ad ad

समाज


भ्रष्टाचार मुद्दामा भूमिसुधार कार्यालय पर्साका तत्कालीन प्रमुख विकलाई सफाइ

नक्कली मोहीलाई १० दिन र नायब सुब्बालाई ३ महिना कैद
भ्रष्टाचार मुद्दामा भूमिसुधार कार्यालय पर्साका तत्कालीन प्रमुख विकलाई सफाइ

फाइल तस्बिर


नेपालखबर
माघ २४, २०८० बुधबार १८:५०, काठमाडौँ

भ्रष्टाचार मुद्दामा पर्साका तत्कालीन भूमिसुधार कार्यालय, पर्साका भूमिसुधार अधिकारी गमबहादुर विकलाई विशेष अदालतले सफाइ दिएको छ।

विशेष अदालतका न्यायाधीशत्रय टेकनारायण कुँवर, तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले गलत लिखत तयार गरी भ्रष्टाचार गरेको अभियोगबाट विकलाई बुधबार सफाइ दिएको हो। 

यही मुद्दामा अभियुक्त रहेका प्राणनाथ कसजुलाई भने विशेष अदालतले ३ महिना कैद सजाय सुनाएको छ। 

पर्सा जिल्ला अदालतमा चलेको मुद्दामा कसुरदार ठहर भइ फैसला भएका आधारमा विशेष अदालतले भ्रष्टाचार निवारण ऐन, २०४९ अनुसार कसजुलाई ३ महिना कैद सुनाएको हो। 

यो प्रकरणका अर्का अभियुक्त नागेश्वर राउत कुर्मीलाई विशेष अदालतले १० दिन कैद सजाय सुनाएको छ। 

कुर्मीलाई मोही सिनम राउत अहिर जनिएको अवस्थामा उनको हस्ताक्षर किर्ते गरेको अभियोगमा दोषी ठहर गरिएको हो। जग्गासम्बन्धी लगत प्रमाणहरूमा भएका कैफियतहरूको विधिविज्ञान प्रयोगशालाबाट परीक्षण गराउँदा हस्ताक्षर किर्ते गरेको देखिएपछि कुर्मीलाई १० दिन सजाय तोकिएको हो। 

उनलाई यसअघि नै पर्सा जिल्ला अदालतबाट सरकारी कागज किर्ते गरेको कसुरमा सजाय तोकिइसकिएको छ। जिल्ला अदालतको फैसलाका आधारमा विशेषले कुर्मीलाई सजाय तोकेको हो। 

कुर्मी ९२ वर्षका बयोवृद्ध भएकाले अदालतले कारागार कार्यालयमा कैदमा राख्न उचित नहुने ठहर गरेको छ। उनको स्वास्थ्यको संवेदनशीलतालाई ख्याल गर्दै ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६४ को दफा १२ को उपदफा २ को आधारमा उनलाई कारागारमा नराखी हेरचाह केन्द्रमा राखेर कैज असुलउपर गर्न विशेषले भनेको छ। 

उनलाई  हेरचाह केन्द्रमा रहने अवधिभर कुर्मीलाई स्वस्थवर्द्धक पोषणयुक्त खाना उपलब्ध गराउन पनि विशेषले भनेको छ। विशेषले जिल्ला अदालतलाई पनि निर्देशन दिँदै स्वास्थ्य संवेदनशीलता देखिएमा चिकित्स‌क‌को सल्लाहबमोजिम सुविधायुक्त आञ्पतालमा राखी नि:शुल्क उपचार गराउन पनि भनेको छ। 

भूमिसुधार कार्यालयका कर्मचारी कसजु र नक्कली मोही बनी बाँडफाँटका लागि निवेदन दिने राउत दुवैजना यसअघि जिल्ला अदालतबाट पनि दोषी ठहर भएका थिए।

बाराको नकटुवा–२ को कित्ता नम्बर ५६ को जग्गामा भूमिसुधार कार्यालय, पर्साले मोहियानी हकको नक्कली लगत खडा गरी मोही बाँडफाँट गर्ने निर्णयमा किर्ते भएको अख्तियारले अनुसन्धानबाट पत्ता लगाएको थियो। उक्त प्रकरणको अनुन्सन्धान गर्नेक्रममा उनीहरूको संलग्नता देखिएको थियो। 

यसअघि भूमिसुधार कार्यालयका तत्कालीन प्रमुख विक सरकारी कागजात किर्ते मुद्दामा पर्सा जिल्ला अदालतको आदेशमा धरौटीमा रिहा भएका थिए। उनलाई पर्सा जिल्ला अदालतले २ लाख २५ हजार धरौटीमा रिहा गर्न आदेश दिएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .