समाज


मिटरब्याज आयोगको म्याद २ महिना थपियो, ८३ प्रतिशत उजुरी बाँकी

७ अर्बको दाबी डेढ अर्बमा मिल्यो
मिटरब्याज आयोगको म्याद २ महिना थपियो, ८३ प्रतिशत उजुरी बाँकी

मिटरब्याज जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्की


नेपालखबर
असोज २८, २०८० आइतबार १७:२३, काठमाडौँ

अनुचित लेनदेन (मिटरब्याज)सम्बन्धी न्यायिक जाँचबुझ आयोगको म्याद २ महिना थपिएको छ।

आयोगको काम नसकिएकाले पुरानै कार्यादेशमा रहेर काम गर्ने गरी सरकारले मंसिर २५ सम्मका लागि पुनः म्याद थप गरेको हो। यसअघि गत असारमा ३ महिना म्याद थपिएको थियो।

सरकारले गत चैत २० मा विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको अध्यक्षतामा पूर्वएआईजी उत्तमराज सुवेदी र पूर्वसहमहान्यायाधिवक्ता गणेशराज अर्याल सदस्य रहेको आयोग गठन गरेको थियो ।

२८ हजार उजुरी, ८३ प्रतिशत विचाराधीन
आयोगमा देशभरबाट २८ हजार उजुरी परेका छन्। तीमध्ये ४ हजार ७ सय ३५ उजुरी मात्र फर्स्योट भएका छन्।
८३ प्रतिशत उजुरी विचाराधीन छन्।

आयोगले अहिलेसम्म मेलमिलापका माध्यमबाट उजुरी किनारा लगाइरहेको छ। 

मधेसका ८ जिल्लामा मात्र २१ हजार ५ सय ३५ उजुरी परेका छन्। पश्चिम नवलपरासीमा १ हजार ८ सय ६२ उजुरी दर्ता भएका छन्।

देशका ६७ जिल्लामा मिटरब्याजका उजुरी परेका थिए। तीमध्ये २७ जिल्लाका सबै उजुरी फर्स्योट भएकाले उजुरीविहीन जिल्लाको संख्या ३७ पुगेको छ।

मिटरब्याजपीडितको आन्दोलन (फाइल तस्बिर)

प्रमुख जिल्ला अधिकारीमातहत प्रशासन, प्रहरी र सरकारी वकिल रहने गरी उजुरी छानबिन र मिलापत्रका लागि संयन्त्र बनाइएको छ। 
अबदेखि इलाका प्रशासन कार्यालयले पनि यो काम गर्ने व्यवस्था मिलाइएको आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले जानकारी दिए।

७ अर्बको दाबी डेढ अर्बमा मिल्यो 
हालसम्म मिलापत्रबाट टुंगिएका उजुरीमा कुल १ अर्ब ५२ करोड २९ लाख रुपैयाँमा दुवै पक्षबीच सहमति भएको छ, यो रकम साहुहरूले दाबी गरेभन्दा ५ अर्ब ४२ करोड २४ लाख कम हो।

साहुहरूले भने ६ अर्ब ९४ करोड ५३ लाख रुपैयाँ असुल हुन बाँकी भनेका थिए।

यो रकम कारोबार लिखतले देखाएभन्दा १ अर्ब ८७ करोड ७३ लाख रुपैयाँ बढी हो।

लिखतहरूले ५ अर्ब ६ करोड ७९ लाख रुपैयाँको कारोबार देखाएको थियो। त्यसमा साहुहरू ३ अर्ब ५४ करोड ४९ लाख रुपैयाँ घटेर मिलापत्र गर्न सहमत भएको देखिएको छ।

यसबीचमा २०३ बिघा ९ कट्ठा १० धुर (७४६ कित्ता) जग्गा पनि साहुबाट निवेदकलाई फिर्ता गराइएको आयोगले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .