समाज


कुष्ठरोगका ३ हजार २८२ जना नयाँ विरामी फेला

कुष्ठरोगका ३ हजार २८२ जना नयाँ विरामी फेला

नेपालखबर
माघ १२, २०७६ आइतबार ११:१५,

आर्थिक वर्ष २०७५/०७६ मा ३ हजार २८२ जना नयाँ कुष्ठरोगका विरामी फेला परेका छन्। अघिल्लो आर्थिक वर्षको तुलनामा यो ३३ ले बढी हो। आर्थिक वर्ष २०७४/०७५ मा ३ हजार २४९ जनामा कुष्ठरोगको संक्रमण रहेको पत्ता लागेको थियो।

अपाङ्ग तथा कुष्ठरोग नियन्त्रण केन्द्रका अनुसार अहिले उपचारमा २ हजार ९२१ जना संलग्न रहेका छन्। नयाँ मध्ये १४ वर्षमूनिका २६० जना विरामी छन्। नयाँ विरामी मध्ये ११ सय ४२ जना महिला रहेका छन्। केन्द्रका प्रमुख डा. उत्तम घिमिरेका अनुसार नयाँ विरामीको तह २ असमर्थता भएको विरामीको संख्या १५६ रहेको छ।

केन्द्रका अनुसार तराई लगायतविभिन्न १७ जिल्लाहरुमा कुष्ठरोगको प्रकोपदर १ भन्दा बढी रहेको छ। अहिलेसम्म कुष्ठरोगको कारणबाट ३१ हजारभन्दा बढी अपांग भएको अनुमान केन्द्रले गरेको छ। नेपालमा वि.स. २०६६ साल माघ ५ गते राष्ट्रियस्तरमा कुष्ठरोग निवारणको घोषणा गरिउको भएपनि १७ जिल्लामा कुष्ठरोगका निवारण हुन सकेको छैन।

६७ औं विश्व कुष्ठरोग दिवसका अवशरमा केन्द्रले सन् २०२० को अन्त्यसम्म सबै जिल्लामा कुष्ठरोगको प्रकोपदर प्रति १ हजार जनसंख्यामा १ भन्दा कम गर्ने लक्ष्य लिएको छ। त्यसैगरी कुष्ठरोगको नयाँ विरामीमध्ये १४ वर्षमुनिकाहरुको हकमा असमर्थताको तह २ लाई शून्य बनाउने, सबै नयाँ निदान भएका कुष्ठरोगका विरामीहरुमा तह २ असमर्थतालाई प्रति १० लाख जनसंख्यामा १ भन्दा कम गर्ने र कुष्ठरोग प्रभावितहरुलाई भेदभाव हुने प्रकारको कानूनी प्रावधानहरुलाई शून्य बनाउने लक्ष्य लिएको छ।

सरकारले झापा, मोरङ, पर्सा, धनुषा, रुपन्देही, कपिलवस्तु, कैलाली, कञ्चनपुर, अछाम, उदयपुर, इलाम लगायतका जिल्लामा कुष्ठरोग संक्रमणको न्यूनिकरण गर्न एलपीइपी सेवा सञ्चालन गरेको छ। त्यसैगरी आनन्दबन अस्पताल, आइ.एन.एफ र लालगढ कुष्ठरोग अस्पतालको सहकार्यमा सुधारात्मक शल्यक्रियाका कार्यक्रमहरु सञ्चालन भइरहेका छन्। केन्द्रका अनुसार ७७ वटै जिल्लामा प्रदेश मेडिकल स्टोर मार्फत बहुऔषधि व्यवस्थापन भइरहेको छ।

कुष्ठरोग आँखाले देख्न नसकिने माइकोव्याक्टेरियम लेप्रे नामको सुक्ष्म किटाणुबाट लाग्ने तर ज्यादै कम सर्ने रोग हो। ९५ प्रतिशत मानिसमा किटाढाुसँग लड्न सक्ने क्षमता हुन्छ। सुरुको अवस्थाा रोगको उपचार गर्न सके यो रोग अरुलाई सर्दैन र अपांगता हुनबाट बचाउँछ। सरकारले कुष्ठरोगको नियमित उपचार पुरा गरेपनि १ हजार र रोगबाट हुने जटिलताको उपचार गर्न प्रेषण अस्पतालमा भर्ना हुने प्रभावितलाई थप एक हजार यातायात खर्च बाफत उपलब्ध गराउँदै आएको छ। ‘कुष्ठरोग विरुद्ध हाम्रो अभियान, भेदभावको अन्त्य मानवअधिकारको सम्मान’ भन्ने नाराका साथ आइतबार कुष्ठरोग दिवस मनाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad