प्रधानसेनापति प्रभुराम शर्मा चीनबाट फर्किएपछि उपरथी ताराध्वज पाण्डेलाई रथीमा बढुवा गर्न जंगी अड्डाले सिफारिस गर्ने भएको छ।
प्रधानसेनापति शर्मा अध्यक्ष रहेको बढुवा समितिले युद्धकार्य विभागका प्रमुख उपरथी पाण्डेलाई रथीमा बढुवाका लागि सिफारिस गर्ने निर्णय गरिसकेको छ। समितिले उक्त निर्णयको जानकारीसहित असोज ३० गते नै ७ दिने सूचना जारी गरेको थियो।
यस अवधिमा पाण्डेविरुद्ध बढुवा समितिमा कुनै उजुरी नपरेकाले अब बढुवाको प्रक्रिया अगाडि बढ्ने सैनिक मुख्यालयका प्रवक्ता कृष्णप्रसाद भण्डारीले नेपालखबरलाई बताए।
सैनिक नियमावली अनुसार बढुवाका लागि सूचना सार्वजनिक भएको ७ दिनभित्रमा बढुवा सिफारिस हुने व्यक्तिविरुद्ध उजुरी गर्न सकिने व्यवस्था छ।
तर पाण्डेविरुद्ध कुनै उजुरी नपरेकाले बढुवाको प्रक्रिया केही दिनमै अगाडि बढ्ने भएको हो।
हाल चीन भ्रमणमा रहेका प्रधानसेनापति शर्मा बिहीबार स्वदेश फर्किने तालिका छ।
प्रधानसेनापतिले बढुवा समितिको निर्णयसहित अब पाण्डेलाई रथीमा बढुवा गर्न रक्षा मन्त्रालयमा सिफारिस पठाउनेछन्। मन्त्रालयले मन्त्रिपरिषद्मा प्रस्ताव पठाएपछि सरकारले निर्णय गर्नेछ।

पाण्डे रथीमा बढुवा भएमा आगामी भदौदेखि प्रधानसेनापति बन्ने सम्भावना बलियो हुनेछ।
प्रधानसेनापति शर्मा आगामी भदौ २४ मा सेवानिवृत्त हुँदै छन्।
नेपाली सेनामा पाण्डेभन्दा अघिल्लो वरीयतामा रहेका हालका रथी सीताराम खड्का अहिलेकै अवस्थामा पुस पहिलो साता नै उमेर हदका कारण अवकासमा जानेछन्। उनको अवकासपछि पाण्डे वरिष्ठतम् रथी बन्ने भएकाले भावी प्रधानसेनापतिको रोलक्रममा रहनेछन्।
खड्काको अवकासपछि रिक्त हुने रथी पदमा हालका उपरथी अशोकराज सिग्देललाई बढुवा गर्ने सम्भावना छ। पाण्डेपछिका वरिष्ठतम् उपरथी सिग्देल नै हुन्।
भावी प्रधानसेनापतिका दाबेदार सिग्देलसमेत भए पनि नेपाली सेनाको प्रधानसेनापति बनाउँदा वरीयता कायम गरिँदै आएको छ।
Shares

प्रतिक्रिया