ad ad

समाज


रिगलको कैद मिनाहाविरुद्धको रिटमा सुनुवाइ आज पनि

रिगलको कैद मिनाहाविरुद्धको रिटमा सुनुवाइ आज पनि

भारती शेर्पा


नेपालखबर
कात्तिक १५, २०८० बुधबार ६:४०, काठमाडौँ

योगराज ढकाल (रिगल) लाई कैद मिनाह दिने सरकारी निर्णयविरुद्ध सर्वोच्च अदालतमा आज (बुधबार)पनि सुनुवाइ हुँदैछ।  

राष्ट्रपतिबाट कैद मिनाहा पाएका रिगल भनिने योगराज ढकालविरुद्धको रिटमा सर्वोच्च अदालतमा मंगलबार पनि सुनुवाइ भएको थियो। 

पहिलो दिनको सुनुवाइ नसकिएपछि निरन्तर सुनुवाइ हुने गरी ‘हेर्दाहेर्दै’ मा राखिएको छ।

कायम मुकायम प्रधानन्यायाधीश ईश्वरप्रसाद खतिवडा तथा न्यायाधीशहरू सपना प्रधान मल्ल र कुमार चुडालको पूर्ण इजलासमा मंगलबार भएको सुनुवाइमा निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता बालकृष्ण नेउपानेले बहस गरेका थिए। 

सरकारी निर्णयको प्रतिरक्षामा महान्यायाधिवक्ता दीनमणि पोखरेलले बहस गरेका थिए। आज पनि सरकारका तर्फबाट बाँकी बहस हुने र त्यसपछि निवेदकका तर्फबाट जवाफी बहस हुनेछ। 
 

संविधान दिवसका अवसरमा गएको असोज ३ मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट योगराज ढकालको कैद मिनाहा भएको थियो। ज्यान मुद्दामा जन्मकैद सजाय पाएका ढकाललाई सरकारको सिफारिसमा राष्ट्रपतिले कैद मिनाहा गरेपछि चौतर्फी विरोध हुँदै आएकाे छ। 

राष्ट्रपतिको निर्णयविरुद्ध ढकालले हत्या गरेका चेतन मानन्धरकी पूर्वपत्नी भारती शेर्पाले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेकी हुन्। 

निवेदकका तर्फबाट बहस गर्ने क्रममा वरिष्ठ अधिवक्ता नेउपाने राष्ट्रपतिले राजनीतिक आग्रहका आधारमा जघन्य अपराधमा संलग्न व्यक्तिलाई कैद मिनाहा दिएको जिकिर गर्दै राष्ट्रपतिले संवैधानिक अधिकारको दुरुपयोग गरेको बताएका थिए।

यो रिटमा गत असोज २५ गते नै प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरु डा.आनन्दमोहन भट्टराई र कुमार रेग्मीको पूर्ण इजलासमा सुनुवाइ प्रारम्भ भए पनि हेर्न नमिल्ने भएपछि मंगलबारका लागि रारिएको थियो।

गत असोज १८ गते न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले रिगललाई आममाफी दिन सिफारिस गर्नुपर्ने कारणसहितको सम्पूर्ण सक्कल मिसिल गत असोज २४ गतेभित्र झिकाउन आदेश गरेको थियो।
 
उक्त इजलासलनै कानुनी प्रश्नको जटिलता र महत्त्वका कारण पूर्ण इजलासमा पेस गर्न आदेश दिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .