ad ad

समाज


त्रिविबाट यसरी लिन सकिन्छ अनलाइनमार्फत शैक्षिक प्रमाणपत्र

त्रिविबाट यसरी लिन सकिन्छ अनलाइनमार्फत शैक्षिक प्रमाणपत्र

नेपालखबर
माघ ११, २०८० बिहिबार १४:४७, काठमाडौँ

त्रिभुवन विश्वविद्यालयका कुनै पनि शैक्षिक प्रमाणपत्र आगामी सोमबारदेखि अनलाइनबाटै लिन सकिने भएको छ। अब परीक्षा नियन्त्रण कार्यालय (पनिका) नपुगी सम्बन्धित क्षेत्रीय पनिका र क्याम्पसबाटै शैक्षिक प्रमाणपत्र लिन सकिने भएको हो। 

माघ १५ गतेदेखि सबै शैक्षिक प्रमाणपत्रको काम अनलाइनमार्फत गरेर सम्बन्धित पनिकाका क्षेत्रीय कार्यालयमा पठाउने भएकाले विद्यार्थीलाई बल्खुस्थित पनिका कार्यालयमा पुग्न नपर्ने भएको हो।

परीक्षा नियन्त्रक पुष्पराज जोशीका अनुसार माघ १५ गतेदेखि विद्यार्थीले ट्रान्सक्रिष्ट, प्रोभिजन सर्टिफिकेट, पुनर्योग, कुनै पनि प्रमाणपत्रको प्रतिलिपि तथा सच्चाउनुपर्नेजस्ता काम अनलाइनबाट गर्न सक्ने छन्। 

नियन्त्रक जोशीका अनुसार अहिले शैक्षिक प्रमाणपत्र क्षेत्रीय कार्यालयमा पठाउने र वैशाखदेखि विद्यार्थी पढेको क्याम्पसमा नै पाँच दिनमा पाउने गरी पठाइनेछ।

विद्यार्थीले पनिकाको वेबसाइटमा गएर अनलाइन फाराम भर्न सक्छन्। अनलाइन सेवा सञ्चालन गर्न त्रिविले कर्मचारीलाई तालिम दिएको छ। 

कसरी थाल्ने प्रक्रिया
त्रिविका अनुसार परीक्षा नियन्त्रण कार्यालयको वेब साइटबाट अनलाइन फारम भर्न सकिन्छ। त्यसका लागि विद्यार्थीले www.tuexam.edu.np मा लगइन गर्नुपर्छ। त्यहाँ सर्टिफिकेट लिङ्कमा क्लिक गर्नुपर्छ।

त्यसपछि साइन अपको अप्सन दिइएको छ। त्यहाँ विद्यार्थीले साइन अप गरेपछि आफ्नो इमेल ठेगानामा एउटा लिंक आउँछ।

त्यस लिंकमा क्लिक गरेर रजिष्ट्रेशन स्लिप अपलोड गर्नुपर्छ। अनि ट्रान्सक्रिप्टमा गएर आवश्यक सूचना भर्नुपर्छ।

यहीँ अरु सेवा चाहिएमा त्यहीअनुसार क्लिक गर्दै अघि बढ्नुपर्छ। अनलाइनबाट सेवा लिँदा सम्बन्धित कागजात पनि त्यहीँ अपलोड गर्नुपर्छ। 

‘उल्लेखित सूचना अनुसार फारम भर्ने र त्यहीअनुसार बैंकमा तोकिएको रकम जम्मा गरी अन्त्यमा सबमिट गर्नुपर्ने हुन्छ।’, त्रिविले भनेको छ।

विद्यार्थीको अनलाइन फारम सबमिट भएपछि सम्बन्धित शाखाबाट उक्त सूचनाका आधारमा सेवा प्रवाहको प्रक्रिया सुरु हुने परीक्षा नियन्त्रक जोशीले जानकारी दिएका छन्। 

यदि सबै प्रक्रिया पूरा भएमा त्रिविले ट्रान्सकृप्ट प्रिन्टमा पठाउँछ। प्रमाणीकरण भएको ट्रान्स्कृप्टको सूचना सम्बन्धित विद्यार्थीलाई पठाइन्छ।

फारम भर्दा विवरण अपूरो भएमा त्यसको पनि सूचना सम्बन्धित विद्यार्थीलाई दिइने उनले बताए। त्यसपछि बाँकी आवश्यक प्रक्रिया पूरा गरी फेरि अपलोड गरेर सुविधा लिन सकिनेछ 

अनलाइन सेवा लिएका विद्यार्थीको प्रमाणपत्र सम्बन्धित क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयबाट उपलब्ध गराइनेछ। 

जोशीका अनुसार नाम, थर सच्चाउने प्रक्रियाका लागि आवश्यक प्रमाण नजिकको सम्बन्धित क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय वा बल्खुस्थित केन्द्रीय कार्यालयमा बुझाउने व्यवस्था गरिएको छ। 

अनलाइन फारम भरेपछि प्रमाणपत्रहरू सङ्कलन गर्दा विद्यार्थी स्वयम् या इच्छाएको व्यक्तिलाई प्रमाणसहित पठाउन सकिने पनि पनिकाले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .