समाज


सुनको सिक्री दाइजो नपाउँदा मण्डपमै बेहुली छाडेर हिँडेका बेहुलालाई के हुन्छ कारबाही?

सुनको सिक्री दाइजो नपाउँदा मण्डपमै बेहुली छाडेर हिँडेका बेहुलालाई के हुन्छ कारबाही?

हाल जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा रहेका बेहुला उमेश साह (बायाँबाट दोस्रो)र उनका बुवालगायतका आफन्त


नेपालखबर
फागुन ३०, २०८० बुधबार ९:२, काठमाडौँ

दाइजोमा सुनको सिक्री नभएको भन्दै विवाह अस्वीकार गरेको आरोपमा पक्राउ परेका बेहुलासहितका पाँच जनालाई जिल्ला प्रहरी कार्यालय पर्साले कानुनी कारबाही प्रक्रिया अघि बढाएको छ। 

बेहुलीसँग मण्डपमा बसिसकेपछि दाइजोको विषयमा निहुँ खोज्दै विवाह गर्न अस्वीकार गर्ने बाराको कलैया उपमहानगरपालिका- ४ का २८ वर्षीय उमेश साह गोढ (बेहुला)सहितलाई कानुनी कारबाही प्रक्रिया अघि बढाइएको जिल्लला प्रहरी कार्यालय पर्साले जनाएको छ। 

बेहुला उमेशसँगै उनका बुवा ६० वर्षीय बच्चालाल साह, बेहुलाका दाजुहरु ४२ वर्षीय राकेश कुमार साह र मुकेश कुमार साह तथा भिनाजु बाराको परवानीपुर गाउँपालिका- ५ का ४५ वर्षीय रामएकवाल साहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी कुमार बिक्रम थापाले जानकारी दिए।  

वीरगन्ज महानगरपालिका–२४ रामगढवाकी एक युवतीसँग सोमबार राति विवाह हुँदै गर्दा बेहुला उमेशसहित उनका आफन्तले दाइजोमा सुनको सिक्री नभएको भन्दै निहुँ खोजेका थिए। 

जन्तीले खाना खाइसकेपछि मण्डपमा विवाहको विधि चलिरहँदा राति २ बजे उमेश (बेहुला) सुनको सिक्री नभएको भन्दै मण्डपबाट उठेर घर जान लागेका थिए। त्यसपछि बेहुली पक्षले प्रहरीलाई खबर गरेका थिए। 

पर्सा प्रहरीका अनुसार दाइजो स्वरूप सुनका गहाना, नगद, मोटरसाईकल, ल्यापटप, कपडा पाएतापनि सुनको सिक्री नपाएको भनी बेहुला तथा निजका आफन्तले वेहुली पक्षसँग वादविवाद तथा हातपातसमेत गरेको पाइएको छ। 

उनीहरुले बेहुली छोडेर जान लागेको सूचना प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय श्रीपुरबाट प्रहरी टोली बेहुलीकाे घर पुगेको थियो। प्रहरीले विवाह मण्डपबाटै बेहुलासहित पाँच जनालाई पक्राउ गरेको हो। 

हाल जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा रहेका उनीहरुविरुद्ध विवाह सम्बन्धी कसुरमा पर्सा जिल्ला अदालतबाट दुई दिनको म्याद थप गरी अनुसन्धान तथा कारवाही प्रक्रिया अघि बढाइएको डीएसपी थापाले जानकारी दिए। 

बेहुलाले दाइजोबापत बेहुली पक्षबाट १५ लाख २५ हजार रुपैयाँ नगद (१२ लाख नगद र मोटरसाइकलबापत तीन लाख २५ हजार रुपैयाँ), एकथान ल्यापटप, सुनको औँठी र हनुमानको माला बुझेको पाइएको प्रहरीले जनाएको छ। 

मुलुकी अपराध (संहिता) २०७४ को दफा १७४ को उपदफा २ (१) मा विवाहमा  सामान्य उपहार, भेटी, दक्षिणा वा शरीरमा लगाएको एकसरो गहनाबाहेक अन्य दाइजोको लेनदेन गर्न नपाइने उल्लेख छ,।

त्यसबाहेक विवाहमा दुलाहा वा दुलही पक्षबाट कुनै पनि चलअचल सम्पत्ति, दाइजो माग गर्न र लेनदेनको सर्त राखेर विवाह गर्न पनि कानुनले निषेध गरेको छ।

दाइजो मागेमा वा लेनदेनको सर्त राखेमा तीन वर्षसम्म कैद वा ३० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने प्रावधान मुलुकी अपराध संहिताले गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .