नोवल कोरोना भाइरसको उत्पत्तिस्थल चीनको हुबेई प्रान्तमा रहेका नेपाली विद्यार्थीलाई आउने शनिबार (फागुन ३ गते) नेपाल ल्याइने भएको छ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले त्यहाँका नेपालीलाई फर्काउने निर्णय गरेको प्रधानमन्त्री कार्यालय स्रोतले जानकारी दिएको हो।
चीनको हुबेइ प्रान्तका उहानलगायत विभिन्न सहरमा रहेका १८० नेपाली विद्यार्थीले घरफिर्तीका लागि बेइजिङस्थित नेपाली दूतावासमा अनलाइन आवेदनसमेत दिइसकेका छन् ।
तिनलाई स्वदेश ल्याउन नेपाल वायु सेवा निगमको वाइडबडी जहाज चीन पठाउने सरकारको तयारी छ।
चीनबाट ल्याइने ती नेपालीलाई भक्तपुरको खरिपाटीस्थित विद्युत् प्राधिकरणको तालिम केन्द्रको भवनमा राखिनेछ।
यसअघि चीनबाट ल्याइने नेपालीलाई आफ्नो क्षेत्रमा नराख्न भन्दै खरिपाटीका बासिन्दाले विरोध गरिरहेका थिए।
तर स्वास्थ्य मन्त्रालयका प्रतिनिधि, जिल्ला प्रशासन कार्यालय, भक्तपुर तथा तीनवटै सुरक्षा निकाय र स्थानीयबीच मंगलबार भएको छलफलपछि खरिपाटीमा ‘आइसोलेसन सेन्टर’ राख्न दिने सहमति भएको हो।
स्वास्थ्य मन्त्रालयका प्रतिनिधिले चीनबाट फर्काइने नेपालीबाट भाइरस वरपर नसर्ने सम्पूर्ण व्यवस्था मिलाइने प्रत्याभूति दिएपछि स्थानीय राजी भएका हुन् ।
चीनबाट फर्काइने नेपालीलाई नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्वास्थ्य मन्त्रालयको सहकार्यमा प्राधिकरणको तालिम केन्द्रको होस्टलमा राखिनेछ ।
त्यहाँ २०० जनासम्मलाई आइसोलेसनमा राख्न भौतिक, चिकित्सकीय र सुरक्षालगायत तयारी भइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
चीनबाट ल्याइनेहरूको चिकित्सकीय निगरानीका लागि मन्त्रालयले ८६ जना स्वास्थ्यकर्मीलाई विशेष तालिमसमेत दिइसकेको छ।
याे पनि :
बुधबार चीनलाई जानकारी गराए मात्रै शनिबार वुहानका नेपालीको उद्धार सम्भव
Shares

प्रतिक्रिया