पछिल्लो समय महिनावारीका बारेमा खुलेर बहस हुन थालेको छ। तर, केही वर्ष अघिसम्म महिनावारीलाई लाजको विषय मानिन्थ्यो। महिनावारीका कारण महिलाले खेप्नुपर्ने सास्ती र विभेदको शृंखला लामो छ। महिनावारी सुरु हुँदा मात्रै होइन महिनावारी सुक्दा पनि महिलाले उस्तै सास्ती खेप्नु पर्ने हुन्छ।
महिनावारी सुरु हुने क्षण, उमेर र त्यसपछिका असहजतालाई लिएर बाक्लै बहस हुने गरेको भए पनि महिनावारी रोकिने समयका बारेमा खासै चर्चा हुने गरेको छैन। महिनावारी सुरु भएजस्तै महिनावारी सुक्नु पनि सामान्य शारीरिक प्रक्रिया हो। जब महिलामा अण्डाशयले हर्मोन उत्पादन गर्न बन्द गर्छ, तब महिनावारी रोकिन्छ।
औसत महिलाको महिनावारी ५० वर्षको हाराहारीमा रोकिन्छ। १ वर्षसम्म महिलामा महिनावारी भएन भने त्यसलाई रजोनिवृत्ति (मेनोपज) भनिन्छ। कतिपय महिलाको कम उमेरमै महिनावारी रोकिन्छ। ५० वर्षभन्दा कम उमेरका महिलामा महिनावारी रोकिएको खण्डमा समयपूर्व रजोनिवृत्ति भएको भनिने स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. प्रियंका त्रिपाठी बताउँछिन्। रजोनिवृत्तिको समयमा महिलामा विभिन्न खालका लक्षण देखा पर्दछन्।
रजोनिवृत्तिका लक्षणहरु यसप्रकार छन् :
-चिडचिडापन हुनु।
-भावनात्मक परिवर्तनहरु आउनु।
-अनिन्द्रा हुनु।
-छाला, आँखा वा मुख सुख्खा हुनु।
-तौल बढ्नु, कपाल झर्नु।
- जोर्नी र मासंपेशी दुख्नु।
-कामवासना कम हुनु।
- बारम्बार योनी र मूत्र संक्रमण हुन्।
रजोनिवृत्तिको व्यवस्थापन कसरी गर्ने?
-ननहर्मोन थेरापी लिने।
-भिटामिन सी, डी, ई र क्याल्सियमको सेवन गर्ने।
-जीवनशैली परिमार्जन गर्ने।
-चिसो पानी पिउने।
-कोठाको तापक्रम घटाउने।
-नियमित रुपमा व्यायाम गर्ने।
-धुम्रपान र रक्सीको सेवन रोक्ने।
-कफी पिउन छोड्ने।
-योनीमा मोइस्चराइजर वा लुब्रिकेन्टको प्रयोग गर्ने।
-सोया प्रोटिनको सेवन गर्ने।
-हर्मोनल रिप्लेसमेन्ट थेरापी गर्ने।
रजोनिवृत्तिपछि महिलाको स्वास्थ्यमा विभिन्न खालका जटिलताहरु देखा पर्न सक्छन्। महिनावारी सुकेका महिलामा ओस्टियोपोरोसिस हृदय रोग लाग्नसक्ने स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. प्रियंका त्रिपाठीको भनाइ छ। महिनावारी सुकेका महिलाका परिवारले महिनावारी सुरु भएका किशोरीका परिवारझैँ सचेत हुनुपर्ने डा. त्रिपाठीको सुझाव छ।
भन्छिन्, ‘यो बेलामा महिलामा शारीरिक तथा मानिसक परिवर्तनहरु देखिन्छन्। जसका कारण रजोनिवृत्ति भएका महिलाहरुको कुरा सुन्ने, उनीहरुलाई बुझ्ने र उनीहरुका समस्या सामाधान गर्ने प्रयास परिवारका सदस्यहरुले गर्नुपर्छ। आफन्तहरुले रजोनिवृत्ति भएका महिलाहरुमा सकारात्मक उत्प्रेरणा दिने गर्नुपर्छ।’
यसबाहेक महिलाहरुलाई खुसी बनाउने, उनीहरुलाई योग, बागबगैचाको काममा वा अन्य विभिन्न गतिविधिहरुमा संलग्न गराउनुपर्ने डा. त्रिपाठी बताउँछिन्। उनका अनुसार उनीहरुको वार्षिक जाँच गर्ने जस्तैः भिटामिन डीको स्तर, क्याल्सियम डेक्सा स्क्यान, (ह-ीमा कल्सियमको स्तर) मेमोग्राम आदि गराउने कुरामा ध्यान दिनुपर्छ।
सकेसम्म धेरै समय उनीहरुसँग बिताउन डा. त्रिपाठीले सुझाव दिएकी छिन्।
Shares
प्रतिक्रिया