पछिल्लो समय मौसम पूर्वानुमान महाशाखाका मौसमविद्ले गरेका मौसमी अनुमान निकै मिल्ने गरेका छन्। उनीहरूले मौसम खुल्छ वा वर्षा, हिमपात हुन्छ भनेर गरेका अनुमान प्रायः फेल खाएका छैनन्।
तर यो एउटा अनुमान नै भएकाले कहिलेकाहीं नमिल्न पनि सक्छ। यसपटक यस्तै भएको छ।
अर्थात् हिजो (बुधबार) देशभर जति वर्षा र हिमपात हुन्छ भनेर अनुमान गरिएको थियो, त्यस्तो भएन।
यसबारे नेपालखबरले आज (बिहीबार) बिहान जिज्ञासा राख्दा महाशाखाकी मौसमविद् विभूति पोखरेलले भनिन्, ‘हो, हिजो (बुधबार) गरिएको हाम्रो अनुमान मिलेन, मध्य र पूर्वी क्षेत्रमा वर्षा/हिमपात भएन।’
महाशाखाका मौसमविद्ले हिजो (बुधबार) पश्चिमी न्यून चापीय प्रणालीका कारण देशभरजसो नै हल्कादेखि मध्यमसम्म वर्षा तथा उच्च पहाडी तथा हिमाली भेगमा हल्कादेखि भारीसम्मै हिमपात हुने अनुमान गरेका थिए। तर पश्चिमी क्षेत्रमा बाहेक देशका अन्य ठाउँमा त्यस्तो भएन।
किन मिलेन त अनुमान ? मौसविद् पोखरेल भन्छिन्, ‘अनुमान हो, कहिलेकाहीँ यस्ताे हुन्छ।’
यस्तै बुधबार महाशाखाका मौसमविद्ले आज बिहीबार पनि वर्षा र हिमपात निकै हुने अनुमान गरेका थिए।
हेर्नुहाेस् हिजाेकाे अनुमान : बुधबार र बिहीबार व्यापक वर्षा/हिमपातको सम्भावना
तर आज बिहान प्रकाशित महाशाखाको बुलेटिन फरक भएर आएको छ। अर्थात् आज उति वर्षा तथा हिमपातको सम्भावना नरहेको बताइएको छ।
मौसमविद् पोखरेलका अनुसार आज देशका पहाडी क्षेत्रका केही स्थानमा हल्का मात्र वर्षा हुने सम्भावना छ। दिउँसो १/२ बजेपछि काठमाडौंलगायत पहाडी भेगका केही स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको उनले बताइन्।
‘तर तराईका पनि एक/दुई स्थानमा हल्का वर्षा हुन सक्छ,’ उनले भनिन्।
उनका अनुसार आज देशको मौसम घाम-बादल, घाम-बादल हुने अनुमान गरिएको छ।
‘आज घाम पनि लाग्ने सम्भावना छ,’ उनले भनिन्, ‘एकछिन वर्षा भइहाले पनि फेरि एकछिनमा घाम लाग्न सक्छ। त्यही हो, आजको मौसम घाम-बादल, घाम-बादल हुने देखिन्छ।’
तराईवासीलाई राहत
पश्चिमी न्यून चापीय प्रणाली प्रवेश गरेपछि तराईमा हुस्सु कुहिरो लाग्न छाडेको छ।
यो प्रणालीको प्रभावले मौसम बदली भएर आकाशमा बादल देखिन थालेपछि मंगलबारबाट तराईमा हुस्सु /कुहिरो देखिन छाडेकाे हाे।
मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् विभूति पाेखरेलका अनुसार आज (बिहीबार) बिहान पनि तराईमा कुहिरो देखिएको छैन।
यो प्रणालीको प्रभाव रहुन्जेल हुस्सु कुहिरो नलाग्ने माैसमविद्काे भनाइ छ।
यसैकारण केही दिनदेखि बिहान-बिहान हुने कठ्यांग्रिँदो चिसोबाट तराइवासीले मुक्ति पाएका छन्।
तर मौसम बदलीका कारण दिउँसो घाम नलाग्ने भएका कारण दिउँसो भने जाडो हुनेछ।
यस्ताे छ महाशाखाले बिहीबार बिहान जारी गरेकाे आगामी तीन दिनको मौसम पूर्वानुमान
माघ १६ गते (बिहीबार)
दिउँसो : देशभर आशिंकदेखि सामान्यसम्म बदलीको अवस्था रहने सम्भावना छ। देशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना छ
राति : देशको पूर्वी भागमा आंशिकदेखि सामान्यसम्म बदली रहनेछ भने बाँकी भू-भागमा आंशिक बदली रहनेछ ।
माघ १७ गते (शुक्रबार)
दिउँसो : देशको पूर्वी भागमा आंशिकदेखि सामान्यसम्म बदली रहनेछ भने बाँकी भूभागमा आंशिक बदली रहनेछ।
राति : देशभर सामान्यतया मौसम सफा रहनेछ।
माघ १८ गते (शनिबार)
दिउँसो : देशभर आशिंकदेखि सामान्यसम्म बदलीको अवस्था रहने सम्भावना छ। देशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना छ।
राति : देशभर सामान्यतया मौसम सफा रहनेछ।
कसरी गरिन्छ मौसम अनुमान ?
पछिल्लाे समय आधुनिक प्रविधि प्रयोगका कारण मौसमको भविष्यवाणी गर्ने गरिएकाले धेरै मिल्ने गरेको मौसमविद्ले बताएका छन्।
उनीहरूका अनुसार ८/९ वर्ष अघिसम्म परम्परागत प्रविधिमार्फत मौसमको भविष्यवाणी गरिन्थ्यो। वेदर चार्ट एनालाइसिस अर्थात् नक्सामा पहिलेका डाटा तथा उच्च चापीय र न्यून चापीय क्षेत्र हेरेर मौसम अनुमान गर्नुपर्ने बाध्यता थियो।
तर अहिले परम्परागत विधिसँगै आधुनिक प्रविधिको पनि प्रयोग गरेर मौसम अनुमान गर्ने गरिन्छ। कम्प्युटर भूउपग्रह को(स्याटेलाइट) तस्बिर र वायुमण्डलको अवस्था हेरेर मौसमको भविष्यवाणी गरिने मौसमविद् बताउँछन्।
स्याटेलाइट इमेजसँगै अहिले एनडब्ल्युपी अर्थात् सिस्टम न्युमेरिकल वेदर पेडिक्सनको पनि प्रयोग हुन थालेको मौसमविद्ले जानकारी दिएका छन्।
यस प्रविधिबाट वायुको बहाव, न्यून चापीय र अधिक चापीय क्षेत्रको अवस्थालगायत विश्लेषण र हरहिसाब गरी मौसम भविष्यवाणी गर्ने गरिन्छ।
आधुनिक स्याटलाइट डिस्ट्रीब्युट सिस्टममार्फत प्राप्त हुने विश्वका विभिन्न स्थानको मौसम जानकारीलाई थप स्रोतका रूपमा उपयोग गरिने मौसमविद् बताउँछन्। भारतलगायत विभिन्न मुलुकबाट गणितीय प्रविधिबाट प्राप्त हुने मौसम विवरणको पनि सहयोग लिइन्छ।
यसरी विस्तृत रूपमा विभिन्न वैज्ञानिक प्रविधिको माध्यमबाट अध्ययन तथा विश्लेषणपछि मात्र त्यस दिनको मौसम भविष्यवाणी गरिन्छ ।
मौसमविद्का अनुसार मौसम अनुमान गर्दा मुलुकलाई साधारणतयाः पश्चिम, मध्य र पूर्वी भेग भनेर तीन भागमा विभाजन गरिन्छ। अनि ती भेगमा देखापर्न सक्ने मौसमी गतिविधिसमेत हेरेर मौसम अनुमान गरिन्छ।
यसरी अनुमान गर्दा मुलुकका विभिन्न स्थान साथै छिमेक र विश्वकै मौसम गतिविधिको जानकारी लिनुपर्ने हुन्छ। मौसमविद्का अनुसार देशका १६ स्थानमा राखिएका केन्द्रबाट हरेक तीन/तीन घण्टामा मौसमी अवस्थाको जानकारी लिएर अपडेट गर्ने गरिन्छ।
मौसमविदका अनुसार पृथ्वीको सतहदेखि १६ किलोमिटर माथिसम्मका विभिन्न स्ट्यान्डर्सका तथ्यांक लिएर मौसमी हरहिसाब गरिन्छ। युरोपेली र चिनियाँ भूउपग्रहबाट प्राप्त तस्बिर पनि हेर्ने गरिएको मौसमविद् बताउँछन्।

प्रतिक्रिया