ad ad

समाज


मानव अधिकार आयोगमा लफडा : आयोग सदस्य ठाकुरको कार्यकक्षमा तालाबन्दी

मानव अधिकार आयोगमा लफडा : आयोग सदस्य ठाकुरको कार्यकक्षमा तालाबन्दी

नेपालखबर
मंसिर १८, २०८० सोमबार १४:२८, काठमाडौँ

राष्ट्रिय मानव अधिकार आयोगमा सचिव नियुक्तिको विषयलाई लिएर भएको किचलो पुनः बल्झिएको छ। पदाधिकारीबीचमै मत बाझिँदा लामो समय कायममुकायम सचिवको भरमा चलेको आयोगले गत कात्तिकको दोस्रो साता कायममुकायम सचिव मुरारीप्रसाद खरेललाई सचिवमा नियुक्तिका लागि मन्त्रिपरिषद्‌मा प्रस्ताव पठाउने निर्णय गरेपछि सुरु भएको किचलो सकिएको छैन्।

खरेललाई सचिवमा नियुक्तिका लागि मन्त्रिपरिषद्‌मा प्रस्ताव पठाउने निर्णय भएसँगै आयोगका कर्मचारी दुई कित्तामा विभाजित भएका थिए।

खरेललाई सचिव बनाउने निर्णयमा आयोग अध्यक्ष तपबहादुर मगर, सदस्यहरू डा. सूर्यप्रसाद शर्मा ढुंगेल, मनोज दुवाडी र लिली थापाले हस्ताक्षर गरेका थिए भने सदस्य मिहिर ठाकुरले त्यसको विरोध गर्दै हस्ताक्षर गर्न अस्वीकार गरेका थिए।

सोही विरोधमा ठाकुरले सामाजिक सञ्जालमा लेख्दै आएका थिए। उनले आफ्नो फेसबुकमार्फत् कायममुकायम सचिव खरेललाई तत्काल उक्त पदबाट हटाउन माग गर्दै आएका थिए। 

आयोगका लेखा अधिकृतले कार्यालय सहयोगीलाई यौन दुर्व्यवहार गरेको लिखित उजुरी पर्दा पनि कारबाही नगरेको आरोप  ठाकुरीले लगाएका छन्। 

मन्त्रिपरिषद्को उक्त सिफारीस पूर्नविचारका लागि आयोगमा पठाउन भन्दै मंसिर १६ गते ठाकुरले प्रधानमन्त्री कार्यालयमा पत्र बुझाएका छन्। उनले प्रधानमन्त्रीलाई सम्बोधन गरेर लेखेको पत्रमा कामुसचिव खरेलले आयोगको साधन स्रोत व्यापक दुरुपयोग गरी आर्थिक अनियमितता गरेको आधिकारिक प्रमाणहरू समेत आफूसँग रहेको उल्लेख गरेका छन्।

उनले लेखेका छन्, ‘उनलाई सचिवमा नियुक्तिको सिफारिस गर्न मनासिव नहुने मेरो राय छ। सिफारिस समितिले १ नम्बरमा सहसचिव यज्ञ अधिकारीको नाम समेत सिफारिस गरेको र उहाँ नै योग्यता, कार्यकुशलता, इमान्दारी तथा ज्येष्ठताको आधारमा सचिव पदमा सर्वाधिक उपयुक्त हुने मेरो राय छ।’

ठाकुरको यो अभिव्यक्तिलाई लिएर आयोगले सूचना नै निकालेको छ। आयोगका अध्यक्ष तपबहादुर मगरले जारी गरेको प्रेस विज्ञप्तीमा ठाकुरका अभिव्यक्तिलाई लिएर भ्रममा नपर्न आग्रहसमेत गरिएको छ। 

हेर्नुस् आयोगको विज्ञप्ति:

‘निज सदस्यले सामाजिक सञ्जालमा राख्दै आएका हाल सम्मका अभि व्यक्तिहरू निजको नितान्त नितान्त निजी विचार हुन्। यो आयोगको धारणा नरहेको नाजकारी गराउँदै निज सदस्य मिहिर ठाकुरले सामाजिक सञ्जालमा प्रयोग गरेको अभिव्यक्ति प्रति भ्रममा नपर्न अनुरोध गर्दछौँ। साथै मानव अधिकार संरक्षण र सम्वर्द्धनको कार्यमा निरन्तर हातेमालो गर्दै अगाडि बढ्ने प्रतिबद्धता समेत व्यक्त गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ।

ठाकुरका अभिव्यक्तिकी कारण मानवअधिकारको संरक्षण गर्ने आयोगको प्रभावकारितामा  नकारात्मक प्रभाव परेको समेत विज्ञप्तिमा उल्लेख गरिएको छ।

यसैबीच, राष्ट्रिय मानव अधिकार आयोग कर्मचारी क्लवले माहिर ठाकुरको कार्यकक्षमा तालाबन्दी गरेको छ। आयोग र आयोगका पदाधिकारी कर्मचारी विरुद्ध सामाजिक सञ्जालमा गरेको दुष्प्रचारविरुद्ध सार्वजनिक रुपमा क्षमायाचना नगर्दासम्म ठाकुरको कार्यकक्षमा तालाबन्दी गरिने कर्मचारी क्लबले जनाएको छ।

उनलाई कार्यकक्षमा प्रवेश निषेध समेत गरिने जनाइएको छ।

आफ्नो कार्यकक्षमा तालाबन्दी भएपछि ठाकुरले आयोगभित्रका अनुचित क्रियाकलापविरुद्ध आफ्नो सार्वजनिक अभिव्यक्तिलाई लिएर आयोगका अध्यक्ष र कर्मचारी क्लब भयभित भएको जनाएका छन्।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अध्यक्षको विज्ञप्ति तथा कर्मचारी क्लबको चेतावनीले आयोगको शुद्धीकरण अभियान कमजोर बनाउन र भ्रष्ट प्रवृत्तिलाई संरक्षण गर्न खोजिएको प्रष्ट देखिन्छ।  सत्य तीतो हुन्छ। सुरुमा यसलाई  पराजित गर्न सकिन्छ तर अन्ततः सत्य र न्यायको जीत निश्चित हुन्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .