ad ad

राजनीति


ओली भन्छन् : असन्तुष्ट जनता खतरनाक हुन्छन्, आक्रोश बढ्दै गए व्यवस्था टिक्दैन

माओवादीले हतियार उठाएर गलत गरेकाले जनताले साथ छाडेको दाबी
ओली भन्छन् : असन्तुष्ट जनता खतरनाक हुन्छन्, आक्रोश बढ्दै गए व्यवस्था टिक्दैन

तस्बिर : दिनेश भण्डारी


नेपालखबर
माघ १६, २०८० मंगलबार १८:४५, काठमाडौँ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनताले थाहा पाउने गरी लोकतन्त्रलाई अघि बढाउन नसके लोकतन्त्र नै खतरामा पर्ने बताएका छन्। 

मंगलबार काठमाडौंमा ‘संसद्मा केपी शर्मा ओली’ पुस्तकको विमोचन कार्यक्रममा बोल्दै ओलीले जनतामा असन्तुष्टि पैदा भए कुनै पनि व्यवस्था नटिक्ने बताए।

‘असन्तुष्टि बढ्दै गएर आक्रोश बन्छ, असन्तुष्ट जनता जति खतरनाक केही हुँदैन’, उनले भने।

ओलीले देश भावनाले चल्ने विषय नभएको प्रष्ट पारे। ‘देश भावनामा बग्न थाल्यो भने अनर्थ बाहेक केही हुँदैन, देश भावनाले चल्दैन, सही नीति र व्यवहारले मात्र देश चल्छ’, ओलीले भने।

माओवादीले जनताको असन्तुष्टिमा टेकेर हतियार उठाई अनेक प्रकारका बेठिक काम गरेको उनले बताए। माओवादीले गलत गरेका कारण जनताले उसको साथ छाडेको ओलीको भनाइ छ। 

ओलीले राजनीति लोकतन्त्रका लागि चाहिने र लोकतन्त्र देश विकास, जनताको हितका लागि आवश्यक रहेको बताए। लोकतन्त्रको विकल्प लोकतन्त्र नै हुने उनले स्पष्ट पारे।

ओलीले आफू सम्पूर्ण रूपमा देश, जनता र लोकतन्त्र प्रति समर्पित भएको बताए। लोकतन्त्र स्वतन्त्रता मात्र नभएर आर्थिक, सामाजिक परिवर्तनको पक्ष पनि भएको उनले बताए। राजनीति आर्थिक, सामाजिक, सांस्कृतिक पक्षसँग सम्बन्धित नभई लोकतन्त्र अघि नबढ्ने ओलीले बताए।  

आफूले संसद्मा‍ देश र जनताप्रतिको निष्ठाका साथ बोल्ने गरेको ओलीले बताए। आफूले संसद्मा केही कुरामा असावधानी भएका भए पनि ठिक बिचारका साथ बोलेको उनले स्पष्ट पारे।

आफूले निष्ठाका साथ राजनीति गरेको उनले दाबी गरे। आफ्नो राजनीति जनता र सुशासन प्रति निष्ठाको धारमा अघि बढेको ओलीले बताए। देश र जनताका हितका निम्ति नै आफूले काम गरेको उनले बताए।

ओलीले देश बनाउन सकिँदैन भन्ने कुरा गलत भएको बताए। नेपालभन्दा साना र ठूला सबै देशले प्रगति गरेका उनले सुनाए।

नेपाल उर्वर भूमि भएकोले जसरी पनि बन्न सक्ने उहाँले बताउनुभयो। त्यसकालागि राष्ट्रिय विश्वासको खाँचो भएको ओलीले औँल्याए।

‘हामीलाई राष्ट्रिय आत्मविश्वासको मात्र आवश्यकता छ’, उनले भनेका छन्। 

बाहिर गएर देश बनाउने नेपालीले आफ्नो देश बनाउन नसक्ने कुरै नआउने ओलीले बताउनुभयो। युवा जनशक्ति अधिक भएको बेलामा देश बनाउनु पर्नेमा उनले जोड दिए।

केही वर्ष ढिलो गरियो भने नेपाल ज्येष्ठ नागरिकको देश बन्ने भएकोले त्यस्तो अवस्था देश नै असफल हुनसक्ने तर्फ उनले सचेत गराए। 

भ्रष्टाचार न्यूनता, दृढ सङ्कल्प, राष्ट्रिय दृढता र आत्मविश्वास साथ लाग्दा देश बस्न समय नलाग्ने उनले बताएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .