ad ad

समाज


ललितपुरका बालबालिकालाई दादुरा-रुबेलाविरुद्धको खोप दिइने

ललितपुरका बालबालिकालाई दादुरा-रुबेलाविरुद्धको खोप दिइने

नेपालखबर
माघ २३, २०८० मंगलबार १८:५१, काठमाडौँ

ललितपुरका बालबालिका १० कक्षासम्म अध्ययनरत विद्यार्थीलाई दादुरा–रुबेला विरुद्धको खोप दिइने भएको छ। 

स्वास्थ्य कार्यालय ललितपुर र जिल्ला खोप समन्वय समितिले आज आयोजना गरेको ‘दादुरा–रुबेला खोप अभियान अन्तर्गत अन्तरक्रिया एवम् छलफल’ कार्यक्रममा  बाल मृत्युदर घटाउन सो कक्षामा अध्ययनरत विद्यार्थीलाई उक्त खोप दिइने भएको हो। 

खोप अधिकृत पार्थमणि न्यौपानेले ललितपुरका विद्यालय कक्षा १० मा अध्ययनरत १६ वर्ष उमेर सम्मका विद्यार्थीलाई समेत सो खोप दिइने तयारी गरिरहेको बताए।

'ललितपुरका ६ पालिका मध्ये महानगरपालिका तथा गोदावरी र महालक्ष्मी नगरपालिका एवं बागमती गाउँपालिकाभित्र आउँदो फागुन १३ देखि खोप लगाउन सुरु गर्नेछौँ। बाँकी दुई गाउँपालिका महाङ्काल र कोञ्ज्योसोममा फागुन १५ देखि खोप लगाइदिनेछौँ', उनले भने।

तराईका २१ र काठमाडौं उपत्यकाका ३ जिल्लाका १० कक्षासम्म अध्ययनरत विद्यार्थीहरु दादुरा–रुबेला रोगबाट बढी जोखिममा रहेकाले त्यो उमेरका विद्यार्थीलाई स्वास्थ्य शाखा ललितपुरले खोपविरुद्ध उक्त योजना बनाइरहेको न्यौपानेले बताए।

कार्यालय ललितपुरका निमित्त प्रमुख सञ्जु रायले सन् २०२६ सम्म दादुरा–रूबेला निवारण गर्ने लक्ष्यका साथ सरकारले आगामी फागुन दोस्रो सातादेखि देशभरि सो रोगविरुद्धको खोप अभियान सञ्चालन गर्ने भएसँगै आफूहरुले पनि ललितपुरका १० कक्षामा अध्ययनरत विद्यार्थीलाई खोप लगाउने तयारी गरिरहेको सुनाइन्। 

जिल्ला समन्वय अधिकारी दिनेश प्रसाद थानीले ललितपुरका सम्पूर्ण बालबालिकाले सो खोप लिइ दादुरा–रुबेला विरुद्ध लड्न सकुन भन्ने आफ्नो भाव प्रकट गरे। 

समन्वय समितिका प्रमुख ऋषिदेव फुयाँलले ललितपुरमा सो खोप सेवा लिन कोही पनि नछुट्ने गरी कार्यक्रम सम्पन्न गर्न आग्रह गरे। 

उक्त कार्यक्रममा दादुरा–रुबेला लागेका एक व्यक्तिले १८ जनालाई संक्रमण गर्न सक्ने, गर्भावस्थामा रुबेला संक्रमण भएमा गर्भपतन हुने, समय नपुगी बच्चा जन्मने, मृत बच्चाको जन्म हुने, गम्भिर प्रकारको जन्मजात हुने विकलाङ्ग देखा पर्ने समस्या देखिने बताइएको थियो। 

यसैगरी सो रोग लागेका व्यक्तिले खोक्दा तथा हाच्छियु गर्दा निस्कने छिटाबाट एक व्यक्तिबाट अर्कोमा हावाको माध्यमबाट पनि सर्ने र उक्त रोगबाट सामान्यतयाः १० प्रतिशत बालबालिकाको मृत्यु हुनसक्ने जानकारहरुको बुझाइ थियो। 

उक्त रोग लागेमा ज्वरो आउनु र शरीरमा राता विमीरा देखा पर्नु, नाकबाट पानी बग्ने, खोकी लाग्ने, आँखा राता हुने, आँखा पाक्ने जस्ता रुघाखोकीका लक्षण र चिन्हहरु पनि देखिन सक्छ। 

त्यसैगरी दादुराबाट पखाला लाग्ने, कानको संक्रमण हुने, न्यूमोनिया तथा अन्धोपन एवं मस्तिष्कमा कडा खालको संक्रमण हुने र कम्पन आउने जटिलता देखिन्छन् भने रुबेला संक्रमण भएमा हाडजोर्नि सुन्निने वा दुख्ने, गर्भपतन हुने वा मृत शिशु जन्मने, बहिरोपाना, मुटु तथा मस्तिष्कमा विकृति जस्ता जन्मजात विकलाङ्ग हुने जटिलताको कारण बिरामीको मृत्यु हुने बताइन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .