जिल्ला अस्पताल सिन्धुलीमा कार्यरत १३ जना करारका चिकित्सकले पारिश्रमिक माग गर्दै स्वास्थ्य मन्त्रालयमा पत्र बुझाएका छन्।
तीन महिनादेखि पारिश्रमिक नपाएपछि १३ जना करारका चिकित्सकले पुस २८ गते (शुक्रबार) स्वास्थ्य मन्त्रालयमा पुगेर पत्र बुझाएका हुन्।
जिल्ला अस्पताल सिन्धुलीका प्रमुख (मेसु) डाक्टर अभिषेक थपलियाका अनुसार सरकारको छात्रवृत्तिमा पढेका १३ जना चिकित्सक यतिबेला जिल्ला अस्पताल सिन्धुलीमा कार्यरत छन्। एमवीवीएस र एमडी गरेका ती चिकित्सकले गएको असोजदेखि यता तीन महिनाको पारिश्रमिक पाएका छैनन्।
‘यो हाम्रो अस्पतालको मात्र होइन, देशैभरीका सरकारी अस्पतालमा कार्यरत सबै करारका चिकित्सकको समस्या हो,’ आइतबार बिहान डा.थपलियाले नेपालखबरसँग भने, ‘बागमती र कोशी प्रदेशका सबैजसो सरकारी अस्पतालमा यो समस्या छ। चालु आर्थिक वर्षको साउन र भदौ महिनाको मात्रै पारिश्रमिक उहाँहरुले पाउनु भएको छ।’
सिन्धुली जिल्ला अस्पतालमा कार्यरत डा.सविर कुमार खड्का, डा.सुजाता महर्जन, डा.रक्षा पाण्डे, डा.जयन्त चौधरी लगायतका १३ जना चिकित्सकले पारिश्रमिक माग गर्दै स्वास्थ्य मन्त्रालयमा पुगेर स्वास्थ्य सचिव डा.रोशन पोखरेललाई पत्र बुझाएका हुन्।
पत्रमा छात्रवृत्ति करारमा कार्यरत १३ जना चिकित्सक र स्वास्थ्यकर्मीले गएको असोजदेखि यताको पारिश्रमिक र चाडपर्व खर्च नपाउँदा जीवन गुजारामै समस्या सिर्जना भएको उल्लेख छ।
‘पारिश्रमिक नपाउँदा दैनिक गुजारा चलाउनसमेत कठिन भएकोले यथाशिघ्र हालसम्मको पारिश्रमिक र चाडपर्व खर्च उपलब्ध गराउन र अब उप्रान्त नियमित तथा सहज रुपमा पारिश्रमिक प्राप्त हुने व्यवस्था मिलाउन अनुरोध गर्दछौँ,’ पत्रमा भनिएको छ।
स्वास्थ्य मन्त्रालय बागमती प्रदेश र स्वास्थ्य सेवा विभागलाई बोधार्थ पठाइएको उक्त पत्र स्वास्थ्य सचिवले नीति योजना अनुगमन महाशाखामा पठाएका छन्।

Shares

प्रतिक्रिया