आज (आइतबार) देशका अधिकांश स्थानमा मौसम सफा भएर घाम लाग्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन्।
पानी पार्ने प्रणाली पश्चिमी न्यून चापीय प्रणाली कमजोर हुँदै गएकाले आज देशका अधिकांश स्थानमा मौसम सामान्यतया सफा रहने देखिएको मौसम पूर्वानुमान महाशाखका मौसमविद्ले बताएका हुन्।
मौसमविद् प्रतिभा मानन्धरका अनुसार पश्चिमी न्यून चापीय प्रणाली पश्चिम, मध्य क्षेत्र हुँदै अहिले पूर्व पुगेको छ। त्यसैले आज पश्चिम र मध्य क्षेत्रमा मौसम बदलीको सम्भावना छैन।
‘पूर्वका चाहिँ एक/दुई स्थानमा आज हल्का वर्षाको सम्भावना छ,’ मौसमविद् मानन्धरले आइतबार नेपालखबरसँग भनिन्, ‘देशका बाँकी स्थानमा आज मौसम सामान्यतया सफा रहनेछ।’
उनका अनुसार आज पश्चिम र मध्य क्षेत्रमा घाम लाग्ने सम्भावना छ। काठमाडौं उपत्यकामा पनि घाम लाग्ने देखिएको छ।
‘अब पश्चिमी न्यून चापीय प्रणाली बाहिरने क्रममा छ,’ उनले भनिन्, ‘आजसम्म पूर्वमा प्रभाव पार्ला, भोलिदेखि त्यो पनि हट्नेछ।’
माैसमिवद्का अनुसार पश्चिमबाट प्रवेश गर्ने पश्चिमी न्यून चापीय प्रणाली सर्दै सर्दै पूर्वबाट बाहिरने गर्छ।

प्रतिक्रिया