ad ad

समाज


मंसिर ७ लाई लक्षित गरी उपत्यकाका सबै सुरक्षा प्रमुखको बैठक सैनिक पृतनामा

मंसिर ७ लाई लक्षित गरी उपत्यकाका सबै सुरक्षा प्रमुखको बैठक सैनिक पृतनामा

नेपालखबर
मंसिर ५, २०८० मंगलबार १३:२१, काठमाडौँ

मंसिर ७ गतेको कार्यक्रमलाई लक्षित गर्दै उपत्यकाका चारवटै सुरक्षा प्रमुखको बैठक सैनिक पृतनामा सुरु भएको छ।

नेपाली सेनाको उपत्यका पृतनामा सुरु भएको बैठकमा पृतनापति उपरथी सागरबाबु थापा, नेपाल प्रहरीका काठमाडौं उपत्यका प्रमुख एआईजी दीपक थापा, सशस्त्र प्रहरी बलका नम्बर ९ पशुपतिनाथ बाहिनी प्रमुख डीआईजी पुरुषोत्तम थापा र राष्ट्रिय अनुसन्धान विभागका उपत्यका प्रमुख अनुसन्धान निर्देशक प्रजेशसिंह हमाल बैठकमा सहभागी छन्।

मंसिर ७ गते नेकपा एमालेका भातृ संगठन र मेडिकल व्यवसायी दुर्गा प्रसाईंको नेतृत्वमा विरोध प्रदर्शन हुने भएपछि सम्भावित दुर्घटना रोक्ने योजनाका लागि सुरक्षा प्रमुखहरुको बैठक बस्न लागेको हो।

पछिल्लो समय एकअर्काविरुद्ध आक्रमणमै उत्रिएका प्रसाईं र एमाले नेता महेश बस्नेतको समूहकै कारण काठमाडौं जिल्ला प्रशासन कार्यालयले माईतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म एक महिनाका लागि निशेधाज्ञा नै जारी गर्नु परेको छ। सोमबार जिल्ला प्रशासन कार्यालय काठमाडौंले निशेधाज्ञा जारी गरेको छ।

नभए दुवै समूहले माइतीघर मण्डलामा प्रदर्शनको तयारी गरेका थिए। प्रशासनले निशेध गरेसँगै युवासंघको नेतृत्वमा हुने कार्यक्रम तीनकुनेमा र दुर्गा प्रसाईंको समूहको कार्यक्रम बल्खूमा हुने भएको छ।

युवा संघले ७ गते मात्रै प्रदर्शन गर्ने भएपनि दुर्गा प्रसाईंको टोलीले तत्काललाई तीन दिन प्रदर्शन गर्ने भने पनि लम्बिन सक्ने सूचना प्रशासनलाई दिइसकेको छ। प्रशासनले दुवै समूहलाई शान्तिपूर्ण रुपमा कार्यक्रम गर्न भनेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले बताए।

‘उहाँहरुलाई शान्तिपूर्ण रुपमा कार्यक्रम गर्न भनेका छौं। शान्तिपुर्ण रुपमै हुन्छ पनि भन्नु भएको छ। तर सम्भावित घटनालाई मध्येनजर गर्दै हामीले सुरक्षा व्यवस्था कडा रुपमा लागु गरिसकेका छौं’, प्रजिअ बस्नेतले नेपालखबरसँग भने।

प्रसाईं र युवा संघले काठमाडौं बाहिरबाट ठूलो संख्यामा जनशक्ति ल्याउने तयारी गरेका छन्। त्यसलाई मध्येनजर गर्दै काठमाडौं उपत्यका छिर्ने नाकामा चेकजाँच कडा बनाइएको प्रजिअ बस्नेतले बताए।

यस्तै उनीहरुको निवासदेखि आवतजावत गर्ने स्थानमा समेत निगरानी थालिएको प्रशासनले जनाएको छ।

सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिने भएको छ। सूचना संकलन राष्ट्रिय अनुसन्धान विभागले गर्ने छ। आवश्यक परे नेपाली सेना समेत परिचालन गर्ने तयारीमा प्रशासन देखिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .