ad ad

समाज


दिलीप हत्या प्रकरण : क्रसर सञ्चालकसहित ३ जना जेल चलान

दिलीप हत्या प्रकरण : क्रसर सञ्चालकसहित ३ जना जेल चलान

शैलेन्द्र महतो
फागुन २, २०७६ शुक्रबार ३:५८,

धनुषाका दिलीपकुमार महतोको टिपरले किचेर हत्या गर्ने आरोपी मध्येका तीनजना पूर्वपक्षका लागि जेल चलान भएका छन्। आरोपी तीनजना भने धरौटीमा रिहा भएका छन्।

जिल्ला आदलत धनुषाको आदेशमा टिपर चालक मुनिन्द्र महतो, लोडर चालक रञ्जित भनिने जितेन्द्र महतो र क्रसर सञ्चालक विपीन महतोलाई जिल्ला अदालत धनुषाले पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको हो।

पक्राउ परेका मध्येका दिलीपसँगै खोलामा गएका छिमेक साथी रोशनकुमार यादव, घटनामा संलग्नता देखिएका सत्यनारायण महतो र शत्रुधन महतो जनही २५ हजार धरौटी रकम बुझाएर साधारण तारेखमा रिहा भएका छन्।

जिल्ला अदालत धनुषाका न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासले बिहीबार यस्तो आदेश दिएको हो। हत्यामा क्रसर संचालक विपीन महतो, टिपर चालक मुनिन्द्र महतो र सह चालक जितेन्द्र महतोको संलग्नताको आधार, प्रमाण देखिएकाले थुनछेक प्रयोजनका लागि थुनामा राख्ने आदेश दिएको अदालतले जनाएको छ।

खोला उत्खनन भइरहेको जानकारी पाएपछि गएको २५ पुसको बिहान दिलीपसँगै खोलामा गएका छिमेक साथी रोशनकुमार यादवका हकमा घटनालगत्तै खबर गरेको र रोशन–दिलीपबीच कुनै किसिमको वैमनश्य नरहेको देखिएकाले उनलाई तारेखमा रिहा गरेको अदालतले जनाएको छ।

घटनामा सत्यनारायण र शत्रुधनको समेत संलग्नता नदेखिएकाले तारेखमा रिहा भएका हुन्।

घर नजिककैको औरही खोलामा भइरहेको अवैध उत्खनन रोक्न गएको बेला टिपरले किचेर धनुषाको मिथिला नगरपालिका ५ श्रीपुरका २४ वर्षीय युवक दिलीप महतोको हत्या भएको थियो।

हत्याको दुईदिनपछि प्रहरीले चुरियामाई प्रसोधन उद्योगका संचालक विपीन महतो, टिपर चलाक मुनिन्द महतो, साथी रोशन महतो लगायत ४ जनालाई पक्राउ गरी सार्वजनिक गरेको थियो।

जिल्ला प्रहरी कार्यालय धनुषाले उनीहरुलाई पुस २७ गते राति पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको थियो।

दिलीपलाई टिपरले किचेर हत्या गर्नु अघि फलामको लिभरले कोँखमा घोचेर गम्भीर घाइते बनाएका अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .