समाज


पुन: प्रवेश गर्दै पश्चिमी वायु, तीन दिन वर्षा/हिमपातको सम्भावना

पुन: प्रवेश गर्दै पश्चिमी वायु, तीन दिन वर्षा/हिमपातको सम्भावना

नेपालखबर
माघ १३, २०७६ सोमबार १:९,

नेपालमा फेरि पानी पार्ने मौसमी प्रणाली प्रवेश गर्दै छ। पश्चिमी वायुबाट विकसित पश्चिमी न्यून चापीय प्रणाली नेपाल प्रवेश गर्ने क्रममा रहेको मौसमविद्ले बताएका छन्।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानांगका अनुसार यो प्रणाली नेपालतर्फ नजिकिँदै छ र आज (सोमबार) दिउँसोसम्म यो प्रश्चिमी क्षेत्रमा प्रवेश गरिसक्नेछ।

‘देशको पश्चिमी क्षेत्रमा बेलुकादेखि यसको प्रभाव सुरु हुने देखिन्छ,’ सोमबार बिहान मौसमविद् प्रधानांगले नेपालखबरसँग भने, ‘आज बेलुकालाई पश्चिमी क्षेत्रका केही स्थानमा मात्रै वर्षा र हिमपात गराउनेछ।’

यो प्रणाली क्रमशः पूर्व सर्ने र भोलि मंगलबार मध्य क्षेत्रसम्म आइपुग्ने सम्भावना रहेको उनले बताए। उक्त प्रणालीका कारण मंगलबार काठमाडौंमा पनि पानी पर्न सक्ने उनको अनुमान छ।

‘बुधबार भने यो देशभरि फैलिने देखिन्छ,’ मौसमविद् प्रधानांगले भने, ‘यो यसअघिको जत्तिकै शक्तिशाली त छैन तर देशभर वर्षा तथा उच्च पहाडी तथा हिमाली भेगमा हिमपात गराउने सम्भावना छ।’

मौमस पूर्वानुमान महाशाखाको बुलेटिनअनुसार यस प्रणालीले बुधबारसम्म देशभर मौसम बदली गराउँदै विभिन्न स्थानमा वर्षा तथा हिमपात गराउने सम्भावना छ।

यस्तो छ अहिले मौसम
अहिले (सोमबार बिहान) काठमाडौं उपत्यकालगायत पहाडी क्षेत्रमा हुस्सु तथा तराई क्षेत्रमा कुहिरो लागेको छ।

मौमविद्का अनुसार हुस्सु केही पातलो हुन्छ भने कुहिरो अलि बाक्लो।

मौसमविद् राजु प्रधानांगका अनुसार पहाडी क्षेत्रमा लागेका हुस्सु घाम लागेसँगै हटेर जानेछ भने तराईका कुहिरो हट्न दिउँसोसम्म लाग्न सक्छ।

यसबाहेक देशभर सामान्यतया मौसम सफा नै छ।

मौसम पूर्वानुमान महाशाखाले सोमबार बिहान ६ बजे आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै भनेको छ :

पश्चिमी भूभागका थोरै स्थानहरूमा हल्का वर्षा तथा पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना छ। साथै तराईका केही भूभागमा हुस्सु/कुहिरो लागेका कारण घाम राम्रोसँग नलाग्ने भएकाले चिसोबाट बच्ने उपाय अपनाउनु हुन अनुरोध छ।

आज काठमाडौंको तापक्रम
सोमबार बिहान ५:४५ को रेकर्डअनुसार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम २.८ डिग्री सेल्सियस छ।

हिजो आइतबार उपत्यकाको अधिकत तापक्रम १६ डिग्री थियो।

आज पनि १५ देखि १७ डिग्रीसम्म अधिकत तापक्रम पुग्न सक्ने मौसमविद् प्रधानांगको अनुमान छ।

अब एक/दुई दिन तराईमा कुहिरो नलाग्ने
सोमबार बेलुका मौसम बदली सुरु हुने भएकाले अब एक/दुई दिन तराईमा कुहिरो नलाग्ने सम्भावना छ।

पश्चिमी न्यून चापीय प्रवेश गरेर आकाशमा बादल देखिन थालेपछि हुस्सु कुहिरो हट्ने मौसमविद् बताउँछन्।

सोमबार दिउँसो पश्चिमी न्यून चापीय प्रणाली नेपालको पश्चिमी क्षेत्रमा प्रवेश गर्दै छ। यसपछि पश्चिमी क्षेत्र हुँदै क्रमशः देशभर मौसम बदली हुने भएकाले कम्तीमा दुई दिन तराईमा कुहिरो नलाग्ने देखिएको हो।

कुहिरो हटेमा बिहान बिहान हुने कठ्यांग्रिँदो जाडोबाट तराईवासीले मुक्ति पाउनेछन्।

आगामी तीन दिनको मौसम पूर्वानुमान  
माघ १३ गते (सोमबार)
दिउँसो : देशको पश्चिमी भू-भागलगायत मध्य र पूर्वी  पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली  रहनेछ। तराईका केहि भूभागमा हुस्सु/कुहिरो लाग्ने सम्भावना छ।

राति : देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। पश्चिमी भु-भागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ। पश्चिमी उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना छ।

माघ १४ गते (मंगलबार)
दिउँसो : देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। पश्चिमी भू-भागका केही स्थान र मध्य तथ पूर्वी भू-भागका १-२ स्थानमा हल्का वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली भू-भागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ।

राति : देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। पश्चिमी भू-भागका केही स्थान र मध्य तथा पूर्वी भू-भागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली भू-भागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ।

माघ १५ गते (बुधबार)
दिउँसो : देशभर आंशिकदेखि सामान्य बदली  रहनेछ। पश्चिमी भू-भागका अधिकांश स्थान र मध्य तथा पूर्वी भू-भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली भू-भागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ। पश्चिमी उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दुई स्थानमा भारी हिमपातको सम्भावना छ।

राति : देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली भू-भागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ। पश्चिमी उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दुई स्थानमा भारी हिमपातको सम्भावना  छ।

स्रोत : जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा, काठमाडौं

याे पनि

यसपालि जाडो लम्बिने संकेत

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad