ad ad

समाज


मिलेन मौसमविद्को प्रक्षेपण, यसपालि हिउँदमा वर्षा किन कम?

मिलेन मौसमविद्को प्रक्षेपण, यसपालि हिउँदमा वर्षा किन कम?

फाइल फाेटाे


नेपालखबर
माघ ७, २०८० आइतबार २०:५४, काठमाडौँ

जल तथा मौसम विज्ञान विभागले यस वर्षको हिउँदमा औसतभन्दा बढी वर्षा हुने प्रक्षेपण गरे पनि आजका मितिसम्म खासै वर्षा हुन सकेको छैन। 

हिउँदयामको यही माघ ४ गतेसम्मको प्राप्त विवरणअनुसार देशभरका २० वटा मापन स्टेसनको तथ्याङ्कमा ४ दशमलव ५ प्रतिशत मात्रै वर्षा भएको छ। देशभर कूल २ दशमलव ५ मिलिमिटर मात्रै वर्षा भएको जल तथा मौसम विज्ञान विभागका सूचना अधिकारी विभूति पोखरेलले बताइन्। 

‘यो औसतभन्दा निकै कम वर्षा मापन हो, यो मापन २० स्टेसनको मात्रै हो, जलवायु परिवर्तनलगायत विभिन्न कारणले यसपालि पश्चिमी वायु सक्रिय हुन सकेको छैन’, उनले भनिन्, ‘हिउँदको समय अझै बाँकी भएकाले पानी पर्ने सम्भावना भने कायम रहन्छ। 

उनका अनुसार अहिले वर्षा हुने देखिएको छैन। मङ्सिर १५ देखि फागुन १७ गतेसम्मको अवधि हिउँदयाम हो।

यस अवधिमा हुने सरदर वर्षा ६० दशमलव १ मिलिमिटरलाई औसत वर्षा मानिएको छ। सूचना अधिकारी पोखरेलले अहिलेसम्म वर्षा कम भयो भनेर यो यामभरिकै विश्लेषण गर्ने बेला भने नभएको बताइन्। 

यसपालि नेपालमा मात्रै होइन, भारतको हिमालयन क्षेत्रमा पनि प्रक्षेपण नमिलेको बताउँदै उनले जलवायु परिवर्तनको असरलगायत कारण वर्षामा असर परिरहेको जिकिर गरिन्।

मुख्य त पश्चिमी वायुको असरले नै वर्षा गराउने हो। अहिलेसम्म सक्रिय रुपमा वर्षा देखिनु पर्ने हो तर देखिएको छैन। पछिल्लो हप्ता चिसो भने बढेको उनले बताइन्। 

यसरी वर्षा नहुनु भनेको विश्वकै लागि एउटा चुनौती भएको पनि विभागले जनाएको छ। यो याममा मात्रै होइन वर्षाका बेलामा पनि मौसम घटबढ देखिएको उनले बताइन्। उक्त विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक असर परिरहेको छ।

आउँदो २४ घण्टामा कोसी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक/दुई  स्थानमा हल्का हिमपातको सम्भावना छ। साथै तराईका अधिकांश स्थानमा हुस्सु/कुहिरो लाग्ने हुँदा दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायातमा असर पर्न सक्ने जनाइएको छ।

त्यसबाट हुनसक्ने असरका साथै चिसोबाट समेत बच्न आवश्यक उपाय तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .