म्याग्दीको खोप्रामा फसेका ४ नेपाली पर्यटकको तीनदिनपछि सकुशल उद्धार गरिएको छ।
बिहीबार साँझदेखि सम्पर्क बाहिर रहेका सर्लाहीका अंकित साह र अभिषेक महतो, दोलखाका सञ्जित लामा र धनगढीका सुमन भट्टलाई शनिबार जिल्ला प्रशासन कार्यालय म्याग्दीको अगुवाइमा स्थानीयहरुले उद्धार गरेका हुन्। उनीहरुसँग शुक्रबार टेलिफोन सम्पर्क भए पनि शनिबार बिहान मात्र उद्धार भएको हो।
जिल्ला प्रशासन कार्यालय म्याग्दीका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले हिउँमा फसेका चारै जनाको सकुशल उद्धार गरिएको बताए। ३ हजार ८ सय मिटर उचाइमा अवस्थित खोप्राबाट तल नारच्यांग गाउँ झर्ने क्रममा चारै जना हिउँसहितको जंगलमा फसेका थिए।
उनीहरुको उद्धारका लागि शुक्रबार बिहानैदेखि प्रजिअ ढकालसहित नेपाल प्रहरीका डीएसपी र सशस्त्र प्रहरीका डीएसपी नेतृत्वको टोली सो क्षेत्र पुगेका थिए।
‘शुक्रबार बिहानैदेखि हामी उद्धारमा लागेका हौँ, जिल्ला प्रशासन, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयहरुको सहयोगमा उहाँहरुको सकुशल उद्धार भयो’, नेपालखबरसँग कुरा गर्दै प्रमुख जिल्ला अधिकारी टकालले भने, ‘उहाँहरुको स्वास्थ्य अवस्था सामान्य छ। अंकित र सुमनको खुट्टामा सामान्य समस्या देखिएपछि हेलिकोप्टरबाट पोखरा पठाएका छौँ। दुई जनालाई लिएर हामी बेनी फर्कँदै छौँ।’
प्रजिअ ढकालले शनिबार बिहान ८ बजे उनीहरुको उद्धार गरिएको जनाकारी दिए। घटनास्थल अन्नपूर्ण गाउँपालिका ४ ¥याले खोला र भलाम्दी खोलाको बीचमा पर्ने उनले जनाकारी दिए।
‘माथिबाट तल झर्ने क्रममा उहाँहरु सो क्षेत्रमा पुगेपछि हिमपात सुरु भयो’, प्रजिअ ढकालले भने, ‘बाक्लो हिउँ जमेपछि उहाँहरु दायाँबायाँ गर्न अवस्था नरहेको देखिन्छ।’

प्रतिक्रिया