ad ad

समाज


राष्ट्रपतिलाई चेतनकी पत्नीको प्रश्न : तपाईंकी छोरीलाई परेको भए मैले जस्तै रुँदै न्याय खोज्नु हुन्थ्यो?

रिगललाई आममाफीविरुद्ध माइतीघरमा अनशन बस्ने
राष्ट्रपतिलाई चेतनकी पत्नीको प्रश्न : तपाईंकी छोरीलाई परेको भए मैले जस्तै रुँदै न्याय खोज्नु हुन्थ्यो?

रिपोर्टर्स क्लबमा भारती मानन्धर। तस्बिर : रिपोर्टर्स क्लब नेपाल


नेपालखबर
असोज १६, २०८० मंगलबार १६:२७, काठमाडौँ

नेपालगञ्जका चेतन मानन्धरको हत्या प्रकरणमा जन्मकैदको सजाय पाएका रिगल भनिने योगराज ढकालको आममाफीविरुद्ध उनकी पत्नी आन्दोलित हुने भएकी छन्। 

नवौँ संविधान दिवसको अवसरमा मन्त्रिपरिषदको रिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले गत असोज ३ गते रिगललाई आममाफी दिएका थिए। 

२०७२ असार २८ गते दिउँसो ३ बजे नेपालगञ्जको धम्बोजी चोकमा चेतन मानन्धरमाथि खुँडा प्रहार गरी हत्या गरेको अभियोग उनलाई थियो थियो। चेतनलाई खुँडा हानेर ज्यान लिँदा रिगल नेपाली कांग्रेसको युवा संगठन तरुण दलका क्षेत्रीय सभापति थिए। 

हत्या अभियोगमा जिल्ला अदालत बाँकेका तत्कालीन न्यायाधीश विष्णु सुवेदीको इजलासले २०७६ वैशाखमा दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैदको सजाय सुनाएका रिगललाई आममाफी दिएपछि चर्को आलोचना भइरहेको छ।

आलोचनाबीच चेतनकी श्रीमती भारती मानन्धरले बुधबारदेखि काठमाडौंको माइतीघरमा रिले अनशन थाल्ने भएकी छन्। मंगलबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्दै उनले आफूजस्तै आमपीडितको न्यायका लागि रिले अनशन बस्न लागेको बताइन्। 

ठूला भनिने नेताहरुले नै गुण्डा पालेका कारण पीडकले उन्मुक्ति पाउने गरेको बताउँदै उनले अब आन्दोलन थाल्ने बताइन्। 

रिगललाई जोगाउने नाममा पहिले पनि धेरै दबाब र पैसाको प्रलोभन तथा धम्की पनि आएको उनले खुलाइन्। चेतनको न्यायको लागि धम्की र प्रलोभनमा नपरी निरन्तर लडिरहने उनले बताइन्। 

घटनाको ८ वर्ष भइसक्दा पनि अझै उक्त घटनाबाट बाहिर निस्कन नसकेको अवस्थामा आममाफीले झनै पीडा दिएको उनले बताइन्। उक्त घटनादेखि डिप्रेसनको औषधि खाँदै आएको बताउँदै उनले आममाफीले झनै पीडा दिएको सुनाइन्। 

‘घटना आज आठ वर्ष भयो । तर, म त्यो पीडाबाट बाहिर निस्कन सकिरहेको छैन। डिप्रेसनको औषधि चलिरहेको छ’, उनले भनिन्, ‘मनदेखि नै म उहाँलाई निकाल्न सक्दिनँ भने म त्यो घटना कसरी बिर्सन सक्छु?’

चेतनको हत्यारा कारागारमा हुँदा आफूलाई केही राहत महसुस हुने गरेकोमा राष्ट्रपतिले आममाफी दिएर फेरि पीडा थपिदिएको उनले बताइन्। 

‘जो मान्छेले मेरो जीवन तहसनहस बनायो, त्यो कारागारभित्र छ भन्ने थियो। तर, अहिले राष्ट्रपतिले यो पीडा दोहार्‍याइदिनुभयो’, उनले भनिन्, ‘पहिलाको दृश्य मेरो आँखामा झलझली आइरहेको छ।’

हत्यारा छ्ट्नुले देशमा कानुन नभएको उनले बताइन्। केही समय वातावरण शान्त बनाएर पीडकलाई राज्यले फूलमालासहित निकालेको भन्दै उनले आपत्ति जनाइन्। 

लामो कानुनी लडाईंबाट रिगललाई कारगारमा थुनेको बताउँदै उनले पीडित परिवारको सहमतिबिना आममाफी दिने अधिकार राष्ट्रपतिलाई नहुने उल्लेख गरिन्। 

‘आममाफी भनेको के हो? तपाईंलाई त्यो अधिकार कसले दियो?’ उनले राष्ट्रपतिलाई सोधिन्, ‘म सोध्न चाहन्छु, आममाफी भनेको के हो? जसरी त्यत्रो महिना संघर्ष गरेर हामीले उसलाई कारागार पुर्‍यायौँ, त्यसैगरी आममाफी दिने-नदिने अधिकार हामीलाई हुनुपर्ने हो। आममाफीको जवाफ मलाई चाहियो।’

हत्यारालाई आममाफी हुने हो भने राज्यले अब हतियार चलाउन दिनुपर्ने उनले बताइन्। ‘हत्यारालाई आममाफी मिल्ने हो भने उसलाई मार्न म पनि तयार छु’, उनले भनिन्, ‘त्यसो हुन्छ भने हामी पीडित छौँ, हामीलाई पनि हतियार देऊ। हामी पनि मारेर बस्छौँ, आममाफी मिल्छ भने।’

मनलाग्दी आममाफी दिने सरकारलाई जनताले पाठ सिकाउन आवश्यक रहेको उनले बताइन्। ‘यो घटना तपाईंको छोरी चेलीलाई परेको भए न्याय माग्न यसरी नै मिडियामा आएर रुने गराउनुहुन्थ्यो?’, उनले प्रश्न गरिन्। 

उनले राष्ट्रपतिको चर्को आलोचना गरेकी छन्। ‘यदि मेरो ठाउँमा उहाँ (राष्ट्रपति) को छोरी चेलिबेटी हुनुहुन्थ्यो भने उहाँले के गर्नुहुन्थ्यो?’ प्रश्न गर्दै उनले भनिन्,‘मिडियामा रोएर, कराएर अधिकारको लागि लड्नुपर्ने मेरोजस्तै गराउनुहुन्थ्यो त? यस्तै दिन देखाउनुहुन्थ्यो आफ्ना छोरीलाई? जस्तो आज मलाई देखाउनुभयो। न्यायका लागि गुहार गर्नुहुन्थ्यो होला त?’

हत्या अभियोगमा जन्मकैदको सजाय पाएको रिगलले आममाफी पाएपछि आफूले फेरि मरेको महसुश गरेको उनले बताइन्। रिगलविरुद्ध कसैले पनि बोल्ने आँट नगरेको भन्दै उनले आपत्ति जनाइन्।

‘आममाफीको खबर सुनेपछि मरिसकेको महसुस गरेकी छु। सरकारले उसलाई आममाफी दियो भने मैले कहाँ गएर गुहार माग्ने?’, उनले भनिन्,‘हत्यारा हो, भोलि उसले हामीलाई पनि मार्ने त्रासका कारण कोही बोल्ने आँट गरेनन्। मैले कसैको सहयोग पाइनँ।’

हत्यारालाई आममाफी दिँदा पीडित परिवारको सहमति नलिनु दुःखद भएको उनले बताइन्। ‘राष्ट्रपतिजस्तो व्यक्तिले मलाई आज फेरि मारे। मरिसकेको मान्छेलाई फेरि मारियो। यत्तिका वर्षसम्म म मरेकै थिएँ, आममाफीले मलाई फेरि मार्यो’, उनले भनिन्। 

उनले गोली खान परे पनि अत्याचारविरुद्ध लडिरहने प्रतिवद्धता जनाइन। नउले बुधबारदेखि माइतीघर मण्डलमा अनशन बस्ने भन्दै सहयोग मागिन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .