महाराजगञ्जस्थित राष्ट्रपतिको कार्यालय र बालुवाटारस्थित प्रधानमन्त्रीको सरकार निवासअगाडिको सडकमा पाँचजनाभन्दा धेरै भेला हुन दुई महिनासम्मलाई निषेध गरिएको छ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले बुधबार जारी गरेको आदेशअनुसार अतिविशिष्ट पदाधिकारीको निवास, कार्यालय वा मुलुकको प्रशासनिक केन्द्र तथा मुख्य आगमन मार्गहरुमा भेला जम्मा भएर अनसन, धर्ना, घेराउ र विरोध प्रदर्शन जस्ता कार्यक्रमहरू गर्दा शान्ति सुरक्षा भङ्ग हुन सक्ने उल्लेख गरिएको छ।
यस्ता गतिविधिले शान्ति सुरक्षामा प्रत्यक्ष असर पर्नुका साथै सर्वसाधारण नागरिकको सेवा प्रवाहका लागि प्रयोग हुने मुख्य मार्गका सार्वजनिक सेवा प्रदायक निकाय र महत्वपूर्ण प्रतिष्ठानहरूको काममा असर पर्ने भएकाले यस्तो आदेश जारी गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले उल्लेख गरेका छन्।
उक्त आदेशमा सार्वजनिक सम्पत्ति संरक्षण एवम् सुरक्षा र एम्बुलेन्स, दमकल, अस्पताल, खानेपानी लगायत अत्यावश्यक सेवा तथा सेवा प्रवाहका लागि प्रयोग हुने मुख्य मार्ग, अत्यावश्यक आपूर्ति व्यवस्थापनसँग सम्बन्धित दुई वा सो भन्दा बढी जिल्ला जोड्ने राजमार्गमा सार्वजनिक यातायात अवरूद्ध हुने अवस्थालाई मध्यनजर गरी निषेधाज्ञा जारी गरीएको उल्लेख छ।
बस्नेतले बुधबारदेखि नै लागु हुने गरी दुई महिनासम्मका लागि पाँच जनाभन्दा बढी व्यक्ति भेला भई जुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनशन, घेराउ, सभा जस्ता आन्दोलन र विरोधका कार्यक्रम गर्न निषेध गरेको आदेशमा उल्लेख गरेका छन्।
निषेधाज्ञा जारी गरिएका स्थान
शीतल निवास (राष्ट्रपति कार्यालय) को निषेधित क्षेत्र : पूर्व पुरानो पवित्र वर्कशप चोक, पश्चिम सामाखुसी निस्किने नाला, उत्तर राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको दक्षिण पूर्वी गेट र दक्षिण प्रहरी अस्पताल जाने मोडसम्म।
प्रधानमन्त्री निवास वालुवाटारको निषेधित क्षेत्र : पुरानो पवित्र वर्कशप चोकबाट रसियन राजदुतावास हुँदै इटालिया चोक, सभामुख निवासदेखि गैह्रीधारा जाने बाटोको पश्चिम दक्षिण सय मिटर, प्रधानन्यायाधीश निवासबाट लाजिम्पाट जाने सय मिटर पश्चिम, राष्ट्रबैंक चोकबाट पूर्वतर्फ सय मिटर, इटालिया चोकबाट ५० मिटर दक्षिणसम्म।

Shares

प्रतिक्रिया