राष्ट्रिय मानव अधिकार आयोगले आफ्नो अधिकारको प्रयोग गर्दा अरुको अधिकारको सम्मान गरी प्रदर्शनलाई शान्तिपूर्ण र संयमित बनाउन सबै पक्षलाई आग्रह गरेको छ।
आयोगले आज जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘ शान्तिपूर्ण रुपमा भेला हुने अधिकारको सम्मान गर्दै नागरिकमाथि अनावश्यक बल प्रयोग नगर्न तथा प्रदर्शनमा शान्ति सुरक्षाको व्यवस्थालाई प्रभावकारी बनाउन आयोग नेपाल सरकारलाई आग्रह गर्दछ।’
नेकपा ९एमाले० को भ्रातृ सङ्गठन राष्ट्रिय युवा सङ्घ नेपाल र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानका नामबाट व्यवसायी दुर्गा प्रसाईंलगायतद्वारा यही मङ्सिर ७ गते काठमाडौँमा गर्ने भनिएको प्रदर्शनको मानव अधिकारको दृटिकोणबाट अनुगमन गर्ने आयोगले जनाएको छ।
लोकतन्त्रमा शान्तिपूर्ण प्रदर्शन गर्न पाइने संवैधानिक अधिकार भए पनि मानव अधिकारको विश्वव्यापी घोषणापत्र १९४८ र नेपाल पक्ष राष्ट्र बनेको नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि, १९६६ ले समेत शान्तिपूर्ण प्रदर्शन तथा अभिव्यक्ति स्वतन्त्रताको हकको सुनिश्चितता गरेको छ।
तर प्रदर्शनलाई शान्तिपूर्ण बनाउनु र संयमता अपनाउनु प्रदर्शनकारीकै प्राथमिक दायित्व रहेको आयोगको ठहर छ। रासस
18
Shares

प्रतिक्रिया