क्रिकेटर सन्दीप लामिछानेबाट पीडित भएकी युवतीको भन्दै फोटो सार्वजनिक गर्ने एकजना युवालाई प्रहरीले संखुवासभाबाट पक्राउ गरेको छ।
संखुवासभाको चिचिला गाउँपालिका-३ का ३२ वर्षीय केशरमान राईलाई नेपाल प्रहरीको साइबर ब्युरोले पक्राउ गरेर बुधबार काठमाडौं ल्याएको हो। केशरमान युट्युबरसमेत रहेको साइबर ब्युरोले जनाएको छ।
ब्युरोका प्रमुख एसएसपी नवीन्द्र अर्यालका अनुसार उनीविरूद्ध जिल्ला अदालत काठमाडौंबाट ७ दिनको म्याद थपी अनुसन्धान थालिएको छ।
यसअघि अनुसन्धानका क्रममा प्रहरीले गौशाला २६ नाम दिएकी ती युवतीले आफ्नो पहिचान खुल्ने तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गरेको भन्दै गत पुस २६ गते साइबर ब्युरोमा उजुरी दिएकी थिइन्।
गौशाला २६ ले आफ्नो वास्तविक नाम र तस्बिर सार्वजनिक गर्ने फेसबुक र एक्ससहित ६ वटा पेजविरुद्ध उजुरी दिएकी थिइन्। त्यसपछि देश र विदेशमा रहेका ती व्यक्तिहरूबारे प्रहरीले अनुसन्धान थालेको थियो।
Shares

प्रतिक्रिया