समाज


प्रचण्ड र ओलीका पीएसओको चलखेलले एसपी बढुवामा ढिलाइ

७ एसपीका लागि यी हुन् १२ प्रतिस्पर्धी
प्रचण्ड र ओलीका पीएसओको चलखेलले एसपी बढुवामा ढिलाइ

डीएसपीहरू विनोद घिमिरे, राजन लिम्बू र सन्तोष तामाङ


नेपालखबर
मंसिर ११, २०८० सोमबार २२:१०, काठमाडौँ

नेपाल प्रहरीमा रिक्त ७ प्रहरी उपरीक्षक (एसपी) बढुवाको तयारी भएको छ। ५ जना एसपी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा भएसँगै रिक्त संख्या ७ पुगेको हो। 

७ एसपीका लागि १२ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रतिस्पर्धामा छन्। प्रहरी निरीक्षक (इन्सपेक्टर) मा भर्ना भएकाहरु तीन चरणमा डीएसपीमा बढुवा भएका थिए। 

पहिलो चरणमा डीएसपी बढुवा भएका सबै एसपीमा बढुवा भइसकेका छन्। दोस्रो चरणमा डीएसपी भएका मध्येबाट पनि तीन जना एसपीमा बढुवा भइसकेका छन्। 

२०८० वैशाख १९ गते २२ जना डीएसपीलाई एसपीमा बढुवा गरिएको थियो। उनीहरु पनि अहिले एसपीको प्रतिस्पर्धामा रहेका अधिकारीहरुसँगै सेवामा प्रवेश गरेकाहरु हुन्। 

२२ जना एसपी बढुवा गर्दा डीएसपीमा बढुवा हुँदाको वरीयतालाई कायम गरिएको थियो। डीएसपीको वरीयतामा रहेकाहरु नै क्रमशः एसपी भएका थिए। त्यसरी बढुवा गर्दा केही विवादित अटाइएको थियो भने कार्यक्षमतामा अब्बल र निर्विवादित अधिकारी छुटाइएको थियो। 

अहिले त्यतिबेला छुटेकै मध्येबाट ७ जना एसपी बन्नेछन्। प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर विदेशमा रहेकाले तत्काल बढुवा सूची निस्कने सम्भावना छैन। महानिरीक्षक कुँवर फर्किएलगत्तै एसपी बढुवा सिफारिस हुनेछ। 

यसअघि जस्तै डीएसपीको वरीयताका आधारमा एसपी बढुवा सिफारिस गरिए प्रदीपबहादुर क्षेत्री, अंगुर जिसी, ढकेन्द्र खतिवडा, यादव ढकाल, श्यामबाबु ओलिया, नारायण रञ्जितकार, निरन्जनदत्त भट्ट एसपी बन्ने छन्। उनीहरु डीएसपीको वरीयतामा क्रमशः अगाडि रहेका छन्। 

तर यही लटमा डीएसपी भएका राजन लिम्बू, सन्तोष तामाङ, एकनारायण कोइराला, अनन्तराम शर्मा र विनोद घिमिरे पनि बढुवाको लागि दौडधुपमा छन्। 

उनीहरु सबै २०७२ भदौमा डीएसपीमा बढुवा भएका थिए। उनीहरुलाई एसपीका दाबेदार मानिएको छ। सँगै प्रहरी निरीक्षकमा भर्ना भएका र डीएसपीमा छुटेका मध्येबाट भने अहिले एसपी बढुवा गर्ने सम्भावना कम देखिएको छ। 

यसपटक डीएसपीको वरीयता कायम गर्दै एसपी बनाउने निश्चित भने छैन।

प्रचण्ड र ओलीका पूर्वपीएसओको दबाब
प्रहरी महानिरीक्षकले डीएसपीको वरीयता अनुसार नै एसपी बढुवा गर्न चाहेपछि पहुँचवाला डीएसपीहरुले शक्ति केन्द्र भिडाइरहेका छन्। जसका कारण यसअघि नै भइसक्नु पर्ने डीएसपी बढुवाको सिफारिस रोकिएको छ।  

एसपीको प्रतिस्पर्धामा रहेका १२ डीएसपीमध्ये तीन जना प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र पूर्वप्रधानमन्त्री केपी ओलीका पूर्व पीएसओ हुन्। उनीहरु जसरी पनि अहिले नै एसपी बढुवा हुन जोड गरिरहेका छन्। उनीहरुकै लागि वरीयता तलमाथि गरेर एसपी बनाउनु पर्ने दबाब प्रहरी महानिरीक्षकमाथि रहेको प्रहरी अधिकारीहरु बताउँछन्। 

हाल एसपीको प्रतिस्पर्धामा रहेका विनोद घिमिरे प्रधानमन्त्री प्रचण्डका पूर्वपीएसओ हुन्। तर उनी डीएसपीको वरीयतामा अन्तिममा छन्। उनलाई बढुवा गर्ने हो भने वरीयता मिच्नु पर्ने हुन्छ। डीएसपीको वरीयतामा अगाडि रहेकाहरु छुट्नेछन्। 

यस्तै केपी ओलीको पीएसओ बसिसकेका दुई डीएसपी पनि एसपीको प्रतिस्पर्धामा छन्। डीएसपी राजन लिम्बू र सन्तोष तामाङले ओलीको पावर लगाएर एसपी बन्न जोड गरिरहेका छन्। 

वरीयता मिचेर बढुवा गर्न दबाब परेपछि एसपी बढुवामा केही ढिलाइ हुने देखिएको छ। लिम्बु ८ र तामाङ ९ नम्बरमा छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .