समाज


पूर्वसचिव कार्कीको विलापः मुना तिमी किन चिच्याइनौ?

पूर्वसचिव कार्कीको विलापः मुना तिमी किन चिच्याइनौ?

सागर न्यौपाने
माघ २७, २०७६ सोमबार ११:३०,

‘ओ गड, मैले दुई घण्टा लगाएर गरेको प्रार्थनाको के सजाय दियौ?’

सोमबार बिहान मर्निङवाक र पूजापाठ सकेर घर आइपुग्दा श्रीमतीलाई मृत फेला पारेपछि भावविह्वल भएका पूर्वसचिव अर्जुन कार्की पशुपतिनाथसँग गुनासो गरिरहेका थिए।

सरकारी सेवाबाट अवकाश पाएपछि कार्की सधैँजसो बिहान गल्फ खेल्न सिनामंगल जाने गर्थे। सोमबार पनि गए तर उनले गल्फ खेलेनन्। पशुपतिनाथको मन्दिर गएर दुई घण्टा लगाएर पूजापाठ गरे।

११ बजेतिर घर फर्केर हर्न बजाए तर ढोका खुलेन। आफैँले खोलेर गाडी पार्क गरे र घरभित्र पसे।

घरभित्र पस्नेबित्तिकै कामदार विजय चौधरी झुण्डिएको अवस्थामा देखे। उनको सातो उड्यो। हतार हतार दौडिएर पहिलो तल्लामा रहेको भान्सामा पुग्दा उनले जस्तो दृश्य देखे, तत्काल उनलाई सारा जीवन अन्धकार लाग्न थाल्यो।

उनकी ४९ वर्षीया श्रीमती मुना कार्की रगतको आहालमा डुबेकी थिइन्।

उनले केही सोच्नै सकेनन्। उनी त्यहीँ मुर्छा परेर ढले।

१० मिनेटपछि उठेर उनले चिच्याए, ‘मेरो श्रीमती मार्‍यो...!’

IMG_20200210_123803_1.jpg

कार्की चिच्याएको सुने नजिकै घर भएका यामिन्द्र ओलीले। उनको मनमा चिसो पस्यो। ओलीले तत्काल सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र सानेपाका अध्यक्ष दाना थापामगरलाई फोन गरे र पूर्वसचिवको घरभित्रबाट चिच्याएको आवाज आएको विवरण सुनाए।

थापामगरले हत्तपत्त महानगरीय प्रहरी प्रभाग सानेपाका इन्सपेक्टर कोसिसबाबु जोशीलाई फोन गरेर यसबारे जानकारी दिए।

‘मलाई ११ बजेर ३८ मिनेटमा मान्छे मारेको भनेर कल आयो। मैले तत्काल इन्सपेक्टरलाई खबर गरेँ, प्रहरी पुग्दा ११ बजेर ४७ मिनेट गएको थियो होला,’ थापामगरले नेपालखबरसँग भने।

त्यसपछि इन्सपेक्टर जोशीले हत्तपत्त एम्बुलेन्स बोलाए र माताहतका सबै निकायमा ‘मर्डर’को घटना घटेको सूचना दिए।

त्यतिबेलासम्म वरिपरिका छिमेकी कार्कीको घरमा जम्मा भइसकेका थिए।

सेतो रंगको कुर्सीमा बसेर कार्की रोइरहेका थिए। उनका ओठ कलेटी परेका थिए। भगवानमाथिको भरोसा टुटेको भन्दै उनी विलाप गरिरहेका थिए। श्रीमती गुमाउँदाको घोर पीडामा उनी छन्। रुँदारुँदै उनको वाक्य बसेको छ, आँसु सकिएको छ।

614A8701.jpg

आफूलाई भेट्न आउनेहरुलाई उनले सोध्ने गरेका छन्, ‘म कसरी सहनु? मैले कसरी यत्रो पीडा खप्नु? दुर्घटना होइन यो, आफ्नै घरमा कसैले मारेको छ।’

‘ए भगवान्! मलाई बर्बाद पारेर कसलाई खुसी पार्न खोजेका हौं? मलाई अब भगवानसँग विश्वास छैन, म पूजा गर्दिनँ जुन भगवानले मेरो खुसी लुट्यो त्यो भगवानले के गर्छ र?’ उनी विलाप गरिरहन्छन्।

रगताम्मे भएर ढलेकी उनकी श्रीमतीलाई अस्पताल पुर्‍याएलगत्तै डाक्टरले भने, ‘सी इज नो मोर।’

बिहान स्कुलमा छोरा पुर्‍याएर ड्राइभरले गाडी ल्याउनेबित्तिकै कार्की गल्फ खेल्न भन्दै आफैँले गाडी हाँकेर ८ बजेतिर घरबाट निस्केका थिए।

त्यसपछि पशुपतिनाथ मन्दिर पुगेर खाली खुट्टा प्रार्थना गरेका थिए। घर फर्किंदा उनले श्रीमती गुमाइसकेका थिए। 

घटना कति बजेको हो भन्ने बारेमा प्रहरीले केही बताएको छैन, न त कार्कीले आर्फैँ भन्न सक्छन्। स्थानीयले घटना साढे १० बजे आसपास भएको अनुमान गरेका छन्। मुना कार्की र चौधरी मात्रै रहेका कारण अरुले थाहा पाउने कुरै भएन।

614A8699.jpg

शंकाको घेरामा कामदार चौधरी
स्थानीयका अनुसार कार्कीले दश वर्षअघि मात्र त्यो घर बनाएका थिए। झण्डै पौने रोपनी जग्गामा साढे दुई तले घर बनाएर कार्की परिवार बानेश्वरबाट सानेपा सरेको थियो।

आफन्तका अनुसार कार्की र उनकी पत्नीबीच प्रगाढ प्रेम थियो। पत्नी आफैँ खाना पकाउँथिन्। श्रीमतीलाई घरको काममा सजिलो होस् भनेर कार्कीले ६ वर्षअघि दाङका विजय चौधरीलाई कामदारका रुपमा राखेका थिए।

तीन सन्तान रहेका कार्कीका दुई छोरी उच्च शिक्षाका लागि अमेरिका र अस्ट्रेलियामा छन्। १८ वर्षे चौधरी कार्कीका १० वर्षे छोराको हेरचाहदेखि घरको कामकाजमा खटिन्थे।

कार्कीले चौधरीलाई गाडी मात्रै सिकाएनन्, लाइसेन्स समेत बनाउन लगाएका थिए। उनी चौधरीलाई आफ्नो ड्राइभर बनाउन चाहन्थे।

कार्की परिवार चौधरीको कामबाट सन्तुष्ट थियो।

‘कार्की परिवारले चौधरीलाई गाली गरेको, झगडा परेको कहिल्यै सुनिएन,’ उनका एक छिमेकीले सुनाए।

ललितपुर महानगरपालिका वडा नम्बर २ सानेपाको दिदीबहिनी मार्गबाट मोडिएर कालिका मार्गको सय मिटर पर रहेको सो घर चौधरीकै भरमा छोडेर कार्की दम्पत्ती घुम्न पनि निस्कन्थे। दिउँसो छोरालाई ड्राइभरले ल्याइदिने र रेखदेख पनि चौधरीले नै गर्ने गर्थे। उनीहरुका छोरा पनि चौधरीसँग रमाउँथे।

तर, आफन्तहरुले तिनै चौधरीले मुनाको हत्या गरेर आत्महत्या गरेको अनुमान गरेका छन्। प्रहरीले पनि प्रारम्भिक शंकाको सुई चौधरीतिरै घुमाएर घटनाको अध्ययन गरिरहेको छ।

sanepa_murder.jpg

महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी टेक राईले प्रारम्भिक अनुसन्धानअनुसार भान्सामा रहेको कुनै धारिलो हतियारले मुनाको हत्या गरेको देखिएको बताए।

‘क्राइम सिन हेर्दा डाइनिङ टेबलमा कामदार लडिरहेको, माथि डोरी झुण्डिरहेको छ। भित्र किचेनमा म्याम रगतपिच्छे भएर लडिरहेको अवस्था छ,’ एसएसपी राईले बताए।

तर, घटनास्थलको मुचुल्का, घटनाको प्रकृति, शवको अवस्था सबै अध्ययन गरेपछि मात्रै केही भन्न सकिने उनको भनाइ छ। घटनास्थलमै चौधरीको पनि शव फेला परेका कारण घटना अझ बढी रहस्यमय बन्न पुगेको प्रहरीको भनाइ छ।

घरमा सीसीटीभी जोडिएकोले प्रहरीले त्यसलाई अध्ययन गरिरहेको छ। यद्यपि सीसीटीभी घरबाहिर मात्रै छ।

पूर्वसचिव कार्की भने आफूले छोराजत्तिकै माया गरेर पालेको चौधरीले घटना घटाएको भन्दै रोइरहेका छन्।

‘मुना तिमी किन भागिनौ, किचनमा दुईवटा ढोका छन्, निस्केर किन चिच्याइनौ? तिमीलाई कति गाह्रो भयो होला मलाई कतिपटक बोलायौं होला...’ उनको विलाप रोकिने छाँट छैन।

फागुन १७ गते छोराको व्रतबन्धको कार्यक्रम राखेका कार्की सोमबार दिउँसो खाना खाएर निम्ता कार्ड छाप्न जाने योजनामा थिए। त्यसका लागि उनले नजिकै बस्ने भिनाजुलाई पनि तयार रहन भनिसकेका थिए।

अर्को महिना छोराको व्रतबन्ध गर्ने योजना मुनाकै चाहनामा बनेको आफन्तले बताए। तर, छोराको व्रतबन्ध गर्ने मुनाको चाहना अब सपनामा मात्र सीमित भएको छ।

तस्बिरः प्रविन कोइराला

यो पनिः
प्रहरी भन्छः धारिलो वस्तु प्रहार गरी मुना कार्कीको हत्या
सानेपा घटनाः पूर्वसचिव कार्की–पत्नी मुनाको पनि मृत्यु
सानेपा घटनाः पशुपति दर्शनबाट फर्किँदा विभत्स दृश्य देखेपछि भुइँमा लडे पूर्वसचिव कार्की
पूर्वसचिव अर्जुन कार्कीको घरमा कामदार मृत भेटिए, श्रीमती चिन्ताजनक अवस्थामा फेला

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad