ad ad

समाज


नेपालले चीनलाई भन्योः शनिबार वुहानबाट नेपाली फर्काउँछौं

नेपालले चीनलाई भन्योः शनिबार वुहानबाट नेपाली फर्काउँछौं

नेपालखबर
माघ २८, २०७६ मंगलबार ३:०,

नेपालले चीनलाई त्यहाँ रहेका आफ्ना नागरिकलाई आगामी शनिबार फर्काउन चाहेको जानकारी गराएको छ।

परराष्ट्र मन्त्रालयले नेपालस्थित चिनियाँ दूतावासमार्फत चीन सरकारलाई यही फेब्रुअरी १५ (फागुन ३) मा आफ्ना नागरिक उद्धार गर्न चाहेको जानकारी गराएको हो।

चीनस्थित नेपाली दूतावासलाई पनि परराष्ट्रले नेपाली स्वेदश फर्काउन आवश्यक तयारी गर्न निर्देशन दिएको छ ।

याेसँगै चीनमा प्राणघातक कोरोना भाइरसको त्रासमा रहेका नेपाली नागरिक स्वदेश फर्किने निश्चित भएको छ।

चीनमा रहेका नेपाली ल्याउन फागुन ३ गते नेपाल वायुसेवा निगमको वाइडबडी जहाज त्यसतर्फ पठाइने भएको छ । एयरबस ३३०-२०० सिरिजको दुई सय ७४ सिटे जहाज चीनको उहान पठाउने तयारी गरिएकाे हाे। 

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाली नागरिक उद्धार गर्न आवश्यक सबै प्रक्रिया थाल्न परराष्ट्र, स्वास्थ्य, पर्यटन र रक्षा मन्त्रालयलाई निर्देशन दिएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले त्यहाँका नेपालीलाई स्वदेश ल्याउने कुरा अब निश्चित भएकाे बताए। 

‘अब चीनका नेपाली नेपाल फर्काउने कुरा निश्चित भइसकेको छ,’ मंगलबार बिहान उनले नेपालखबरसँग भने, ‘अब चाँडोभन्दा चाँडो उनीहरूलाई ल्याइनेछ।’

उनका अनुसार कोरोनाकाे केन्द्रबिन्दु उहानसहित चीनका चार/पाँच सहरमा छरिएर रहेका नेपालीलाई एक ठाउँमा जम्मा पार्नुपर्ने हुन्छ।

‘उहानमा ६२ जना मात्र छन्, अन्य स्थानहरूमा ११८ नेपाली छन्,’ प्रवक्ता श्रेष्ठले भने, ‘५४३ किलोमिटर टाढासम्म ३७/३८ जनाको समूहमा रहेका ती सबैलाई एक ठाउँमा ल्याउनुपर्ने हुन्छ।’

उता चीनले नेपालमा विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार चिकित्सकीय निगरानीको व्यवस्था भएपछि मात्र नेपाली नागरिकलाई स्वदेश फर्काउने अनुमति दिने जानकारी गराएको राष्ट्रिय मानव अधिकार आयोगका सदस्य सुदीप पाठकले बताएका छन्।

विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार कोरोना संक्रमण स्थलबाट स्वदेश फर्काइने नागरिकलाई कम्तीमा दुई हप्ता अलग्गै राख्नुपर्ने हुन्छ। किनकि कोरोना संक्रमण भएको भए त्यस अवधिसम्म लक्ष्ण देखिनेछ।

त्यस मापदण्डअनुसार यहाँ सुरक्षित स्थान (क्वारेन्टाइन) तयारी गरिसकिएको प्रवक्ता श्रेष्ठकाे दाबी छ।

उताबाट ल्याइने नेपालीलाई आउनेबित्तिकै घर जान नदिई पहिले परिवारलगायत अन्य मानिसको सम्पर्कभन्दा टाढा अलग्गै सुरक्षित स्थान (क्वारेन्टाइन)मा राख्नुपर्ने हुन्छ।

फर्काइएका नेपालीमा कोरोना भाइरससम्बन्धी लक्षण देखिएमा उपत्यकाका विभिन्न अस्पतालमा बनाएको आइसोलेसन वार्डमा राखेर उपचार गरिने छ। जसका लागि टेकुस्थित शुक्रराज ट्रापिकल तथा सरुवा रोग अस्पताल, पाटन अस्पताल तथा वीर अस्पतालमा ४३ वटा बेड तयार गरिएको छ।

‘उपत्यकाका सबै सरकारी तथा निजी अस्पतालहरुलाई कोरोना भाइरससम्बन्धी उपचारको योजना माग गरेका छौं,’ श्रेष्ठले भने।

‘फर्काइने १८० नेपालीमध्ये कसैलाई पनि कोरोना संक्रमण छैन’
स्वास्थ्य मन्त्रालयका अनुसार चीनबाट फर्काउन लागिएका १८० नेपालीमध्ये अहिलेसम्म कसैलाई पनि कोरोना संक्रमणको आशंका छैन।

‘अहिलेसम्म प्राप्त जानकारीअनुसार त्यहाँका कुनै नेपालीलाई कोरोना संक्रमण भएको छैन,’ मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले भने, ‘त्यसैले उनीहरूलाई ल्याउँदा संक्रमण होला कि भनेर डराउनुपर्ने स्थिति छैन।’

तैपनि उनीहरूलाई ल्याउनेबित्तिकै घर नपठाई पहिले क्वारेन्टाइनमा राखिने उनले बताए।

‘अलिकता पनि कोरोनाको शंका हुनेबित्तिकै हामी उपचारका लागि अस्पताल पठाउनेछौं,’ उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .