समाज


इटहरीमा भूतपूर्व सैनिक सम्मेलन सुरू (तस्बिरहरू)

इटहरीमा भूतपूर्व सैनिक सम्मेलन सुरू (तस्बिरहरू)

नेपालखबर
फागुन ३, २०८० बिहिबार २०:०, काठमाडौँ

प्रधान सेनापति प्रभुराम शर्माले पूर्वी पृतना हेडक्वाटर इटहरीमा आयोजित भूतपूर्व सैनिक सम्मेलन २०८० को उद्घाटन गरेका छन्।

समारोहमा सम्बोधन गर्दै प्रधान सेनापतिले भूतपूर्व सैनिकहरू नेपाली सेनाको प्रतिनिधि पात्रको रूपमा एक अनुशासित जीवन व्यतीत गर्दै सेनाले गरेका उल्लेखनीय कार्यहरूबारे समाजलाई सुसूचित गराउने कार्य गर्नुका साथै स्थानीय जनता र सेना बिचको पुलको रूपमा रही महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताए।

उनले सेनाको संस्थागत मूल्य र मान्यताहरूलाई अनुसरण गर्दै सैनिक सेवाको दौरान आर्जित ज्ञान, सीप र अनुभव आफ्नै गाउँघर, समाजको विकास र उत्थानमा लगाई, विपद् लगायत अन्य आवश्यक परेको समयमा समाजमा नेतृत्वदायी भूमिका निर्वाह गर्न सुझाव दिए।

प्रधान सेनापतिले नेपाली सेनाका सकलदर्जाको रगत र पसिनाबाट आर्जित कल्याणकारी कोषको रकमबाट बहालवाला तथा अवकाश प्राप्त व्यक्तिहरूको बृहत्तर हितका निमित्त कल्याणकारी सेवाको विस्तार एवं प्रभावकारी व्यवस्थापन गर्ने नीति अनुरूप शिक्षा, स्वास्थ्य, सीप तथा स्वरोजगार र सुविधा तथा सहुलियतका क्षेत्र विस्तार गरी कार्यान्वयन गर्ने कार्य भइरहेको कुराको जानकारी गराए।

सम्मेलनमा स्वर्गीय अमल्दार डिल्ली बहादुर खत्री (अ.प्रा) को मोरङ निवासी ९० वर्षकी श्रीमती भिम कुमारी लुइँटेल खत्री र सुनसरी निवासी ९३ वर्षका अमल्दार गंगा बहादुर कटवाल (अवकाश प्राप्त)लाई सम्मान गरिएको थियो।

यस्तै, सर्वोत्कृष्ट लघु उद्यमी÷व्यवसायीहरू झापा निवासी प्यूठ प्रमेस सिगुको श्रीमती मनिता आङदेम्बे लिम्बु र सुनसरी निवासी अवकाश प्राप्त हुद्दा भैरव विकलाई  प्रशंसा पत्र एवं पुरस्कार वितरण गरिएको थियो। सोही क्रममा चार वा सो भन्दा बढी सन्ततिहरु नेपाली सेनामा रहेका ७ जना अभिभावकहरूलाई सम्मान, फरक क्षमता भएका तथा अशक्त ५ जनालाई व्हिल चेयर तथा आर्थिक सहयोग वितरण गरिएको थियो।

त्यसै गरी, कल्याणकारी कार्यक्रमहरू मार्फत भूतपूर्व सैनिकहरू, आश्रित परिवार एवं बहालवाला सैनिक परिवारजनलाई स्वरोजगार बनाई आर्थिक रूपले आत्मनिर्भर र स्वावलम्बी बनाउन नेपाली सेना कल्याणकारी बोर्डले नेपाल ईन्भेष्टमेण्ट मेगा बैङ्कसँगको सहकार्यमा सञ्चालन गर्दै आएको सहुलियतपूर्ण कर्जा कार्यक्रम अन्तरगत ५ जना उद्यमी व्यवसायीहरूलाई उद्यमशील कर्जाको चेक हस्तान्तरण गरिएको थियो।

समारोहमा बलाधिकृत रथी अशोकराज सिग्देल, नेपाली सेना कल्याणकारी बोर्डका प्रमुख कार्यकारी अधिकृत रथी गौरव तण्डुल (अप्रा), नेपाली सेनाका बहालवाला तथा अवकाश प्राप्त रथीवृन्द, कल्याणकारी कोष व्यवस्थापन समितिका पदाधिकारीहरू, अन्य सुरक्षा निकायका पदाधिकारीहरू, नेपाल ईन्भेष्टमेन्ट मेघा बैंकका अधिकृत, बहालवाला एवं अवकाश प्राप्त सैनिक तथा परिवारहरूका साथै सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।

त्यस अवसरमा भूपू सैनिकहरूको तर्फबाट मार्चपास लगायत विविध साँस्कृतिक झाँकी र सैनिक व्याण्डको प्रस्तुति गरिएको थियो।

सम्मेलनकै अवसर पारेर फाल्गुण २, ३ र ४ गते इटहरी ब्यारेकमा स्वास्थ्य शिविर सञ्चालन भइरहेको छ। आजै इटहरीलगायत धनकुटा, गाईघाट (उदयपुर), चारआली (झापा), पाँचथर र ओखलढुङ्गामा पनि भूतपूर्व सैनिक सम्मेलनको आयोजना गरिएको छ।

यस वर्षको भूतपूर्व सैनिक सम्मेलनको दोस्रो चरणमा फागुन ११ गते मध्य पृतना हे.क्वा. अन्तरगत भरतपुर (चितवन) र त्रिशूली (नुवाकोट) मा सम्मेलन आयोजना हुने कार्यक्रम रहेको छ।

यस्तै, तेस्रो तथा अन्तिम चरणमा चैत्र ४ गते उपत्यका पृतना हे.क्वा. अन्तरगत काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रेपलान्चोक र सिन्धुपाल्चोक जिल्लाका विभिन्न स्थानहरूमा भूतपूर्व सैनिक सम्मेलन आयोजना हुने कार्यक्रम रहेको नेपाली सेनाले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad