समाज


बहुमूल्य नागमणि, एक मुखे रुद्राक्ष र दाहिने शङ्ख मंगलबार पशुपतिमा देखाइने

बहुमूल्य नागमणि, एक मुखे रुद्राक्ष र दाहिने शङ्ख मंगलबार पशुपतिमा देखाइने

नेपालखबर
मंसिर २५, २०८० सोमबार २१:५६, काठमाडौँ

पशुपतिनाथको भण्डारमा रहेको बहुमूल्य नागमणि, एक मुखे रुद्राक्ष र दाहिने शङ्ख मंगलबार बिहान पशुपति क्षेत्रमा सर्वसाधारणका लागि प्रदर्शन गरिने भएको छ।

प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन वर्षभर सुरक्षित राखिएको छ भनेर बहुमूल्य नागमणि, एक मुखे रुद्राक्ष र दाहिने शङ्ख सर्वसाधारणलाई देखाउने गरिन्छ।

यसैगरी मार्गशीर्ष कृष्ण औँसीका दिन भने अब एक वर्षका लागि सुरक्षितसाथ राखिन्छ भनी देखाउने परम्परा रहेको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए।

यस वर्ष त्रयोदशीका दिन आइतबार सर्वसाधारणका लागि पशुपतिनाथको भण्डारमा रहेको बहुमूल्य नागमणि, एक मुखे रुद्राक्ष र दाहिने शङ्ख सुरक्षित छ भनी प्रदर्शन गरिएको थियो। मङ्गलबार भने अब अर्को वर्षलाई यी सामग्री सुरक्षितसाथ राखिन्छ भनी देखाउन लागिएको कोषले जनाएको छ।

बहुमूल्य नागमणि, एक मुखे रुद्राक्ष र दाहिने शङ्खलाई मार्गशीर्ष कृष्ण औँसीका दिन मङ्गलबार भण्डारको तेस्रो तलामा राख्ने कार्यक्रम रहेको छ। राख्नुअघि अर्थात् बिहान १० बजे अगावै पशुपतिनाथमा बाला चतुर्दशीका दिन मेलामा आएका भक्तजनका लागि सुरक्षित छ भनी यी सामग्री देखाइँदै छ। 

बहुमूल्य नागमणि, एक मुखे रुद्राक्ष र दाहिने शङ्ख प्रत्येक महिना पशुपतिका भण्डारीको पालो परिवर्तनका बेला कोष, प्रहरीलगायत सरोकार भएका निकायका रोहवरमा बुझाउने गरिन्छ।

भण्डारी परिवर्तन हुँदा भने यी सामग्री भण्डारभित्र नै रोहवरमा राख्ने गरिन्छ।

मङ्गलबार बिहान साढे नौ बजेदेखि करिब तीन घण्टासम्म बहुमूल्य नागमणि, एक मुखे रुद्राक्ष र दाहिने शङ्ख देखाउने तयारी गरिएको हो। 

पशुपतिनाथको पश्चिमढोकाअघि यी बहुमूल्य सामग्री देखाइने छ। मङ्गलबार नै पशुपति क्षेत्रमा बालाचतुर्दशीका दिन सोमबार शतबीज छर्दा जम्मा भएको फोहर सफा गर्ने कार्यक्रम रहेको जनाइएको छ।

सफाइमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी, वाग्मती सफाइ अभियानकर्मीलगायतको सहभागिता रहने छ। केही फोहर भने आजै कोषका कर्मचारीले सफा गरेका छन्।

बालाचतुर्दशीका मेलाका अवसरमा पशुपति क्षेत्रमा जम्मा भएका लाखौँ भक्तजनका कारण भएको फोहर कोषका कर्मचारीले मात्र सफाइ गर्न नसक्ने भएकाले सफाइ कार्यक्रम आयोजना गरिएको पनि प्रवक्ता अधिकारीले जानकारी दिए। रासस 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad