ad ad

समाज


शालीन मृत्यु प्रकरण : २ पोका चाउचाउको विवादले लियो आत्महत्याको बाटो

तीनजनाविरूद्ध आत्महत्या दरूत्साहनको मुद्दा
शालीन मृत्यु प्रकरण : २ पोका चाउचाउको विवादले लियो आत्महत्याको बाटो

नेपालखबर
चैत ४, २०८० आइतबार २२:१३, काठमाडौँ

चितवनको रत्ननगरस्थित एकता शिशु निकेतनमा अध्ययनरत बालिका शालीन पोखरेलले आत्महत्या गरेको निष्कर्षसहित अदालतमा ३ जनाविरुद्ध आत्माहत्या दुरुत्साहनको मुद्दा दायर भएको छ। 

उक्त विद्यालयको होस्टेलमा बस्दै आएकी १४ वर्षीया शालीनले फागुन १२ गते बिहान सवा १० बजेतिर आत्महत्या गरेकी थिइन्। 

घटनाको २० दिन लामो अनुसन्धानपछि प्रिन्सिपल बालहरि देवकोटा, शिक्षक किरणबहादुर अधिकारी र कमलप्रसाद शर्माविरुद्ध आत्महत्या गर्न दुरुत्साहन दिएको अभियोग लगाइएको छ। अधिकारी र शर्मा होस्टेलका वार्डेन पनि हुन्। 

अनुसन्धान प्रतिवेदनमा प्रहरीले उनीहरूले दुरुत्साहन गरेका केही आधारहरू खुलाइएको छ। 

यस्तै शालीनले आत्महत्या गर्नुपहिले होस्टलको कोठामा सँगै बस्ने साथीहरूसँग पनि खटपट भएको अनुसन्धान प्रतिवेदनमा पाइएको छ। 

होस्टेलमा सँगै बस्ने साथीहरूसँग घटना भएकै बिहान एउटा चाउचाउको विषयमा खटपट भएको शालीनका साथीहरूले बयानमा खुलाएका छन्।

फागुन ११ गते सँगै बस्ने दिदीको बाकसबाट हराएको चाउचाउ शालीनको बाकसमा फेला परेको उनीहरूको बयान छ। 

उनका साथीहरूले बयानमा भनेका छन्, ‘हामी तीनजना (शालीनसहित) बेलुका चाउचाउ खाने सल्लाह गर्यौँ, ....दिदीको बाकसमा चाउचाउ थियो। तर लिन जाँदा नभेटिएपछि बेलुका बिस्कुट खाएर सुतेका हौँ।’

त्यसको भोलिपल्ट पनि उनीहरूबीचमा फेरि चाउचाउको विषयमा कुराकानी भयो। शनिबार भएकाले शिक्षकहरूले सबैलाई कोठा सरसफाइ गर्न भनेका थिए। 

शालीन र उनका साथीहरू पनि कोठा सरसफाइ गर्न भेट भएका थिए। चाउचाउ हराएपछि साथीले भाइले घरमा पनि नलगेकाले एक पटक सबैको बाकस खोलेर हेर्ने प्रस्ताव गरिन्। 

त्यसपछि शालीन र अर्की साथीले आ-आफ्नो बाकस खोलेर देखाए। शालीननको बाकसमा २ वटा चाउचाउ भेटियो।

त्यसपछि उनका साथीहरूले पहिले पनि पैसा र सामान लगेको शंका शालीनमाथि गरे। उनले भने आफूले खाने कुरा मात्रै लगेको जवाफ दिएको उनका साथीहरूले बयानका क्रममा खुलाएका छन्। 

‘त्यसपछि शालीनलाई अब तिमी ठूली भइसक्यौ, यस्तो काम गर्नु हुँदैन भनेर सम्झाई बुझाई गर्नु भएको थियो। त्यसपछि शालीनले गोजीबाट दिदीको बाकसको चाबी पनि निकालेर दिएकी थिइन्’, उनकी एक साथीले बयानमा भनेकी छन्। 

बिहानको करिब साढे ९ बजे खान खानका लागि घण्टी बज्यो। खाना खान जाँदै गर्दा पनि शालीनले भने दिदीलाई आफूले पैसा नचोरेको भनेकी थिइन्। 

‘यो कुरा कति पटक गरिराखेको, अबदेखि चाहिँ यस्तो काम नगर्नू’, शालीनलाई उनकी सिनियर दिदीले सम्झाउँदै भनिन्। त्यसपछि शालीनका रुमपार्टनर दुईजना खाना खान क्यान्टिनतर्फ लागे। शालीन भने कोठामै थिइन्। 

उनीहरूले खाना खाइसक्दा पनि शालीन कोठाबाट झरिनन्। उनका साथीहरू खाना खाएर कोठा फर्किँदा भित्रबाट ढोकाको चुकुल लगाइएको थियो। 

त्यसपछि साथीले शिक्षकलाई पनि खबर गरिन् र ढोकाबाहिरबाट बोलाइरहिन्। तर ढोका नखोलेपछि शिक्षकले लात्तीले हानेर ढोकाको चुकुल तोडेर हेर्दा शालीन झुण्डिएको अवस्थामा फेला परेकी थिइन्। 

आत्महत्या दुरुत्साहनका आधार 
घटनालगत्तै शालीनका बुबा दीपेन्द्र पोखरेलले विद्यालयका तीन शिक्षकविरुद्ध हत्या र बलात्कारको आरोपमा जाहेरी दिएका थिए। तर पोष्टमार्टम रिपोर्ट, सुसाइड नोट परीक्षण र अन्य फेरेन्सिक रिपोर्टबाट पनि हत्या र बलात्कार पुष्टि भएन।

आत्महत्या भएको निष्कर्षपछि प्रहरीले उनीहरूविरुद्ध आत्महत्या दुरुत्साहनको कसुरमा मुद्दा चलाएको हो। शालीन आत्महत्यासम्मको अवस्थामा पुग्नुमा उनीहरूको समेत दोष रहेको प्रतिवेदनमा उल्लेख छ। 

होस्टेल रेखदेख गर्ने जिम्मेवारी तोकिएका कमलप्रसाद शर्मालाई हराएको चाउचाउ शालीनको बाकसमा भेटिएको जानकारी गराए पनि शालीनलाई सम्झाई बुझाई नगरी बेवास्ता गरेको उल्लेख छ।  

विद्यालयका प्रधानाध्यापक बालहरि देवकोटा र होस्टल हेरचाह गर्ने जिम्मेवारी तोकिएका अर्का प्रतिवादी किरण बहादुर अधिकारीले छात्रा होस्टेल सञ्चालन जस्तो सम्वेदनशील विषयलाई गम्भीरतापूर्वक नलिई गैरजिम्मेवार तवरले बालिकाहरूको मनोविज्ञानलाई समेत ख्याल नगरेको आरोप छ। 

यस्तै छात्रा होस्टल रेखदेखको जिम्मेवारी पुरुष वार्डेनलाई तोक्दा शालीनले आफ्ना कुरा तत्काल कसैलाई सहज रुपमा सुनाउन नसकेको अनुसन्धानको निस्कर्ष छ। 

आफ्ना कुरा तत्काल सुनाउने माध्यमसमेत नहुँदा उनले आत्महत्या गर्नुपर्नेसम्मको परिस्थिति बनेको अभियोगपत्रमा उल्लेख छ। 

प्रतिवादीहरूलाई आत्महत्या दुरुत्साहनको कसुरमा ५ वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवानाको माग गरिएको छ। 

उनीहरुविरुद्ध अब जिल्ला अदालत चितवनमा थुनछेक बहस हुनेछ। त्यसपछि प्रतिवादीहरूलाई पुर्पक्षका लागि थुनामा पठाउने कि बाहिरै राखेर मुद्दाको फैसला गर्ने भन्ने अदालतले आदेश गर्नेछ। 

मुद्दाको अन्तिम फैसला हुन समय लाग्न सक्छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .