रोमानियाका लागि नेपाली अवैतनिक वाणिज्यदूत नवराज पोखरेलले राहदानी नवीकरणमा सहजीकरण गर्दा ३०९ युरोसम्म असुलेको पाइएको जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासले जनाएको छ।
जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्काले नेपालखबरलाई भने, ‘एउटा राहदानी नवीकरण गरेको ३०९ युरोसम्म लिएका गुनासाहरू आएका छन्। यति ठूलो रकम कुनै पनि कोणबाट जस्टिफाइ हुँदैन।’
सरकारी राजस्वमा भने १२० युरो मात्र जम्मा हुन्छ। उनले प्रतिव्यक्ति १८९ युरोसम्म अतिरिक्त असुलेको देखिन्छ। जुन नेपाली मुद्रामा २६ हजार ४ सय ६० हुन्छ। अर्थात्, पोखरेलले एक जनाबाट २६ हजारभन्दा बढी रकम अतिरिक्त असुलेको पुष्टि हुन्छ।
बढी असुलिएको रकम फिर्ता गर्न पनि भनिसकेको राजदूत खड्काले बताएका छन्। ‘हामीले यो विषय हेर्दै छौँ,’ उनको भनाइ छ, ‘मन्त्रीज्यू (श्रममन्त्री शरतसिंह भण्डारी)कै सामुन्ने मैले बढी लिएको रकम फिर्ता गर्नू भनिसकेको छु। लिखितरूपमा पनि सचेत गराइसकेको छु। बाँकी कुरा विस्तारै कानुनबमोजिम हुन्छ।’

रोमानियासमेत हेर्ने जर्मनीस्थित राजदूतावासले अबदेखि ५ युरोभन्दा बढी अतिरिक्त शुल्क नलिन वाणिज्यदूतलाई लिखितरूपमा निर्देशन दिएको छ। ‘एउटा राहदानी नवीकरणका लागि सहजीकरण गर्दा कुनै पनि कोणबाट ५ युरोभन्दा बढी खर्च हुने देखिँदैन। त्यसैले जथाभावी लिन मिल्दैन।’
उनले अनलाइनबाटै नवीकरण फारम भरेमा एक रुपैयाँ पनि अतिरिक्त तिर्नु नपर्ने पनि स्पष्ट पारे। ‘आफै फर्म भरे सेवा शुल्क तिर्नु पर्दैन। हुलाकको पैसा पनि लाग्दैन,’ राजदूत खड्काले भने, ‘अनलाइनबाटै राजस्वसमेत तिर्न मिल्छ।’
वाणिज्यदूत पोखरेलले अतिरिक्त शुल्कवापत् एक करोडभन्दा बढी असुलेको समाचार नेपालखबरमा प्रकाशित भएपछि रोमानियामा रहेका कतिपय नेपालीले बढी तिर्नुपरेको रकम फिर्ता पाउनुपर्ने माग गरेका छन्।
Shares

प्रतिक्रिया