एक बेलायती नागरिकले विभिन्न देशका कम्तिमा ११ जनामा कोरोना भाइरसको संक्रमण फैलाएको भेटिएको छ।
चीनको हुपेइ प्रान्तस्थित वुहानबाट फैलन सुरु भएको नोबल कोरोनाभाइरस अहिले कम्तिमा दुई दर्जन देशमा पुगसिकेको छ।
एएफपीका अनुसार सिंगापुर, इटाली र बेलायतमा कोरोना भाइरस फैलाउने ती व्यक्ति बेलायती नागरिक हुन्, जसले चीनको वुहान भ्रमण गरेका थिएनन्। नाम नखुलाइएका ती व्यक्तिलाई सिंगापुरमा आयोजित एक सम्मेलनका क्रममा कोरोनाको संक्रमण भएको थियो।
कोरोनाको संक्रमण छ भनेर थाहा नभएकाले उनी भ्रमणका क्रममा विभिन्न देश पुगे। र, ती ती देशमा भाइरसको संक्रमण फैलाए।
सिंगापुर
जनवरी २० देखि २२ सम्म ती व्यक्ति सिंगापुरमा आयोजित एक सम्मेलनमा सहभागी भएका थिए। सम्मेलनमा सय जना समावेश थिए। तीमध्ये एक व्यक्ति चीनको हुपेइ प्रान्तका थिए। हुपेइको वुहान कोरोना भाइरसको उद्गमस्थल हो, जसको संक्रमणबाट मंगलबारसम्म हजारभन्दा बढीको ज्यान गइसकेको छ।
त्यहीबेला ती बेलायती नागरिकमा कोरोनाको संक्रमण भएको थियो। हाल सिंगापुरमा ४५ जना यो भाइरसबाट संक्रमित भएका छन्।
इटाली
सिंगापुरपछि ती व्यक्ति इटालीस्थित फ्रेन्च एल्प्स घुम्न गए। जनवरी २४ देखि २८ सम्म उनी कोन्टामाइन्स–मोन्टजोइ स्कि रिसोर्टमा बसे। जहाँ उनीसँगै अन्य दुई बेलायती एकै अपार्टमेन्टमा बसेका थिए। हाल इटालीमा ३ जना कोरोनाबाट संक्रमित छन्। र, त्यो तिनै बेलायती नागरिकले फैलाएको बताइएको छ।
बेलायत
इटालीमा बस्दा नै ती बेलायती नागिरकलाई ज्वरो आउन थालिसकेको थियो। त्यसपछि उनी बेलायत फर्किए र ब्राइटनस्थित एक मेडिकल सेन्टरमा पुगे। जहाँ उनमा कोरोनाभाइरसको संक्रमण भएको पत्ता लाग्यो। त्यसपछि फेब्रुअरी ६ मा उनलाई सेन्ट थोमस अस्पतालमा भर्ना गरियो।
इटालीको फ्रेन्च स्कि रिसोर्टमा उनको अन्य पाँच व्यक्तिसँग सम्पर्क भयो। अहिले उनीहरु सबैमा कोरोना भाइरसको संक्रमण देखिएको छ। इटालीमा उनी एउटा पबमा पनि गएका थिए, जहाँका एक कर्मचारीमा पनि अहिले कोरोना भाइरसको संक्रमण भएको पत्ता लागेको छ। हाल बेलायतमा ८ जना कोरोनाबाट संक्रमित छन्।
फ्रान्स
फेब्रुअरी ८ मा फ्रान्सको स्वास्थ्य मन्त्रालयले बेलायती नागरिकसँग फ्रेन्च स्कि रिसोर्टमा सम्पर्कमा रहेका एक बच्चासहित ६ जनामै संक्रमण भएको पुष्टी गर्यो। तिनै बेलायती फ्रान्स भ्रमणमा गएका बेला फ्रान्समा यो संक्रमण भेटिएको थियो। हाल फ्रान्समा ११ जनामा कोरोनाको संक्रमण देखिएको छ।
महामारीको खतरा
विज्ञहरुका अनुसार यी बेलायती नागरिक एक प्रतिनिधि पात्र मात्र हुन्। उनीजस्ता अन्य कैयौं मानिसहरुले अन्जानमा विभिन्न देशमा कोरोना फैलाएका हुनसक्छन्।यसरी कोरोना भाइरसले झन् ठूलो महामारीको रुप लिने खतरा बढेको चेतावनी दिइएको छ। विभिन्न देशमा कोरोनाको संक्रमण परीक्षण थालिनुपर्ने वैज्ञानिकहरुले बताएका छन्।
मंगलबार बिहानसम्म कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार १८ पुगेको छ। नोवल कोरोना भाइरसका कारण चीनमा सोमबार एकै दिन १०८ जनाको मृत्यु भएको छ। गत डिसेम्बरमा संक्रमण देखिएयता मृत्यु हुनेको यो सबैभन्दा ठूलो संख्या हो।
योसँगै मंगलबार बिहानसम्म चीनमा मात्रै कोरोना भाइरस संक्रमितको संख्या ४२ हजार ६ सय ३८ पुगेको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ।
चीनबाहिर २७ देशमा ४ सय ६० भन्दा बढी व्यक्तिमा कोरोना भाइरस संक्रमण भेटिएको छ। फिलिपिन्स र हङकङमा एक एक जनाको मृत्यु भएको छ ।
चीनः १०१६ मृत्यु, ४२,६३८ संक्रमित
हङकङः १ मृत्यु, ४२ संक्रमित
फिलिपिन्सः १ मृत्यु, ३ संक्रमित
संक्रमित
जापानः १६१
सिंगापुरः ४५
थाइल्यान्डः ३२
दक्षिण कोरियाः २८
ताइवानः १८
अस्ट्रेलियाः १५
मलेसियाः १८
जर्मनीः १४
भियतनामः १४
अमेरिकाः १३
मकाओः १०
क्यानडाः ७
फ्रान्सः ११
यूएईः ८
इटालीः ३
भारतः ३
बेलायतः ८
रुसः २
श्रीलंकाः १
कम्बोडियाः १
फिनल्यान्डः १
नेपालः १
स्विडेनः १
स्पेनः १
बेल्जियमः १
यो पनि:
कोरोना भाइरसका लक्षण के हुन्, यसबाट बच्न के गर्नुपर्छ?

प्रतिक्रिया