समाज


अवैध उत्खनन गर्नेलाई प्रहरीले पक्राउ गर्‍याे, जनप्रतिनिधिले छाडे

अवैध उत्खनन गर्नेलाई प्रहरीले पक्राउ गर्‍याे, जनप्रतिनिधिले छाडे

शैलेन्द्र महताे
माघ २०, २०७६ सोमबार १५:३१,

 अवैध रुपमा नदी उत्खनन् गरिरहेको अवस्थामा धनुषा प्रहरीले पक्राउ गरेका चारजना चालकलाई जनप्रतिनिधिले छाडिदिएका छन्। जिल्ला समन्वय समिति धनुषाले पुनः हाजिर हुने सर्तमा चारैजना चालकलाई छाडेको समितिका उपसभापति दीपक झाले जानकारी दिए।

आइतबार राति धनुषा र सिरहाको सीमामा बग्ने कमला नदीको चुरे क्षेत्रबाट अवैध उत्खनन् गरिरहेको अवस्थामा ४ टिपर, एक जेसीभीसहित चारजना चालकलाई इलाका प्रहरी कार्यालय ढल्केबरले पक्राउ गरेको थियो। पक्राउ गरिएको टिपर, जेसीभीसहित चालकहरुलाई जिल्ला प्रहरी कार्यालय धनुषाले सोमबार जिल्ला समन्वय समिति धनुषालाई जिम्मा लगाएको थियो।

जिम्मा लगाए लगतै समन्वय समितिले चालकहरुलाई छाडेको हो। ‘जिल्ला समन्वय समितिमा पक्राउ गरेका चालकलाई राख्ने ठाउँ छैन। कहाँ राख्ने, त्यसै कारण चारैजना चालकलाई पुनः उपस्थित हुने गरी छाडिएको छ’, समितिका उपसभापति झाले भने, ‘टिपर र जेसीभी नियन्त्रणमै छ। दुईदिनपछि अनुगमन समितिको बैठक बसेर के गर्ने विषयमा निर्णय हुन्छ।’

चुरे क्षेत्र कमला नदीको उतराहिनीमा ग्राइभेल तथा ढुंगा उत्खनन गरिरहेको बेला प्रहरीले बा ३ खा ७६००, भे १ ख २९३९, ना २ क २८४ र ना २ क २७८ नम्बरको चार टिपर र बा २ क २९८७ नम्बरको एउटा जेसिभी नियन्त्रणमा लिएको थियो। सोमबार जिल्ला प्रहरी कार्यालय धनुषाले गरेको पत्रकार सम्मेलनमा धनुषाका प्रहरी उपरीक्षक रमेशकुमार वस्नेतले नियन्त्रणमा लिएको टिपर, जेसीभी सहित चालकलाई जिल्ला समन्वय समितिलाई कारबाहीको लागि जिम्मा लगाएको बताएका थिए।

प्रहरीका अनुसार ना २ क २८४ नम्बको टिपरका चालक धनुषाको लक्ष्मिनियाँ गाउँपालिका ३ बस्ने २४ बर्षीय पुण्यप्रसाद यादव, बा.२ क २९८७ नम्बरको एक्साभेटरका चालक सिरहाको कर्जन्हा नगरपालिका २ बस्ने ३८ बर्षीय राजकुमार राउत, ना २ क २७८ नम्बरका टिपर चालक धनुषाको मिथिला नगरपालिका २ बस्ने ३० बर्षीय गोपाल महतो र भे १ ख २९३९ नम्बरको टिपर चालक महोत्तरीको वर्दिवास नगरपालिका १ बस्ने ३३ बर्षीय रामु महतोलाई प्रहरीले पक्राउ गरी समन्वय समितिलाई जिम्मा लगाएका थिए। एकजना टिपर चालक भने प्रहरी उत्खनन स्थलमै पुग्न लाग्दा फरार भएका थिए।

गएको पुस २२ गते घर नजिकैको औरही खोलामा भइरहेको अवैध उत्खनन रोक्न जाँदा धनुषाको मिथिला नगरपालिका ५ श्रीपुरका ओम प्रकाश भन्ने दिलीपकुमार महतोको टिपरले किचेर निर्मम हत्या भएको थियो। त्यसपछि देशव्यापी रुपमा अवैद्य उत्खनन् रोक्न र पर्यावरण बचाउने माग चलिरहेको छ। प्रशासनले कडाई गरेपछि केही दिनदेखि अवैध उत्खनन् बन्द थियो।

तर फेरी जनप्रतिनिधि र प्रहरी प्रशासनकै संरक्षणमा धनुषामै उत्खनन सुरु भएको छ। धनुषाको मिथिला नगरपालिका क्षेत्रमा बग्ने बडहडी खोलामा समेत अवैध उत्खनन भइरहेको छ।

 याे पनि: दिलीप हत्यापछि पनि धनुषामा उस्तै दोहन : मध्यराति प्रहरीद्वारा ४ टिपर र १ जेसीभी नियन्त्रण

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .