संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पर्यटन प्रवर्द्धनका लागि सरकारले 'सम्पदा गाउँ निर्माण अभियान' सुरु गरेको बताएका छन्।
बुधबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा उनले नेपालमा पर्यटन प्रवर्द्धनका लागि ६० भन्दा बढी पुराना गाउँको खोजी अघि बढाएको बताए।
‘आजभन्दा ३५ सय वर्षअघिका बस्तीहरू कस्ता थिए? त्यो सबैभन्दा पुरानो बस्ती लुम्बिनीमा थियो भन्ने कुरा प्रमाणित भइसकेको छ। हामीले सम्पदा गाउँ निर्माणका कुरा अघि बढाएका छौँ। पुरानो गाउँ खोजी, नयाँ पर्यटन गन्तव्य होस् भनेर ६० वटा भन्दा बढी पुराना गाउँको खोजी कार्य अघि बढाएका छौँ’, उनले भने।
किरातीले सांस्कृतिक गाउँ निर्माण, नयाँ सम्पदा निर्माण अघि बढाउन कार्यविधिको ड्राफ्ट नै तयार पारिसकेको बताए।
आफूले मन्त्रालय सम्हालेको एक वर्ष पूरा भएपछि उच्चस्तरीय कार्यक्रमतिर प्रवेश गर्ने योजना पनि उनले सुनाए।
‘सांस्कृतिक गाउँ निर्माण, नयाँ सम्पदा निर्माण अघि बढाउने भनेर कार्यविधिको ड्राफ्ट नै तयार पारिसकेका छौँ', उनले भने, 'पर्यटन दशकलाई अझ तीव्र बनाउँदै कार्यान्वयन गर्न कार्यक्रम तयारी गर्दैछौँ। त्यसपछि हामी उच्चस्तरीय काममा लाग्नेछौँ।’
Shares

प्रतिक्रिया