ad ad

समाज


तिहारको चौथो दिन आज हली र गोरुको पूजा गरिँदै

तिहारको चौथो दिन आज हली र गोरुको पूजा गरिँदै

फाइल तस्बिर


नेपालखबर
कात्तिक २८, २०८० मंगलबार ६:२३, काठमाडौँ

यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवद्र्धन पर्वत, बली, गोरु र हलिको पूजाआजा गरी गोरु तिहार पर्व मनाइँदै छ। 

वर्षभर कृषि कर्ममा जोतिएर मानव हितका लागि सेवा गर्ने गोरुलाई आज पूजा गरेर मीठो खानेकुरा खान दिने प्रचलन छ। गोरुलाई देवाधिदेव महादेवको वाहन अर्थात् साँढेका रुपमा पनि पूजा गर्ने परम्परा छ। 

कार्तिक शुक्ल प्रतिपदाका दिन गोवद्र्धन पर्वत, बली, गोरु र हलिको पूजा आजा गरी सम्मान प्रकट गर्ने गरिन्छ। आज बिहानै घर आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई गोवद्र्धन पर्वत मानी पूजा गर्ने प्रचलन छ। 

यसैगरी वर्षभर गोरु जोत्ने हलि एवम् अन्य कृषि कर्म गर्ने किसानलाई पनि आज पूजा गरी मीठा मीठा परिकार खुवाइन्छ। यसैले आजको दिनलाई हलि तिहार पनि भनिन्छ।

द्वापर युगमा भगवान् श्रीकृष्णले हत्केलाले गोवद्र्धन पर्वत उचाली गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएको सम्झनामा गोवद्र्धन पर्वतको पूजा गर्ने प्रचलन बसेको धर्मशास्त्रविद् प्राडा देवमणि भट्टराईले बताए।

गोवद्र्धन पूजा प्रतिपदाका दिन सूर्योदय भएका दिन गर्नुपर्ने विधि रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्राध्यापक श्रीकृष्ण अधिकारीले बताए।

भगवान् विष्णुले बली राजालाई यमपञ्चकका पाँच दिन मत्र्यलोकको शासन गर्ने अधिकार दिएको विश्वासका आधारमा आज बली राजाको पनि सम्झना स्वरुप पूजा आराधना गर्ने प्रचलन छ। 

यसैकारण तिहारमा देउसी भैलो खेल्नेले ‘हामी त्यसै आएनौँ बली राजाले पठाए’ भनेर भट्याउने चलन चलेको हो।

गोरु र हलीको पूजाआजापछि आज साँझ घरघरमा गएर देउसी खेल्ने प्रचलन छ। कृषि कर्ममा आधुनिक औजारको विकाससँगै पछिल्लो समय खेतबारी जोत्न गोरुको प्रयोग गर्ने क्रम कम हुँदै गएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .