, २०८० सोमबार ८:४६, काठमाडौँ

मोरङको विराटनगर – ४ मा रहेको नोबल टिचिङ अस्पतालको अर्थो विभागमा कार्यरत स्टाफ नर्स चन्द्रिका कुमारी दासको हत्यामा संलग्न भएको आशंका गरिएका युवक पनि मृत भेटिएका छन्। 

सिराहाको लहान घर भएका करिब २३ वर्षीय शिवशंकर दासको शव गएराति विराटनगरको एक होटलमा भेटिएको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी रञ्जन दाहालले जानकारी दिए।

‘दासले आत्महत्या गरेको अवस्थामा शव फेला परेको हो,’ डीएसपी दाहालले सोमबार बिहान नेपालखबरसँग भने, ‘नोबल हस्पिटल अगाडीको होटल फाइनको कोठा नम्बर १०२ मा झुण्डिएको अवस्थामा उनको शव फेला परेको छ। हामी थप अनुसन्धान गरिरहेका छौँ।’

इस्टाफ नर्स चन्द्रिकाको गएको शुक्रबार आफ्नै डेराको शौचालयमा धारीलो हतियार प्रयाेग गरी हत्या गरेको अवस्थामा शव फेला परेको थियो। चन्द्रिका र शिवशंकर पुराना प्रेमि-प्रेमिका भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। 

‘पछिल्लो समय उनीहरुको प्रेम सम्बन्धमा दरार आउनु हत्या र आत्महत्याको प्रमुख कारण देखिन्छ,’ जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारीसमेत रहेका डीएसपी दाहालले भने, ‘आफ्नी प्रेमिका अर्को केटासँग लागेको आवेगमा शिवशंकरले नियोजित रुपमा युवतीको हत्या गरेको देखिन्छ। त्यसको दोस नयाँ प्रेमीलाई लगाउने नियतले उसले युवतीको हत्या गरेको भएपनि आफूले नै हत्या गरेको पोल खुल्ने भएपछि उसले पनि आत्महत्या गरेको अनुमान हामीले गरेका छौँ।’

चन्द्रिका सिराहाको धनगढीमाई नगरपालिका- ६ फुल्काहकट्टीकी हुन्। उनी विराटनगर–४ बुढाथोकी मार्गस्थित डाक्टर धीरेन्द्र गिरीको घरमा करिब दुई महिना अगाडिदेखि कोठा भाडामा बस्दै आएकी थिइन्। चन्द्रिका र शिवशंकर पुराना चिनजानका साथी भएको प्रहरीले जनाएको छ।

डीएसपी दाहालका अनुसार शिवशंकर दुई वर्ष मलेसियामा बसेर गएको २७ फागुनमा काठमाडौँ फर्किएका थिए। उनी २९ फागुनमा विराटनगर आएको देखिन्छ। विराटनगर आएपछि उनी चन्द्रिकाकै डेरामा बसेको पाइएकाे प्रहरीले जनाएको छ।

काठमाडौँ ओर्लिएपछि उनी लहान घर नगई सिधै विराटनगर गएको पाइएको डीएसपी दाहालले बताए।

आफ्नी प्रेमिका अर्को केटासँग लागेको भन्दै उनले चन्द्रिकालाई शंकाको नजरले हेर्दै आएका थिए। विराटनगर गएपछि उनी केही दिन चन्द्रिकाकै डेरामा बसेको प्रहरी अनुसन्धानले देखाएकाे छ। 

बिहीबार राति शिवशंकरसँगै बसेकी चन्द्रिकाको शुक्रबार दिउँसो हत्या भएको अवस्थामा डेराको कोठा भित्रको बाथरुममा शव भेटिएको थियो। दासको घाँटी, अनुहारलगायत शरीरका विभिन्न भागमा धारिलो हतियारले हानेको गहिरा चाेटहरु थिए।

डीएसपी दाहालका अनुसार चन्द्रिकाको हत्या उनकै नयाँ प्रेमी (नाम गोप्य) ले गरेको देखाउने प्रयास शिवशंकरले गरेको पाइएको छ। ‘उनका नयाँ प्रेमीलाई पनि हामीले निगरानीमा राखेर अनुसन्धान गरिरहेका छौँ,’ दाहालले भने। 

हत्यापछि शिवशंकर फरार भएका थिए। प्रहरी अनुसन्धानको सुई चन्द्रिकाको नयाँप्रेमीतिर नगई आफूतिरै सोझिएको चाल पाएपछि उनले आत्महत्याको बाटो रोजेको प्रहरीको अनुमान छ।

डीएसपी दाहालका अनुसार हत्यापछि प्रहरीले उनको खोजी गरिरहेको थियो। 

आइतबार दिउँसो विराटनगरको कन्चनबारीतिर शिशवंकरले प्रयोग गर्ने फोनको लोकेसन देखाएको थियो। ट्याक गर्दै खोजी गर्ने क्रममा होटल फाइनमा प्रहरी टोली पुगेको थियो। एउटा होटलको ढोका नखुलेपछि फोडेर हेर्दा झुण्डिएको अवस्थामा शिवशंकरको शव भेटिएको हो। 

शिवशंकरले आत्महत्या गरेको होटल नर्स चन्द्रिकाको हत्या भएको कोठाको दुरी झण्डै अढाई सय मिटर जति मात्रै छ। 

प्रहरीका अनुसार शिवशंकर र चन्द्रिका झण्डै चार वर्षदेखि प्रेमसम्बन्धमा थिए। शिवशंकर वैदेशिक रोजगारीको लागि मलेसिया गएपछि उनी सिराहा नै घर भएका एक स्वास्थ्यकर्मीसँगकाे प्रेम सम्बन्धमा थिइन्। 

चन्द्रिकाको हत्यापछि शिवशंकरले अब म पनि आत्महत्या गर्छु भनेर आइतबार दिउँसो आफन्तलाई फोनमा भनेको पाइएको प्रहरीले जनाएको छ।

प्रहरीले शिवशंकरको साथबाट किचनमा प्रयोग हुने कटर बरामद गरेको छ। चन्द्रिकाको हत्या सोही कटरको प्रयोगबाट भएको प्रहरीले जनाएको छ। हत्यापछि शिवशंकर दुई दिन कता गए खुलेको छैन।

शिवशंकरको शवको सनखात होटलमै पुगेर उनका दाजुले गरेका छन्। शव पोष्टमार्टको लागि अस्पताल लगिएको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .